जाजरकोटमा नेकपा एकीकृतले दियो जिम्मेवारी

जाजरकोटमा नेकपा एकीकृतले दियो जिम्मेवारी

नेकपा एकीकृत समाजवादी जाजरकोटको अध्यक्षमा कमान खड्का चयन हुनुभएको छ । हिजो सदरमुकाम खलंगामा सम्पन्न जिल्ला कमिटीको तेस्रो बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको हो । खड्का यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।

पार्टी उपमहासचिव प्रकाश ज्वालाको उपस्थितिमा सम्पन्न बैठकले खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको हो । जिल्ला कमिटी सचिव गंगाबहादुर शाहीका अनुसार खड्काले अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सबैलाई धन्यवाद दिँदै पार्टी निर्माणमा कटिबद्ध भएर लाग्ने बताउनु भएको छ ।

‘विशेष परिस्थितिमा प्राप्त महत्वपूर्ण जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने र समाजवादको यात्रामा निरन्तर लागिरहने छु,’ खड्काको भनाइ उल्लेख गर्दै शाहीले उल्लेख गर्नुभयो । छ महिनाअघि जाजरकोटमा नेता कृष्ण बिसीको नेतृत्वमा एकीकृत समाजवादी गठन गरिएको थियो ।

बिसी हाल एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज हुनुहुन्छ । जिम्मेवारी ग्रहण गरेको छ महिनामा छ वटा नगर,गाउँ कमिटी, ३१ वडा कमिटी,१७ टोल कमिटी, आठ वटा जनवर्गीय र पेशागत संगठन निर्माण गरी परिचालित भएका छन् ।

हालसम्म एक हजार दुई सय पार्टी सदस्यता अद्यावधिक भएको पनि जानकारी दिइएको छ । बैठकले जिल्ला कार्यालय, सचिवालय, आठ वटा विभाग र अधिकांश फाँटहरुको पनि कार्यविभाजन गरेको छ । ‘बुद्धिजीवी परिषद्, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चको नेतृत्व चयन गरिएको छ । कार्यालय र आन्तरिक अभिलेख उत्तिकै चुस्त बनाइएको छ’, बिसीले भन्नुभयो ।

अध्यक्षको जिम्मेवारी दिइएका खड्का जिल्लामा लोकप्रिय नेताका रुपमा परिचित हुनुहुन्छ । साविक खलंगा गाउँ विकास समितिको उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको खड्काले जाजरकोट उद्योग वाणिज्य संघमा लामो समय नेतृत्व सम्हाल्नुभएको थियो ।

टिप्पणीहरू