कमरेडहरुले किन यसो नगर्ने ?
कोरोनाले आक्रान्त नेपाली समाज झण्डै एक महिनादेखि लकडाउनमा छ । सरकारले दैनिकजसो विभिन्न निर्णय पनि गरेको छ । नेकपाका स्थानीय नेता -कार्यकर्ताले आ–आफ्नो स्थानमा स्वःस्फूर्त र व्यक्तिगत तवरले निमुखा जनतालाई सक्दो सहयोग पनि गरिरहेका छन् । तर, पार्टीको उपल्लो तह र सरकारको समन्वयमा अझ धेरै काम गरेर जनताको पीडामा मल्हम लगाउन ढिलो भएको आवाज उठ्न थालिसकेको छ । अहिलेको अवस्थामा नेकपाका ७७ वटै जिल्ला इञ्चार्ज, अध्यक्ष र सचिवहरूलाई उपयुक्त ढंगले परिचालन गर्न आवश्यक निर्णय गरिहाल्नुपर्ने हो ।
दुई तिहाइ बढी स्थानीय निकायमा निर्वाचित नेकपा आबद्ध जनप्रतिनिधिलाई जनतासँग थप नजिक्याउन पनि अहिलेको अवस्थालाई उपयोग गर्नुपर्दछ । संघीय सरकारले गरेको निर्णय र सोचलाई संक्रमणको कठिन घडीमा रहेका जनताको बीचमा कसरी लैजाने भन्ने विषयमा उपयुक्त निर्णय गर्न ढिलो भइसकेको छ । यस्तो अवस्थामा पार्टी कार्यकर्ता परिचालन सुरक्षित तवरले गरी धेरै जनताको दुःखमा साथ दिन सक्नुपर्दछ । त्यसो भएमा आगामी दिनमा नेकपाको क्षेत्र अझ फराकिलो र ओज गहकिलो हुनेछ । यसलाई नेतृत्व तहले बेलैमा बुझ्नुपर्ने सुझाव स्वयम् कार्यकर्ता तहबाट आउन थालेको छ । तर, किन हो सरकार र पार्टी केन्द्रबीच यस्तो बेलामा पनि त्यसबारे आवश्यक छलफल भएको देखिएको छैन ।
सरकारले राम्रै काम गर्न खोज्दा पनि आलोचनाको श्रृंखला बढेको छ । संक्रमणको त्रासदीपूर्ण अवस्था र सरकारी पहलको वास्तविकतालाई कसरी जनतामाझ पुर्याउने भन्ने सम्बन्धमा नेकपाको हाईकमाण्डले र्यापिड डिसिजन गर्नुपर्दछ । सबैलाई थाहा भएकै कुरो हो, जहिलेपनि अप्ठेरो अवस्थामा आमजनता मूलतः सरकारी सञ्चारमाध्यमप्रति धेरै आशक्ति देखाउँदैनन् । हरेक पल र क्षणमा ब्रेकिङ्ग न्यूज पस्कने कारणले पनि होला यस्तो बेलामा उनीहरु निजी क्षेत्रका सञ्चारमाध्यमप्रति नजिकिन्छन् ।
अर्कोतर्फ, संवदेनशील विषय र समयमा निजी क्षेत्रका सञ्चारमाध्यमले गर्ने तत्कालको प्रकाशन र प्रशारणबाट सरकारी प्रयास र पहललाई एकहदसम्म छाँयामा पर्दछ । यस्तो बेलामा सर्वसाधारण जनता मात्र होइन, तल्लो निकायमा रहेका पार्टिका नेता तथा कार्यकर्ता समेत अन्यौलग्रस्त एक किसिमले कुहिरोको कागको अवस्थामा पुग्छन् । अहिलेको नेकपाको तल्लो तहको अवस्था पनि ठ्याक्कै त्यस्तै देखिन्छ । स्थानीय तहमा रहेका नेता तथा कार्यकर्ताले केन्द्रमा दुईजना अध्यक्ष झगडा गरेको र ठुस्किएको आँकलन गरेका हुनसक्छन् । किनभने, लामो समयदेखि सचिवालयको बैठक बस्न सकेको छैन । सचिवालयको बैठक बोलाउन हस्ताक्षरको धम्की दिनुपर्ने अवस्था रहेको खबर बाहिर आएको छ । उता, प्रधानमन्त्रीले पनि सञ्चारमाध्यमसँग मन्त्री र पार्टिका नेताहरूलाई टाढा बस्न निर्देशन दिएका छन् । यो सबै घटनालाई विभिन्न माध्यमबाट पढेको र सुनेको स्थानीय नेता तथा कार्यकर्ताले वास्तविक सूचना चाँहि कसरी पाइरहेका होलान् ? यसतर्फ कसैले ध्यान दिएको देखिँदैन ।
अहिलेको अवस्थामा प्रदेश र जिल्लास्तरीय राजनीतिको जिम्मेवारीमा बसेका इञ्चार्ज, अध्यक्ष र सचिवले नै पार्टी हाईकमाण्डको बारेमा उठेका विषयको यथार्थ खबर पाउन सकेका छैनन् । आफू नै विश्वस्त हुन नसकेको अवस्थामा उनीहरूले तल्लो तहका नेता तथा कार्यकर्तालाई सप्रेषण गर्ने निर्देशन र खबर चाँहि कति भरपर्दो होला ? किनकी नेकपाको निर्माणपछि बनाइएको सबै तहमा जम्बो कमिटी खडा छ । कमिटीका सदस्यहरूबीच अझैपनि देखिनेगरी मन माझिएको छैन । बैठक पनि लामो समयदेखि बस्न सकेको छैन । यस्तो अवस्थामा उनीहरूले जनतासमक्ष पार्टिकेन्द्र र संघीय सरकारको कस्तो सन्देश र सूचना लिएर जालान् ?
