बुद्धको जन्मथलोमा कान्छीहरुको बिजोग

बुद्धको जन्मथलोमा कान्छीहरुको बिजोग

सरकारले ०७७ वैशाखमा संसारभरिका बुद्धधर्मावलम्बीलाई लुम्बिनीमा एकत्रित गर्दैछ । विश्व बौद्ध सम्मेलनका नाममा बुद्धमार्गको पवित्रता र सान्दर्भिकताबारे संसारभर प्रचार गर्ने लक्ष्य छ । तर, त्यस्तोखाले विश्व सम्मेलन आयोजना गर्न बनाइएको मूल समारोह समितिका सदस्य सचिव आफैँ कति ‘अधर्मी’ रहेछन् भने, विवाह गरेर ल्याइएकी पत्नी र सन्तान सडकमा चिहिलविहिल ।

आदिवासी जनजाति महासंघको अध्यक्ष र पहिलो संविधानसभामा सभासद् पनि रहिसकेका पासाङ शेर्पाको कर्मकाण्ड हो यो । पहिचानका नाममा एमालेबाट चोइटिएर अशोक राईहरुको संघीय समाजवादीमा गएका पासाङले त्यहाँ धेरै समय टिक्न नसकी अलग्गै पार्टी खोले । त्यो पार्टीलाई पछि माओवादीमा विलय गराउँदै अहिले फेरि नेकपामा छन् । शायद संस्कृति मन्त्री योगेश भट्टराईले आफ्नो जिल्ला ताप्लेजुङमा हिमालीभेगको प्रभाव सुरक्षित रहला भनेर त्यहीँका मान्छेलाई यस्तो जिम्मेवारीमा लगेका हुन् । तर, योगेशलाई के थाहा कि पासाङलाई बोक्दा प्रभाव सुरक्षित हुने होइन, बरु भएको छवि ध्वस्त हुने पिर छ । किनभने, लगालग एकपछि अर्की पत्नी भित्र्याउनेदेखि जिल्लातिरकै इष्टमित्रलाई युरोप पठाइदिने नाममा ठगी गरेको अभियोग उनीमाथि छ । यो कुरा बुझ्न योगेशहरुले धेरै टाढा पुग्नुपर्दैन, काठमाडौं जिल्ला अदालतको फाँट नम्बर २७ मा गए हुन्छ । जहाँबाट न्यायाधीश ध्रुवराज त्रिपाठीले उनीविरुद्ध परेको फौजदारी मुद्दामा एक लाख १८ हजार धरौटी तोकेका छन् । मुद्दा विचाराधीन छ ।

जाहेरवालीसँग मिलापत्र भएन भने सम्भवतः बुद्धजन्मस्थलमा संसारभरका बुद्धमार्गी भेला भइरहँदा सदस्य सचिवचाहिँ कैदीका रुपमा कारागारमा भेटिन सक्छन् । जाहेरवाली हुन्, पत्नी करिश्मा खरेल । पासाङले उनलाई विवाह गरेर, केही समय राखे । छोरी जन्मिएपछि घरबाट निकाले । छोरी जन्माएको नाममा पासाङ र परिवारले यति धेरै घृणा ग¥यो कि, घरबाट निकालिएपछि ‘मरी कि बाँचेकी छ’ भनेरसमेत सोधखोज भएन । बरु, कुट्ने, पिट्ने र ज्यानै लिनेसम्मका धृष्टता चलिरहे । पासाङबाटै जन्मिएका दुई सन्तानलाई करिश्माले जसोतसो हुर्काइरहेकी छन् ।

करिश्माभन्दा जेठी पत्नीसँगैको सल्लाहमा उनी पासाङको घरमा भित्रिएकी थिइन् । करिश्मासँग विवाह गर्नुको कारण थियो, जेठी पत्नी रोगी हुनु । तर, छोरी जन्मिएको पाँच महिनापछि करिश्मा लखेटिइन् । जेठीको लिभर क्यान्सरका कारण निधन भयो । त्यसपछि फेरि ठमेलको दोहोरीमा गीत गाउने, आफूभन्दा १८ वर्ष कान्छी पूजा परियारलाई पासाङले भिœयाए । घरबाट निकालिएकी करिश्माले यो कुरा समयमा चाल पाइनन् । सोध्दा पनि ‘हैन’ भन्थे । ‘हैन काली, मैले विवाह गरेको छैन । टुरिस्ट बूढीहरुको कुरै नगर । मेरो बूढी तिमी हौ, बच्चाहरु मेरै हुन्’, भन्दै टारिरहे । भन्थे, ‘तिमी यताको बच्चालाई माया देऊ, म उताको (जेठीतिरको) लाई माया दिन्छु । घरमा बस्यौ भने ल्हाक्पा फुटीले विष हालेर मारिदिन्छे ।’

घरबाट निकालिएपछि बूढानीलकण्ठको खड्का भद्रकालीस्थित चपली गणेश हाइटमा डेरा बस्न थालिन् । ठाउँ अनकण्टार । फोन, मोबाइल थिएन । बच्चा छन्, खर्च छैन । त्यहाँ उनी भूमिगतजस्तै भएर बसिन् । पासाङलाई फोन गर्दा नउठाउने कारण हैरान थिइन् । जब पासाङ कपन, बालुवाखानीमा बस्न थाले, त्यसपछि बूढानीलकण्ठ नगरपालिकामा एउटा निवेदन लेखेर घरै पुगिन् । तर, घर पुग्दा ‘यो दमिनी हो’ भन्दै लछापछार गरियो ।

