दिल्लीमा नेपाल हेर्ने टिम दह्रो

नेपालको केन्द्रीय सरकारमा नयाँ सहयात्रीको आगमनपूर्व भारतले नेपालमाथिको हेराईलाई गहिरो पारेको छ ।

अहिलेका विदेशमन्त्री एस. जयशंकर सुष्मा स्वराज विदेशमन्त्री हुँदा सचिवको हैसियतले सीधै नेपाल मामिला तय गर्थे । संविधान निर्माणसहितका विभिन्न सन्दर्भमा काठमाडौं आइजाई पनि गरेकै हुन् । सँगसँगै काठमाडौंस्थित दूतावासमा काम गरिसकेका शशी तोमर नेपाल–भूटान मामिला हेर्ने इञ्चार्ज बन्दैछन् । ‘रअ’ को सेकेण्डम्यानको रुपमा काठमाडौं बसिसकेका सुव्रत दास भूटानबाट दिल्ली फर्किएर विदेश मन्त्रालयमा लियाजो अफिसरका रुपमा काम गरिहरहेका छन् । यिनीहरुले नेपाल मामिला मिहिन पाराले हेरिरहेका हुन्छन् ।

काठमाडौंस्थित दूतावासमा प्रवक्ता भएर बसिसकेका पियुष श्रीवास्तव अहिले नेपाल मामिलाका जिम्मेवार सहसचिव छन् । सन् ०१४ को सार्क सम्मेलनताका यतै थिए । त्यहाँ रहेका सुधाकर शिकागोको लागि कन्सुलर जनरल भएर अमेरिका जाने भएपछि पियुष त्यहाँ लगिएका हुन् । त्यसमाथि प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल स्पष्टतः नेपालबारे जानकार हुने नै भए । उनीसँग गत साता हाम्रा राजदूत नीलाम्बर आचार्यले एक वर्षसम्म समय माग्दामाग्दा अन्त्यमा भेट्न पाएका छन् ।

बुझिएअनुसार, दिल्लीले प्रदेश २ को बारेमा एउटा सुझाव दिएको छ– ‘अहिले सरकार नफेर, राजपाकै मुख्यमन्त्री बनायो भने उपेन्द्र बिच्किएर हिरो बन्छन् ।’ यसो भनेर दिल्लीले उपेन्द्रलाई माया गरेको त होइन । तर, नेकपाको साथ लिँदा राजपाको मैदान कमजोर हुन्छ भन्ने वास्तविकताचाहिँ बुझेको हुनुपर्छ । किनभने, यसचोटि मुख्यमन्त्री राजपाले लिनु भनेको अर्कोचोटि नेकपाले भाग खोज्नु हो । त्यही रणनीतिअनुसार नेकपा अहिले सहकार्य गरेर दोस्रो पोजिसनमा बसे पनि केही समयपछि फेरि केही कुरा नमिल्दा मुख्यमन्त्री लिन्छ–लिन्छ । त्यसैले लालबाबु राउत गद्दीलाई दिल्लीले नरुचाए पनि त्यहाँ मधेसीको सरकार अक्षुण्ण रहोस् भन्ने चाहना देखिन्छ । त्यहाँका भौतिक योजना मन्त्री जितेन्द्र सोनलले भनेका छन्, ‘कि त प्रदेश सरकार मेरो नेतृत्वमा हुनुप¥यो । कि अहिलेकै मुख्यमन्त्री रहनुप¥यो ।’

वास्तविकता के हो भने, २ नं. प्रदेशको सरकार यथावत राखेर ओलीले राजपालाई सरकारमा सजिलै लानुहुन्न । अहिले दिल्ली पुगेका राजेन्द्र महतो उताबाट तारन्तार सोधिरहेका छन्, ‘म के गरौँ ?’ उपेन्द्र यादवले यहीबीचमा घुक्र्याइरहेका छन्, ‘तिमीले नेकपासँग तालमेल बढायौ भनेर हामी सरकारबाट बाहिरियौँ । अब तिमी नै लम्पसार पर्ने ?’ उपेन्द्रले सिके राउतको मूलथलो सप्तरीको महादेवा गाउँपालिकामा गतसाता भनेकै छन्, ‘म मधेसी शक्तिलाई बलियो बनाउन सरकारबाट निस्किएँ । अहिले राजपा सरकारमा गएर मधेसका मुद्दालाई कमजोर बनाउन खोज्दैछ ।’

पहिला राजपाले चाहेको बेला विभिन्न बहाना बनाउँदै उपेन्द्र पार्टी एकताको लागि तयार भएनन् । अहिले उनै उपेन्द्र अर्थोक कुरा गर्दै गरौँला, एकताचाहिँ गरिहालौँ भन्नेमा छन् । किनभने, त्यसो गर्दा राजपा सरकारमा जाने बाटो रोकिन्छ । त्यसमाथि गच्छेदार फसाइएको कुराले उनको मनलाई झन सशंकित बनाएको छ । सँगसँगै गौर घटनाको त्रास पनि रह्यो । राजेन्द्रले दिल्लीलाई भनेका छन्, ‘अहिले हामीलाई सरकारमा जान देऊ । २ नं.को कुरापछि सेटल गरौँला ।’

टिप्पणीहरू