जीपको ठक्करबाट २ जनाको ज्यान गयो, उपेन्द्र यादव घाइते

जीपको ठक्करबाट २ जनाको ज्यान गयो, उपेन्द्र यादव घाइते

रौतहटमा स्कर्पियोको ठक्करबाट दुई जना युवकको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । गएराति चन्द्रनिगाहापुर–गौर सडकखण्डअन्तर्गत हर्साहा चोकमा बा.१७ च ६१६३ नम्बरको जीपले ठक्कर दिँदा सडकमा हिँडिरहेका दुई जनाको ज्यान गएको हो । ठक्करबाट ड्युटीमा रहेका दुई जना प्रहरी समेत घाइते भएका छन् ।

प्रहरीका अनुसार जीपको ठक्करबाट बृन्दावन नगरपालिका–६ हर्साहा गाउँका ३५ वर्षीय जितेन्द्र पटेल र अर्का २८ वर्षीय हरिकुमार ठाकुरको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर लैजाने क्रममा मृत्यु भएको हो ।

ड्युटीमा रहेका प्रहरी चौकी हर्साहाका प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अन्सारी घाइते भएका हुन् । असई यादवको गरुडास्थित सामुदायिक अस्पताल र अन्सारीको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

ठक्कर दिने गाडीका चालक मौलापुरका सञ्जय पाण्डे र गाडीमा सवार कुन्दन पाण्डे पक्राउ परेका छन् । मृतकका आफन्तहरुले दुबै शव हर्साहा चोकमा राखेर दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै आज बिहानदेखि विरोध प्रर्दशन गरेका हुन् ।

टिप्पणीहरू