ललिता निवासका थप लफडा

ललिता निवासका थप लफडा

अनियमिता भयो, मुद्दा प¥यो– कुरा राम्रै हो । तर, यसलाई सल्ट्याउनेका दुःख अनेकन छन् । मुद्दा हेर्ने विशेष अदालतको हालत यस्तो छ कि, न्यायाधीशका अगाडि त सबैले आ–आफ्ना दुःख राख्छन् । ती न्यायाधीशका दुःखचाहिँ न सोध्न मिल्छ, न भन्न मिल्छ । तर, दुःख ठूलो छ ।

ललिता निवास प्रकरणका प्रतिवादी छन्, १ सय ७५ जना । दुईजना प्रतिवादी भएको मुद्दाले त दिन खान्छ भने पौने दुई सय जनाको झुण्डका कुरा विशेष अदालतको दुईवटा बेञ्चले कहिले सुनिसक्ने ? मुद्दा दर्ता भयो, तर कोही पनि पक्राउ परेका छैनन् । भ्रष्टाचार मुद्दा त अनेकन चले, तर यति ठूलो संख्यामा प्रतिवादी खडा गरिएको प्रकरण यसअघि कहिल्यै अदालतमा पुगेको थिएन । त्यसमाथि प्रतिवादी भनिएका सबैलाई अदालतले प्रतिवादी नै कायम गर्ला भन्ने पनि छैन । तर, जो–जोमाथि अभियोग लगाइएको छ, सोको अध्ययन, विश्लेषण र निश्कर्षमा त पुग्नैपर्छ । त्यसपछि मात्रै टुंगो लाग्ने हो, विपक्षी साँच्चैको विपक्षी हो कि विपक्षी कायम नगर्दा पनि हुने हो ?

त्यहाँ अहिले पनि पाँच सय ३० वटा नसल्टिएका चालु मुद्दा छन् । जम्मा दुईवटा बेञ्चले दैनिक पाँच–सातवटा मुद्दा हेर्नुपर्छ । मुद्दा हेर्नु भनेको न्यायाधीशले कुर्सीमा बसेर वकिलको बहस सुन्नुमात्रै होइन । प्रत्येक दिन जाने नयाँ–नयाँ प्रतिवादीका बयान गर्नुपर्छ, बयान सुनिसकेपछि थुनछेकको आदेश गर्नुपर्छ । थुनछेकको आदेशअघि वादी र प्रतिवादीको कुरा सुन्नुपर्छ । स्रोतका अनुसार, ललिता निवास प्रकरणमा प्रतिवादीविरुद्ध ८–१० दिनभित्र म्याद जारी हुन्छ । म्याद तामेल गर्नलाई कतिको ठेगाना मिल्दैन, कति मरिसके, कति बसाइँ सरिसके । मुद्दा चलिसकेपछि पनि प्रतिवादीले २ चोटीसम्म पेशी सार्न पाउँछ । त्यसमाथि थुनावालाको मुद्दालाई पहिलो प्राथमिकता दिइन्छ । विशेषबाट चित्त नबुझे सर्वोच्च जान पाइन्छ । यस हिसावले यो प्रकरण टुंगिँदा ४–५ वर्ष त्यत्तिकै लम्बिने पक्का छ ।

म्याद जारी भएपछि प्रतिवादीले आफैँ अदालतमा उपस्थित हुन पाउने व्यवस्था छ । यदि आफैँ उपस्थित नभएमा समातेर पेश गर्छ । त्यसपछि न्यायाधीशको रोहवरमा बयान हुन्छ । बयानपछि निजलाई सफाइ दिने, पुर्पक्षमा राख्ने वा धरौटी तिराएर छोड्नेमध्ये कुनै निर्णय गर्नुपर्छ । तर, अहिले सिमित जनशक्तिमा चलेको विशेष अदालतसँग सम्पत्ति शुद्धीकरण र अख्तियारद्वारा प्रस्तुत भ्रष्टाचारमा दिनहुँ थुनछेक आदेशको चाप छ ।

माधव नेपाल र बाबुरामको कुरा गर्दा ती सरकारमा काँग्रेस पनि मन्त्री थिए । क्याबिनेट एक्लो हुँदैन । प्रधानमन्त्री तानिँदा तत्सम्बन्धी निर्णय भएको बैठकमा को–को सहभागी थिए त्यसको पनि लिष्ट होला ।

टिप्पणीहरू