सुख्खा मौसम शुरु नहुँदै आगलागी

सुख्खा मौसम शुरु नहुँदै आगलागी

यो वर्ष हिउँद र जाडो नसकिँदै जताततै आगलागीका घटना भएका छन् । सामान्यतयाः चैतको खडेरीमा देखिने यस्तो समस्या यो वर्ष फागुनको आधाआधीमै भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–५ भण्टाखोरिया टोल बस्ने रेनुका विकको घरमा खाना पकाउने क्रममा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेको छ । आगलागीबाट ९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको ।

उदयपुरकै उदयपुरगढी गाउँपालिका–१ थाक्ले बस्ने टिकाराम सार्कीको घरमा सोलारको तार सर्ट भई हिजो दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेको छ । उक्त घटनामा पनि करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ पारी बुटवल बस्ने रैनु मियाको घर र घर नजिकै रहेको फुडमाया रेष्टुरेण्टमा हिजो दिउँसो आगलागी हुँदा घर र रेष्टुरेण्ट पूर्णरूपमा जलेको छ । आगलागीबाट ८० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको दाबी गरिएको छ ।

मोरङको रंगेली नगरपालिका–२ कमलझोडा बस्ने राजकुमार भुजेलको भान्सा घरमा हिजो साँझ आगलागी भई बस्तीमा समेत फैलिएर तीन वटा घर र भान्साघर जलेर नष्ट भएको छ । आगलागीबाट करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।

टिप्पणीहरू