कोरोना महात्म्य र राष्ट्रिय कमेडी
त्यो पनि बेला थियो गाइजात्रा बर्षको एकचोटी आउँथ्यो ।प्रज्ञाभावन, नाचघर वा सभागृह अनुकूल मिलेका ठाउँमा शो हुन्थ्यो । धेरै राजनीतिमाथि र अन्य इतरबारेका बिषयको धमाकादार प्रस्तुती हुन्थ्यो । प्रहशनले बिग्रेकालाई सपार्ने सन्देश दिन्थ्यो ।अब गाइजात्राका निमति बिशेष दिनको प्रतिक्षा हटेको छ । अचेल प्रम लीमाथि शर्मनाक दनक दिने कमेडी कार्यक्रमहरु दिनानुदिन टिभिमावआउन थालेकाछन् । दैनिक पत्रिकाका व्यंगचित्रमा ओली भरपुर छाएका छन् ।
लीलाप्रवेश
प्रधानको कुर्चिमा बसेपछि चर्चाले प्रधानता पाउने नै भयो । ती चर्चाका चर्खा असल खराब दुबैखाले हुने नै भए । भारतीय प्रधानमन्त्री मोदीलाई मैदा बनाउन सक्ने अथाह सामर्थ्य ओली सङ्ग छ । मोदी गम्छा ओढेर जे गर्छन् ओली मास्क उधारेर त्यही अनुशरण गर्छन् । सैद्धान्तिकरुपमा चिनको नाता जोडिएको भएपनि रहनसहन,भाषा,संस्कृतिले माओभन्दा गान्धीको गणतान्तृक विचारबाट घनिभूत भएकाछन् । हप्तापिच्छे वा २, ४ दिनको अन्तरमा बिशेष परिस्थितिमाथि बोल्न भनेर आफै हाजिर हुन्छन् ।
विवश जनता बन्दाबन्दीमा उनको एकल अनुहार हेरेर हाँसिरहेकाछन्, टिकटिक बनाइरहेकाछन् । उधारोमा लिएको ज्ञान होस् वा पुराना चल्तीका हिज्जेलाई धोएर चम्किलो बनाई रंग लाउने उनको जो मिजाजपूर्ण बानी छ, त्यसले जग हँसाएको छ । सम्झौ उनी अंग्रेजीमा पनि उखानटुक्के रफ्तारमा बोल्न सक्ने हुन्थे भने संभवत विश्वको पहिलो कमेडियन प्रधानमन्त्री हुनेथिए । काँग्रेसलाई दिएको बूढो साँढेको उपमा वा आफ्ना कार्यकर्तालाई अरिगांलको संज्ञा दिने उनले कहिले त्यो क्रिकेटको डल्लो भनेर होस् वा नेपालमा मात्र पाइने गैंडा भनेर राइनो शब्दलाई हेप्न पुगेका प्रेरक हास्य शृङ्खला युट्युबमा सुरक्षित छन् ।
हास्यबर्णमाला भित्र रही उनी हरेक मन्तव्यमा नयाँ नयाँ प्रसगं जोडेर खित्का छोडाउनमा माहिर छन् । कमेडीकलाका पारखीलाई जिल्ल पार्ने शैली छ कामरेडको । यसको एक कारण यो पनि हुनसक्छ, नेपालका चर्चित कमेडियनहरुले पेशा संकटमा पर्ने भयले सामाजिक वा व्यवसायतर्फ हात हालेका छन् । मनोज गजुरेल र धुर्मुसलगायतका १,२ जना मात्र देखिन्छन्, त्यो पनि ओलीकै नक्कल गरेका कारण उनीहरुको अस्तित्वमा रहन सकेका हुन्, अन्यथा लोप भएर जानेथिए । जसरी नेपाल टेलिभिजनका शाहीकालिन् कार्यक्रमहरु बिलाएर गए ।
पार्टी एक, पाटा अनेक
दृष्य देखाउँछ, गुट उपगुटको चर्को उदाहरण बनेको आफ्नै पार्टीभित्रै अल्पमतमा रहेका ओली अदृष्य साँठगाँठ गर्नमा कुशल छन् । उनका संरचनाको गतिलो खेल पर्दा झरेपछि मात्र देख्न सकिन्छ ।