प्रधानमन्त्रीले हालसालै सिंहदरबारबाट सार्क राष्ट्रका नेताहरूसँग भिडियो कन्फरेन्स गरेका थिए । त्यसैगरी सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग गरेको संयुक्त भिडियो वार्ताझैं दुबै अध्यक्षले संयुक्तरूपमा प्रदेशस्तरीय नेता तथा कार्यकर्ताहरूसँग जीवन्त ढंगले डिजिटल वार्ता गर्न ढिला भइसकेको छ । अहिलेको विषम परिस्थितिमा स्पष्ट निर्देशनका साथ केन्द्रबाट त्यस्तो छलफलको आयोजना गर्ने हो भने, त्यसले उत्साह आउनेमा दुईमत छैन । त्यसैगरी, स्थानीय नेता तथा कार्यकर्ताले पनि जनताबाट प्राप्त वस्तुगत सुझाव र धारणाहरूलाई सोझै हाईकमाण्डसमक्ष पुर्याउन पाउँथे । यसले उनीहरुलाई प्रतिकूल अवस्थामा पनि पार्टिले दिएको निर्देशन कार्यान्वन गर्दा आफ्नो पदीय दायित्व पूरा भएको गर्व गर्ने अवसर पाउँथे । अर्कोतर्फ, यसले राज्य संयन्त्रका विभिन्न निकायबाट प्राप्त हुने रिपोर्टको वस्तुनिष्ठ मूल्याङ्कन गर्न अन्ततः सरकारलाई नै सहयोग पुग्थ्यो । साथै, आफ्नै कार्यकर्ता र पार्टि पंक्तिबाट आउने त्यस्ता रचनात्मक सुझावको कार्यान्वयन हुँदा सबैमा अपनत्वको भावना समेत जागृत हुन्थ्यो ।
यतिखेर डिजिटल सम्वादको अभ्यास किनपनि महत्वपूर्ण देखिएको छ भने, हिजोको सहज अवस्थामा समेत हामीले गर्नुपर्ने प्रत्यक्ष भेटघाट र छलफललाई विस्तारै लत्याई सकेका छौं । तर, भोका, नाङ्गा, सर्वहारा, किसान, मजदुर र शोषित पीडित एवम् सीमान्तकृत वर्गका जनताको पार्टिले सदैव नेता, कार्यकर्तासँगै ती वर्गसँगको सामिप्यतालाई पनि प्रत्यक्ष रूपमा कायम राख्नुपर्दथ्यो । यो विगतमा एकहदसम्म कायम थियो । नेकपाका जनप्रतिनिधिहरूले पनि सदैब यस्तो संकटपूर्ण अवस्थालाई जनताको निकटमा रहने र उनीहरूको असहज अवस्थालाई सहज बनाउन योगदान पुर्याउने अवसरको रूपमा प्रयोग गर्नुपर्दछ । उनीहरूले सर्वसाधारणलाई राहत र ढाडस दिँदै संक्रमणको त्रासदीपूर्ण अवस्थालाई आफ्नो काबुमा राख्ने अहिलेको क्षण एउटा गतिलो अवसर पनि हो । तर, यसको लागि स्वयम् पार्टिकेन्द्रले तल्लो निकाय र पंक्तिमा प्रत्यक्ष सम्वाद कायम गर्दै आवश्यकताअनुसारको निर्देशन दिनुपर्दछ । यस्तो बेलामा अन्य पक्ष र बिरोधीहरूबाट हुनसक्ने गलत सूचना प्रवाहलाई बेलैमा रोक्न सक्नुपर्दछ । विभिन्न कोणबाट समाजलाई भ्रमपूर्ण अवस्थामा राखेर गिजोल्ने प्रयास पनि हुनसक्छ, त्यसलाई पनि बेलैमा चिर्न डिजिटल सम्वाद अचुक अस्त्र हुनसक्छ । तसर्थ, यो अवसरलाई यतिखेर नेकपाको हाईकमाण्डले किन सदुपयोग नगर्ने ?
टिप्पणीहरू