अब चाहिँ रेल र जहाज सरर
‘सरर रेल गुड्छ, नेपालकै झण्डा भएको पानीजहाज पनि चल्छ…† त्यसमा चढिने गरी बरु अहिले नै टिकट कटाइहाल्नु ।’ पोहोरै यस्तो ‘अपत्यारिलो’ कुरा सुनेर तपाईं–हामी गलल हाँस्यौं । तर, अब रेल र पानीजहाजलाई त्यसरी हाँसोमा उडाउनु नपर्ने दिन नजिकिँदै छ ।
नेपालमा चलाइने रेलका लागि अर्थ मन्त्रालयबाट एक अर्ब रुपैयाँ निकासा भइवरी दुई महिनापछि सामान पनि भित्रिँदैछ । राष्ट्रिय ध्वजावाहक पानीजहाज कहाँबाट कहाँसम्म पुग्ने भन्ने टुंगो लगाउँदै भारतले रुट दिएको छ । यसमध्ये दुईवटा रेल अबको केही महिनाभित्रै नेपालीले आफ्नो भूमिमा, आफ्नै आँखाले हेर्ने गरी आइपुग्दैछ । चल्न केही समय लाग्ला, तर ल्याउने कुरा पक्कापक्की भइसक्यो । बरु, रेल र पानीजहाज सञ्चालन गर्न चाहिने कानुनको अभाव छ । त्यो पनि मस्यौदा भइवरी अगाडि बढिसकेको सरकारी अधिकारीहरु बताउँछन् ।
एउटा पानीजहाज किन्न करिब ४० करोड भारु. चाहिन्छ । नेपालले दुईवटा पानीजहाज किन्ने जानकारी भारतलाई दिइसकेको छ । त्यससँगै भारतले नेपाली पानीजहाज चलाउने रुट तय गरेको छ । नेपाल सरकारकै स्वामीत्वका ती पानीजहाज भारतको पश्चिम बंगालस्थित हल्दियाबाट फरक्का, कालुघाट हुँदै पटनाभन्दा पूर्व, बिहार राज्यको साहेबगञ्जबाट कोशी निकाल्ने तय भएको छ भने अर्को रुट वीरगञ्जछेउको गण्डक नहरमा निस्कने तयारी छ ।
हल्दियाबाट चार सय किलोमीटरको दूरी छिचोलेपछि साहेबगञ्ज पुगिन्छ । साहेबगञ्जबाट कालुघाट पुग्न करिव पाँच सय किलोमीटर लाग्छ । कालुघाटबाट गण्डक पुग्न तीन सय र कोशीतिर करिव डेढ सय किलोमीटरमा पुगिन्छ । यी त पहिलो चरणमा पानीजहाज चल्ने रुट भए । तर, त्यतिले मात्रै नपुग्ने भएपछि भारतकै मुन्द्रा र धाम्रामा थप बन्दरगाह सुविधा पाइने टुंगो लागिसकेको छ ।
केपी ओली ०७२ सालमा प्रधानमन्त्री हुँदा साढे तीन वर्षअघि कलकत्ताको लागि महावाणिज्यदूत बनाएर पठाइएका सहसचिव एकनारायण अर्यालले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्ने, योजना बनाउने जिम्मा पाएका थिए ।
पानीजहाज किन्ने जिम्मा भौतिक योजना मन्त्रालयले पूरा गर्दै गरेको बेला प्रदेश सचिवको रुपमा छिट्टै अर्यालको बढुवा हुँदैछ । उनकै योजनाअनुसार कलकत्ताबाट नेपाल जाने गाडीमा ‘इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिष्टम’ लागु भएको छ ।
टिप्पणीहरू