सवारी दुर्घटना : हिजो चोभारमा, आज कलंकीमा

सवारी दुर्घटना : हिजो चोभारमा, आज कलंकीमा

आज दिउँसो कलंकी चोक नजिकै भएको सवारी दुर्घटनामा सडक किनारका पैदल यात्री समेत घाइते भएका छन् । रविभवनबाट कलंकीतर्फ जाँदै गरेको एउटा कारले सोही दिशातर्फ गइरहेका मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएपछि ती सवारी साधनमा सवार सबै र पैदल यात्री एक महिला घाइते भएका हुन् ।

बा. ५ च ५४४० नम्बरको मारुती कारले सोही दिशामा जाँदै गरेको बा. ०३०प २६८७ नम्बरको स्कुटर र बा. ७८ प ६५०४ को मोटरसाइकललाई ठक्कर दिँदा छ जना घाइते भएका छन् । ठक्कर दिने कार चालक ६३ वर्षे खगेन्द्र अधिकारी हुन् ।

घाइतेमध्ये पैदल यात्री ओखलढुंगाकी २६ वर्षीया मनिषा कार्कीका साथै सवारी साधनमा रहेका देबराज फुयाल ३६ वर्षका काठमाडौं तारकेश्वर नगरपालिका, सोही स्थानका ४५ वर्षे चन्द्रबहादुर लिम्बु, नैकापका ५२ वर्षे अच्युत कार्की, कलंकीका ३६ वर्षे भाइकृष्ण सिटौला र कैलालीका २९ वर्षे महेशराज जैशी हुन् ।

उनीहरु अधिकांशको हात र गोडा भाँचिएको छ । केहीको टाउको र छातीमा चोट लागेको बताइएको छ । सबैको नजिकैको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने कार चालक अधिकारी, क्षतिग्रस्त सबै सवारी साधनलाई प्रहरी वृत कालिमाटीको नियन्त्रणमा पठाइएको छ ।

टिप्पणीहरू