एमाले कार्यकर्ताले काँग्रेसी कुटेपछि गठबन्धनद्वारा गाउँपालिका बन्द

एमाले कार्यकर्ताले काँग्रेसी कुटेपछि गठबन्धनद्वारा गाउँपालिका बन्द

खोटाङको जन्तेढुंगा गाउँपालिकामा नेपाली काँग्रेस नेतामाथि भएको आक्रमणविरुद्ध सत्ता गठबन्धनले पालिका बन्द गरेको छ । बुधबार राति ९ बजे जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी बजारको एक होटेलमा एमाले कार्यकर्ताले काँग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले आज गाउँपालिका बन्द गरेका हुन् ।

नेता बस्नेतमाथि सांघातिक आक्रमणको विरोधमा गाउँपालिकाका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यापार–व्यवसाय, संघसंस्था एक दिनका लागि बन्द गरिएको काँग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए । आक्रमणको विरोधमा गठबन्धन दलले चिसापानीबजारमा संयुक्त विरोधसभासमेत गरेको छ ।

एमाले सम्बद्ध युवाले नियोजित रूपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषयमा विवाद निकालेर बस्नेतमाथि बोतल प्रहार गरेर सख्त घाइते बनाएको काँग्रेसले दाबी गरेको छ । बोतल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । एमाले सम्बद्ध चासुम राई, मिलन राई लगायतले बस्नेतमाथि आक्रमण गरेको सभापति विष्टले बताए ।

जन्तेढुंगामा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमालेबाट निर्वाचित छन् । पाँच वर्षको अवधिमा एमालेले गरेको निरंकुशता, ज्यादती र सांघातिक आक्रमणका विरुद्ध बन्द आव्हान गरिएको गठबन्धन दलको भनाई छ । एमाले जन्तेढुंगा गाउँपालिका कमिटी अध्यक्ष यामकुमार राईले भने जाँडरक्सी खानेक्रममा केही व्यक्ति बीचको विवादलाई राजनीतिक रंग दिएर एमालेको नाम जोडेर बदनाम गरिएको बताए ।

टिप्पणीहरू