सरकार रहेर पनि पूर्वमाओवादीलाई जिल पार्ने भूमिगत कार्यशैली जो यिनको त्यसलाई देखेर नेपाली संचारसमेत आजीत छ । ओली भन्छन्, ‘राज्यले नदेख्ने, मिडियाले देख्ने पनि कही हुन्छ ! त्यो असंभव साथीहरु !’ शंकास्पद व्यापारी जसको साँठगाँठ सरकारसँग छ, उनीहरु निर्वाध चलनचल्तीमा छन् ,बाँकीलाई राज्यले लकडाउनमै रहन भनि फर्मान जारी गरेकोछ । राज्यले नदेखेको तर संचारले देखेको भाटभटेनी स्टोर खोलेर बाँकी किराना पसलेलाई ठाडो उपहास गरेकाछन् तर ओली मान्दैनन्, हामी सबैलाई एकै चम्चाले खाना सर्भ गरिरहेकाछौं । पार्टीभित्र, सरकारभित्र रहेकालाई मातहतमा ल्याउन उनले आफ्नो पक्षमा पार्न देखाउने लालीमय लोभ र हामी बलियो अवस्थामा छौं भन्न कुनै कसर बाँकी नराख्ने बानी देखी उनका लंगौटिया यारहरुसमेत आजित परेकाछन् ।
माओवादीसँग मिलेर पार्टी एक भएदेखि ओलीमा मन्दरुपमा गज्जबको गुण देयो, यिनी भूराहरुलाई त निमिट्यान्न पारियो भन्ने अवतारमा जंगिदै आए । आलोपालोको सरकार सम्हाल्ने रणनीति, केन्द्रदेखि स्थानीयस्तरसम्म शक्तिको बाँडफाँड तुहिएको अवस्थामा, कहिले स्वाथ्यका कारण कहिले अब गरिहाल्छु नि भन्ने मीठो आश्वासनका कारण सरकार अगतिलो किसीमले चलाइरहेकाछन् र भन्छन्, ‘विकासको कुरा छोड्नुस् सरकार यति लामोसमयसम्म चल्यो त्यो नै ठूलो उपलब्धी हो ।’ एमसिसिकाण्डले ढाकेको वाइडबडी काण्ड र अहिले आइलागेको कोरोनामय रोदन ओलीका लागि अचुक झोली सावित भएको छ । लकडाउनकै अवस्थामा ओलीले चाहेको व्यक्तिलाई गभर्नरमा नियुक्त गर्न भ्याए, चीनका लागि राजदूत नियुक्त गर्न भ्याए, सुकुम्बासी आयोग गठन गर्न भ्याए, तर कोभिड असरलाई रोक्न वा सुरक्षित हुनका लागि अहिलेसम्म कुनै सामाग्री ल्याउन सकेका छैनन् ।
अझ बिज्ञप्ती दिन्छन्, ‘यो बेला भावनामा बगेर कविता लेख्ने समय होइन ’ कवितालाई सराप्नेहरु केवल चाटुकार हुनसक्छन् । किनकि कविताले मानवीय समवेदना जोड्दछ तर छट्टु नेताहरु मानवीय समबेदना तोडेर आफ्नो स्वार्थपूर्तिमा जुट्नलाई कवितामथि धावा बोलिरहेकाछन् । उनीहरु चुड्कीमा चुट्किला सुनाइरहेकाछन् र जनता भुलाइरहेकाछन् । भारतले खुलेयाम नक्सा सार्वजिनक गरेर नेपाली भूभाग मिचिएकोमा चुपचाप हुने ओली सरकार सीमामा रोकिएका नेपालीलाई भनिरहेकोछ, ‘यो बेला राष्ट्रियताको गीत गाउने होइन!’ सयौं किलोमिटर पैदल हिंडेर घर सोझाएका आम श्रमिकका ढाडमाथि लठ्ठी बर्सेको छ । जहाँ जसलाई भेट्यो तत्काल त्यही १४ दिने म्याद थमाएर अपराधीको जस्तो खानबस्ने समेत सुविधा नभएको कोठामा हुलका हुल मान्छेलाई थुनेकोछ ।
