विमान खसेको जंगलमा भिषण आगलागी

विमान खसेको जंगलमा भिषण आगलागी

चीनमा आज दिउँसो भएको विमान दुर्घटनामा परेका सबै यात्रु र चालक दलको जीवित भेटिने सम्भावना घट्दो छ ।

खुनमिङबाट दक्षिणको ग्वाङचौतर्फ जाँदै गरेको चाइना इस्टर्न एअरलाइन्स उडान नम्बर एमयु ५७३५ को बोइङ ७३७ विमान क्वाङ्सी चुआङ प्रान्तको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

उचौ शहरबाट नजिकै पर्ने मोलाङ गाउँको पहाडमा विमान खसेर आगलागी भएको छ । विमानको आगोबाट जंगलमा डढेलो सल्केको छ । विमानमा चालक दलका सदस्य र यात्रु गरी १ सय ३२ जना यात्रारत थिए ।

दुर्घटनाको खबरलगत्तै उचौ सरकारले ३६ वटा एम्बुलेन्स, ८० जनाभन्दा बढी रहेको चिकित्सकीय टोली र सयौं जनाको उद्धार टोली पठाएको छ ।

विमान दुर्घटना हुँदा बखतको भिडियोसमेत अहिले प्राप्त भएको छ । दुर्घटनाको कारण र यात्रु तथा चालक दलका सदस्यहरुको बारेमा थप विवरण प्राप्त भएको छैन ।

टिप्पणीहरू