अपांगता भएका व्यक्तिहरुलाई घरमै खोप

अपांगता भएका व्यक्तिहरुलाई घरमै खोप

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको घरमै गएर कोरोना विरुद्धको खोप लगाउन थालेको छ । हालसम्म खोप लगाउनबाट वञ्चित अपांगता भएका व्यक्तिहरुको घरमै गएर खोप लगाउन थालिएको नगरपालिकाले जनाएको छ ।

सोमबार नगरपालिकाको २ र ३ नम्बर वडाका ३ जना अपांगता भएका व्यक्तिको घरमै गएर कोरोनाविरुद्धको खोप लगाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर केसीले बताउनुभयो । वडा नम्बर २ का एक जना र वडा नम्बर ३ का दुई जनालाई घरमै गएर खोप लगाएको हो ।

२ नम्बर वडाका हरिकाजी खड्का र ३ नम्बरका रामबहादुर खड्का तथा सुमन शर्मालाई घरमै गएर कोरानाविरुद्धको खोप लगाइएको वडा नम्बर ३ का वडा अध्यक्ष भीमबहादुर खड्काले जानकारी दिनुभयो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केसीसहितको स्वास्थ्यकर्मीको टोलीले खोप लगाउने काम गरेको हो । केसीले हालसम्म कोरोनाविरुद्धको कुनै पनि खोप नलगाएका उनीहरुलाई घरमै गएर कोरोनाविरुद्धको खोप लगाइएको जानकारी दिनुभयो ।

नगरपालिकाले सूचना पाएसम्म र खोप केन्द्रसम्म आउन नसक्ने १४ ओटै वडाका अपांगता भएका व्यक्तिहरुको घरमै गएर खोप लगाइने बताएको छ ।

टिप्पणीहरू