चिकित्सकलाई हातपात गरेकोछ, बिरामी भई औषधी लिन हिडेकाहरुलाई भाटा बर्षाएकोछ तर राहतको नाममा देउसीभैलो खेल्दै हिडेका कार्यकर्तालाई सलाम गरेकोछ । यस्तो लाग्छ यो कोरोना रुग्ण नियत भएका नेताहरुका लागि असार बनेर आएको छ, निस्फीक्री करप्सन गर्नलाई हातमुखमा खोकनाको तेल लाएर बसेकाछन् । सबैजना लकडाउनमा छन्, सबैलाई मृत्युको भयबारे जोडजोडले प्रचार गरिएकोछ । अहिलेसम्म भ्याक्सिन नभएको कोभिडको उपचारको हल्ला सरकारका प्रवक्ताहरु यसरी गरिरहेकाछन्, उनीहरुले टेकुमा रोगलाई ठीक पार्ने एन्टीडोप बनाइसके । मास्क लाउनेहरु सबै भ्रष्ट नै हुन् जस्तो प्रतित हुन थालेकोछ । राहतका नाममा हरेक निकाय र स्तर हैसियतअनुसार थोरै बितरणको तस्विर देखाएर ठूलो गास आफै खाइरहेका भेटिन्छन् ।
त्यसैले बाटोमा हिडेका बटुवाहरु भोकभोकै, कुनै डर नमानी के रात के दिन, के खोला नाला, के बर्षा घाम सबै सहेर घर पुग्नका लागि शिर निहुर्याएर हिडीरहेकाछन् । देशको सर्वोच्च न्यायायल घरतर्फ जानेहरुका लागि सरकारले आवश्यक सहयोग गरोस् भन्छ तर ओली महोदय बोली भन्छ, ‘खबरदार ! हिडेकाहरु जो जहाँ छन् तिनलाई त्यही रोक्नु !’ उनीहरुलाई खान बस्ने निहूमा फेरी खान पाइने आसमा टोलट्याक्स झैं स्वागतद्धारका भंगाला थापेर बसेकाछन् । धुन्दकारी कामचोर घुसखानेहरुले आउने दिनमा नराम्रो नियती भोग्नेछन् त्यो पक्का हो । कुनैबेला काठमाडौंका नेवारहरुको गुठी मास्न तम्सेका ओली जेनतेनले उम्किए, अहिले घरभाडा निःशुल्क भनिरहेकाछन् । तर सरकारमा रहेकाहरु आफ्नो बस्ने घर भएरपनि निर्लज्ज घरभाडा बुझिरहेकाछन् । पतित पावन बनेर लकडाउनमा बन्द सरकारी सवारीसाधनको नाममा तेलको पैसा असुलीरहेका छन् । बेनामे भत्ताको शिर्षक व्यापार अपरम्पार छ ।
वाहा बहुमतको सरकार तेरो क्या लीला छ, कलियुगीन अवतारमा पाषाण हृदय बोकेर यसरी जनतालाई किन शोसिरहेका ? ओलीले देश यसरी संचालन गर्ने अभ्यास गरिरहेकाछन् जसरी उनी आफ्नो निजी निवासमा अनन्य भक्त गोकुललाई शरण दिइरहेकाछन् । लगभग त्यही शैलीमा प्रहरी, सेना, निजामती मातहतका कर्मचारीलाई एकमुखे आदेश दिइरहेकाछन्, समिक्षा र सल्लाहा सुन्न सक्ने, छनोाट गर्नसक्ने समय र हैसियत रहेन अब । प्रजातन्त्रको नाममा प्रतिपक्षी बनेर बैकल्पीकरुपमा जनता ठग्ने दाउमा रहेका अन्य दलहरु पनि एक ढिक्का भएर ओली महात्म्यको गाथमा सेवा गरीरहेकाछन् । कुनैबेला संसारभरीका श्रमिकहरु एक हौं भनेर चंख ब्रहामण बिर्को खोल्ने कम्युनिष्टहरु यतिबेला तिनै श्रमिकलाई लात हानेर देशभित्र र बाहिर रोकिरहेकाछन् ।
भन्छन्, यो बेला भनेको उत्तेजनाको समय होइन् । संसारले आफ्ना मुलुकका नागरीकलाई फिर्ता लगीरहेकोछ, भुटानजस्तो भारतआश्रीत देशले त नेपालमा अड्कीएका एकजना व्यक्तिका लागि विमान पठाएर रेस्क्यू गर्यो भने हामी सार्वभौम सम्पन्न नेपाल भन्ने तर बिदेशी तथा स्वदेशी भूमीमा आफ्नो घर जान तम्तयार नागरीकलाई समुचित स्थानमा पुर्याउन के कति कारणले रोक्यो ? यो