गोरुगाडा,डिभाडर र बोलेरोमा ठोक्किँदा ३ को गयो प्राण

गोरुगाडा,डिभाडर र बोलेरोमा ठोक्किँदा ३ को गयो प्राण

सुनसरी,मोरङ र इलामका छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार सुनसरी र मोरङमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ । हिजो बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ को कोशी लोकमार्गमा को.२०प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किदा गम्भिर घाइते भएका मोटरसाइकल चालक बिराटनगर-१४ का ३० बर्षीय श्याम कामतको उपचारको क्रममा मृत्यु भएको छ ।

उनको बिराटनगरको बिराट नर्सिङ होममा मृत्यु भएको हो । त्यसैगरी हिजै मोरङको जहदा गाउँपालिका-६ मा भएको मोटरसाइकल दुर्घटनामा सख्त घाइते भएका बिराटनगर-१९ का २६ बर्षीय लक्ष्मी सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते उनलाई कोशी अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

उनले हाँकेको को.३५प ३४०५ नम्बरको मोटरसाइकलले भित्री सडक खण्डको सडक छेउमा रोकेर राखेको गोरुगाडामा ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसैगरी इलाममा बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने सूर्योदय नगरपालिका-१ का २३ बर्षीय सौगात राई हुन् । उनको बिर्तामोडको बीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई इलामको सूर्योदय नगरपालिका-३ स्थित फिक्कल-पशुपतिनगर सडक खण्डमा बोलेरोले ठक्कर दिएको हो । हिजो बेलुका पशुपतिनगरतर्फ जाँदै गरेको को.१ज ३५८९ नम्बरको बोलेरो गाडीले बिपरित दिशाबाट आउँदै गरेको मे.११प ८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मृतक राई र उनको मोटरसाइकल पछाडि सवार रहेकी घाइते २५ वर्षीया सम्झना राईको उपचार भई रहेको छ । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू