मन्त्रीका पनि माइबाप

मन्त्रीका पनि माइबाप

मन्त्रीले मात्रै गर्न खोजेर के गर्नु, दायाँबायाँ खराब मान्छे परेपछि मन्त्रीकै छविमाथि प्रश्न उठ्ला भन्ने पिर । अहिले पर्यटन मन्त्रालयमा यस्तै भइरहेको छ ।

योगेश भट्टराईले रवीन्द्रकै पालादेखिका निजी सचिव दीपक थापालाई आफ्नो सचिवालयमा निरन्तरता त दिए । तर, दिनदिनै फरक–फरक ठाउँबाट विवादास्पद हर्कतहरु सुन्नु परेपछि मन्त्री हैरान छन् । नागरिक उड्डयन प्राधिकरणअन्तर्गत भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल, बारा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा मन्त्रीको नाम लिँदै हस्तक्षेप हुने गरेको सूचना पुग्यो । मन्त्रीचाहिँ आयोजनाहरु छिटो सकियोस् भनिरहने ।

पिएको कुरा सुनेपछि नपत्याएर सम्बन्धित हाकिमहरु आजकल सोझै मन्त्रीसँग कुरा गर्न थालेका छन् । पिएको चलखेलबारे योगेश त्यतिबेला झस्किए, जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनले आँखा लगाए । त्यहाँको ट्याक्सी वेसहित धावनमार्ग विस्तारको काममा आयोजना प्रमुख प्रदीप अधिकारीसँग ‘कि काम रोक्नुस्, कि भाग दिनुस्’ भन्दै मोलाहिजा गरेको प्रमाण नै योगेशकहाँ पुग्यो । उनी विदेश गएको बेला प्रधानमन्त्रीको नाम लिँदै आफूले भनेको फर्मलाई ठेक्का दिलाउन त सफल भए, तर मन्त्रीले विदेशबाट फर्किएलगत्तैदेखि त्यहाँबाट निकाल्न गरेको प्रयास अहिलेसम्म सफल भएको छैन । त्यहाँबाट निकाल्नुअघि आफूलाई कतै कार्यकारी पदमा नियुक्ति दिनुपर्ने, अन्यथा आफू कतै नजाने भन्दै मन्त्रालयमै बसिरहेका छन् । दैलेख घर भएका उनी रवीन्द्र अधिकारीको कार्यकालमा क्यासिनो सञ्चालकसँगको बाक्लो उठबसका कारण निक्कै बद्नाम थिए । त्यस्तो काम अझै नछाडेको त्यहाँका कर्मचारीहरु बताउँछन् ।

टिप्पणीहरू