त्रिभुवन विश्वविद्यालयमा ताल्चामाथि अर्को ताल्चा झुण्डियो

त्रिभुवन विश्वविद्यालयमा ताल्चामाथि अर्को ताल्चा झुण्डियो

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरू र नेविसंघले गरेको तालाबन्दीले विश्वविद्यालयका महत्वपूर्ण कामहरु ठप्प छन् । उनीहरुले विभिन्न माग राख्दै लामो समयदेखि उपकुलपतिलगायत मुख्य विभागमा ताला लगाएपछि सो समस्या निम्तिएको हो ।

नेपाली काँग्रेस निकट नेविसंघले जनकपुरस्थित युथ क्याम्पसलगायत दर्जनौं क्याम्पसबाट विश्वविद्यालय पदाधिकारीका नाममा उठाएको घुस रकम सार्वजनिक गरि दोषीलाई कारबाहीको माग राख्दै त्रिविमा गत माघ ७ गतेबाट तालाबन्दी गरेको हो । संघले दोषी त्रिवि पदाधिकारीलाई विश्वविद्यालयबाट अविलम्ब बर्खास्त नगरेसम्म ताला नखोल्ने चेतावनी दिँदै आएको छ ।

यस्तै आंशिक प्राध्यापकहरूले विश्वविद्यालयले वौद्विक शोषण, अन्याय, विभेद अन्त्य गर्नुपर्ने लगायत ३ बुँदे माग राख्दै गत माघ २४ गतेदेखि थप ताल्चा झुण्डाएका छन् । उनीहरुले आफूहरुको राखेको माग पूरा नभएको भन्दै फागुन ३ गतेबाट दबाब स्वरुप विश्वविद्यालयमा अर्को ताल्चा झुण्डाइदिएका छन् ।

तर त्रिवि प्रशासनले भने दुबै समूहले उठाएको माग सम्बोधन गर्दा पनि तालाबन्दी नखुलेको दाबी गर्दै आएको छ । पदाधिकारीले कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटर सो समस्या समधान गर्न पहल गरे पनि अहिलेसम्म ताल्चा नखुलेकोमा त्रिवि प्रशासनको गुनासो छ ।

विश्वविद्यालय स्रोतले समस्या समाधान गर्न सकिने अवस्था रहे पनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताउँदै आएका छन् । उनीहरुले त्रिविमा लगाइएका ताल्चा खोल्न माग गर्दै यसअघि फागुन ५ गते प्रदर्शन समेत गरेका थिए ।

टिप्पणीहरू