डाक्टरलाई डण्डा
कोरोनाको कहरकाबीच सरकारले एक सिनियर चिकित्सकलाई कारवाहीको भाँटा बर्साएको छ । मर्यादा विपरित काम गरेको चार्ज लगाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत बरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनसंग स्पष्टिकरण सोधेको हो हिजो शुक्रवार ।
पुनमाथि सञ्चारमाध्यमहरुमा कोरोनाका विषयमा जथाभावि अभिव्यक्ति दिएको,मर्यादा विपरित गतिविधि गरेको ठहर छ । उनले केहीअघि तराई क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको र काठमाडौं भने पूर्णतया सु्रक्षित रहेको अभिव्यक्ति दिएका थिए । यसअलावा शुक्रवारमात्र चितवनमा २ जना र उदयपुरमा १२ गरी १४ जना कोरोना नयाँ संक्रमित थपिएको सूचना मिडियालाई प्रेस कन्फरेन्स हुनुअगावै चुहाएका थिए । यसरी सूचना चुहाएको आरोपमा उनलाई यसअघि नै मन्त्रालयमै बोलाएर पटक–पटक चेतावनी दिइएको थियो ।
मन्त्रालय स्रोतका अनुसार निर्देशन अटेर गरेको चार्ज लगाउँदै उनीसँग शुक्रवार स्पष्टिकरण मागिएको हो । उनलाई अहिले जगेडामा स्वास्थ्य मन्त्रालयमा तानिएको छ ।
डा पुनले भने आफूले नीति रणनीतिहरुका बिषयमा नबोलेको, विज्ञताका आधारमा कोराना रोग र संक्रमणका बिषयमा आमजनमानसले बुझु्न भन्ने ढंगले कोराना रोग, यसका जोखिम, यसबाट बच्ने कुरा सर्वसाधरणलाई जानकारी मात्र दिएको, यो बिषम परिस्थितीमा मौन बस्न मनले नमानेको प्रतिक्रिया दिएका छन् ।
यता स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठहरुले भने यही बीचमा सरकारले जिटुजी सम्झौतामार्फत मेडिकल उपकरण ल्याउने तयारी गरिरहँदा केही दिनअघि मात्र ३४ करोडको नयाँ टेण्डर आह्वान गर्न भ्याएका छन् ।
टिप्पणीहरू