पासाङ भागे । त्यहाँबाट प्रहरी प्रभाग नारायणथानमा गएर बसे । जेठीपट्टिकी छोरीले ‘तैँले मेरी आमा खाइस्, बाबु पनि खान खोजिस्’ भन्दै दुव्र्यवहार गरिन् । भनिन्, ‘तेरो पोई यहाँ बस्दैन, जहाँ बस्छ, त्यहीँ जा !’ त्यसबेला उनी वडाध्यक्ष, नेकपा नगर कमिटीका सचिवहरु लिएर गएकी थिइन् । नगरपालिकाले छलफलमा बोलायो । ‘मैले विवाह गरेको छु, दुई श्रीमती एकैठाउँ राख्न सक्दिनँ’ भने । त्यसपछि वकिल राखेर कागज भयो । करिश्मा महिला आयोगमा गइन् । त्यहाँबाट अदालत जान सुझाइयो । त्यसपछि महाराजगञ्ज प्रहरी बृत्तमा जाहेरी दिइन् र अदालतमा बहुविवाह मुद्दा चल्यो । ताप्लेजुङमा जग्गा रोक्काको लागि प्रक्रिया अगाडि बढाइन् ।

मुद्दा चल्न थालेपछि कान्छीपत्नी पूजा परियारसहित पाँच जनालाई लिएर पासाङ अदालत पुगे । त्यसमध्ये दुई बच्चा आफ्नो, दुई काम गर्न राखेको भने । करिश्माले सोधिन्, ‘मबाट जन्माएका सन्तानले पासाङ मेरो बाउ हो भन्न पाउँदैनन् ?’ जवाफमा पासाङले भने, ‘निधारमा म पासाङकी बूढी हुँ भनेर लेख न त !’ करिश्मासँग पासाङ ०६४ को संविधानसभा सदस्य हुँदैको विवाह दर्ता र बालबच्चाको जन्म दर्ता छ । उक्त कागजात अदालतमा पेश गरेकी छन् । पासाङले मुद्दा लड्न चार–पाँच जना वकिल राखेका छन् । तर, करिश्मा एक्लै छिन्, वकिल राख्ने पैसा छैन । मुद्दा हेर्ने न्यायाधीश ध्रुवराज त्रिपाठी करिश्माको माइती गाउँ काभ्रेकै हुन् । पुस १६ गते इजलाशसामु उभिएर भनिन्, ‘श्रीमान्, पुँजी र पहुँचमा न्याय नमरोस् । यहाँ मन्त्री र सभामुखका श्रीमती पनि आउने बाटो खुलोस् ।’ अनि, न्यायाधीशले जवाफ दिए, ‘यहाँ न्याय पाइन्छ करिश्माजी, यत्ति धेरै एग्रेसिभ नहुनुस् ।’ करिश्माले भनिन्, ‘पूजा परियारलाई मान्यज्यूले ठमेलको चोकबाटै उठाएर ल्याउनुभएको छ ।’ कुरा सुनेर न्यायाधीश हाँसे ।

करिश्मा र पूजामात्र हैन, पासाङले विवाह गर्छु भनेर भाइबुहारी पर्ने फोङ्गी शेर्पालाई पनि बिगारी छाडे । फोङ्गीबाट पनि छोरी जन्मिनाले बेवास्ता गरेका हुन् । छोरी १८ वर्षमा लागिन् । तर, पासाङले नागरिकता बनाइदिएनन् । फलतः पढ्नका लागि विदेश जान नपाउने भइन् । केही सीप नलागेर फोङ्गीले एकजना तामाङकी छोरी बनाएर नागरिकता निकालेकी छन् । तर, शैक्षिक प्रमाणपत्रहरुमा बाबुको नाम पासाङ हुनाले विदेश जाने प्रक्रियामा सामेल हुन गाह्रो भइरहेको छ ।

अर्कातिर, विश्व बौद्ध सम्मेलन आयोजक समिति सचिवालयको लेटप्याडमा अमेरिका र युरोपेली दूतावासलाई भिसा सिफारिस गर्छु भनी पैसा उठाउने काम तीव्र छ । त्यसरी २०–२२ भन्दा बढी आफन्त ठगिएका छन् । ठगिनेमध्ये चाबहिल बस्ने र भतिजो पर्ने मान्छेले पैसा फिर्ता मागिरहेका छन् । ‘बुहारीले मार्न लागी, मलाई त पैसा नै फिर्ता चाहियो’ भन्दै केही दिनअघि पासाङलाई भन्न पुगेका ती भतिजोलाई उनको जवाफ थियो, ‘बुहारी रिसाएर के फरक पर्छ ? अर्को ल्या’न…!’

यस्तै, तेक्पेगोला क्षेत्रलाई रामसार क्षेत्रको रुपमा सूचिकृत गराउने अभियानमा उनको बद्मासी शुरु भएको छ । ताप्लेजुङको मिक्वाखोला वडा ४ साँवाको माथिल्लो क्षेत्र, वडा नं. ५ पापुङ क्षेत्र र मेरिङदेन गाउँपालिका वडा नं. ६ नाल्बुको माथिल्लो क्षेत्रलाई रामसार क्षेत्रमा सूचिकृत गर्ने नाममा पासाङले घोटालावाजी शुरु गरेको आरोप छ । उनले भारतीयमूलका अमेरिकी नागरिक राजेश गोयललाई त्यहाँ जमिन किनाएका छन् । तेक्पेगोला संरक्षण गर्ने सामाजिक संस्थालाई जातीय संस्थाको रुपमा दर्ता गरी विदेशीसँग पैसा उठाउन थालेपछि अध्यक्ष मिङ्मा डण्डुहरु रुष्ट छन् ।

टिप्पणीहरू