श्रमीकले बुझ्नुपर्छ, सरोकार राख्नेहरुले बुझ्नुपर्छ । नक्कली नेताहरु फेरी चुनावको निहूँ पारेर मजदुरको हकहित र रोजगारको कुरा गर्दै आउनेछन् त्यसबेला पटकेहरुलाई लकडाउन गरेर हिसाबकिताब माग्नुपर्ने हुन्छ । नेताहरुको विगतदेखी अहिलेसम्म आएको आर्थिक उन्नतीको स्पष्ट हिसाबकिताबको स्रोत खोज्नुपर्ने हुन्छ । उनीहरुका स्वदेश देखि बिदेशमा रहेको देशको रकमलाई पत्ता लगाइ उन्नतीमा लाउनुपर्नेछ । समय फेरिनेछ, सरकार सर बनेर जनतालाई निरीह नोकरजस्तो बनाउने नियती अन्त्य हुनुपर्छ ।
मृग मारौं र मृगौला झिकौं
मृगले अनमोल कस्तुरी बोकेको हुन्छ भन्ने रसादी ब्याख्या सुनेर धूर्त केलावाला साइकल फाँलेर मृगको खोजमा निस्कन्छ उसलाई के थाहा, कस्तुरी कस्तो हुन्छ, त्यो नाभी हो वा मृगौला, मुटु हो वा कलेजो । तर कर्णप्रिय मृग भित्र लुकेको सुगन्धको लालसाले केलावाला आफ्नो पैत्रिक केराको व्यवसायलाई तिलाञ्जली दिएर मृगको शिकारमा निस्केको थियो । कैयौ दिनको तपस्यापछि मृग त फेला पार्यो तर खास काम लाग्ने चिज के हो त्यो थाहा पाउन नसकेर थला पर्यो । कथा भन्छ, केलावालले न सुगन्धित तत्व फेला पार्यो न घर फर्कन सक्यो । उसको नियती शिकार गरेको मृगसगैं साकार भएर सकियो । कोरोनाको प्रकृती र व्याख्यालाई लिएर सरकारको चुरीफुरी हेर्दा यस्तै लाग्छ ।
प्रहरीले समाउने बडेमानका सनासो, पञ्चायतकालिन् प्रहार बिर्साउने बादलमय लाठीको निर्मम असिना प्रहार, अत्यावश्यक पेशाकर्मीहरुले पाएको प्रताडना आदी आदी बिषय उपर ध्यान दिदा कोरोना कारण बनेर अर्कै दिशातर्फ उन्मुख भइरहेको देखाउँछ । देशमा यस्तो स्थिति पनि नआवोस् जसको अन्दाजा र अनुमानभन्दा कैयौ गुणा मूल्य हामीले चुकाउनु परोस् । समस्या टाउकोमा हो भने उपचार त्यही गरौं, नाभीमा होइन। यो समय प्रतिशोध साँधेर विपरीत खेमालाई सकाउने अनि बोराकाबोरा घुस खाने होइन । मानवीय समवेदनालाई बुझेर समस्यामा परेकाको पीडामा मल्हम लाउने हो । हुनेले नहुनेलाई सहायता गर्ने हो न कि हुनेले नहुनेका नाममा आएको सामाग्री अपचलन गर्ने भनेको होइन । स्थिती यही रहीरह्यो भने जजसले झोला भरेका छन् तीनका अनाथ झोला रुग्नेहरु पनि बाँकी रहेनछैनन् र प्रकृतीगत नियती यिनीहरुले पनि अवश्य भोग्नुपर्नेछ ।
विश्वका कुनैपनि सरकारसँग कोभिड उपचारको औषधी छैन, छ त केवल देशभित्रका नागरिकको आपसी सद्भावना, आत्मीयता र सरकार जनताको साथमा छ भन्ने अनुभूति तर ओली सरकारको करामत, जादुमयी अनियमितता, उनको बोली र एकलकाटे स्वभाव हेर्दा राम राम मात्र भन्न सकिन्छ । वा पूर्वज राजाको उधारो उक्तीलाई नगदमा किन्न सकिन्छ, ‘भगवान् श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् !’
(व्यंग्य)
टिप्पणीहरू