भेरीमा मिनीट्रक खस्यो : १ को मृत्यु, २ घाइते

भेरीमा मिनीट्रक खस्यो : १ को मृत्यु, २ घाइते

रुकुम पश्चिमको आठबिसकोटमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन् । दुई जना घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका ६ का २२ वर्षीय ट्रक सहचालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–६ का २३ वर्षीय अनिल बिक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार हिजो आठबिसकोट नगरपालिकाको वडा नम्बर ६ मनकाबगरमा मिनीट्रक भेरीमा खसेको हो । रुकुम पश्चिमको गोतामकोटबाट डोल्पाको खदाङतर्फ खुद्रा सामान लिएर जाँदै गरेको मिनीट्रक अनियन्त्रित भई भेरी नदीमा खसेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । ट्रक सडकबाट अन्दाजी एक सय मीटर तलको भेरी नदीमा खसेको छ ।

मिनी ट्रकमा चार जना सवार थिए । अन्य दुई जना घाइते छन् । सुर्खेतको बराहाताल गाउँपालिका ३ का ट्रक चालक जीतबहादुर बिष्ट र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८ का मोहन ओली घाइते छन् । उनीहरु दुवै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालक बिष्टको टाउको र खुट्टामा चोट लागेको कारण अवस्था गम्भीर छ । अर्का घाइते ओलीको टाउको र शरिरमा सामान्य चोट लागेको छ । बेपत्ता अनिलको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू