आरडीटीमा पोजिटिभ देखिएका सय स्वाबको नतिजा आज आउँदै

आरडीटीमा पोजिटिभ देखिएका सय स्वाबको नतिजा आज आउँदै

कोरोनाको र्‍यापिड टेष्टका क्रममा पोजेटिभ देखिएका करिव सय स्वाबको नतिजा आज आउने भएको छ । ती स्वाब नेपाली सेनाको हेलिकोप्टरले हिजो सोमबार उदयपुरस्थित त्रियुगा- ३ भुल्केबाट काठमाडौं ल्याएको हो ।

हिजो बेलुकी ५ बजे ती स्वाब टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरमा परीक्षणका लागि पठाइएको र आज अपराह्न त्यसको नतिजा आउनसक्ने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । हिजो संकलित स्वाब यसअघि त्रियुगास्थित एकै मस्जिदमा फेला परेका १३ संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेका मानिसहरुको हो ।

अमेरिकी विमान आउँदै

काठमाडौंस्थित अमेरिकी दूतावास तथा विभिन्न सन्दर्भमा काठमाडौंमै रहेका अमेरिकी नागरिकका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा बन्दोबस्तीका सामान लिएर अमेरिकी सेनाको विमान आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएको छ ।

उक्त जहाजमा केही अमेरिकी नागरिक स्वदेश फर्किने सम्भावना पनि रहेको नागरिक उड्डयन प्राधिकरणस्रोतले जनाएको छ । ‘अवतरण गर्ने अनुमति सोमबार नै मागिएको थियो’, स्रोतले भन्यो, ‘हामीले परराष्ट्र मन्त्रालयसँग सोधेर आजका लागि अवतरण अनुमति दिएका हौं ।’

रसियनमा १ सय १०

सोमबार रसियन एयरलाइन्सको आरएल ९००४ कलसाइनको वाइडबडी जहाजमा नेपालमा रहेका १ सय १० विदेशी स्वदेश फर्किए । उक्त जहाजमा १ सय ३ जना रसियन नागरिक, २ जना बेलारुस, ४ युक्रेन र एकजना कजाकस्तानका नागरिक फर्किएका हुन् ।

मन्त्री धावनमार्गमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नतिको काम धमाधम चलिरहेको छ । सोमबार एक हेलिकप्टर र एक वाइडबडी जहाज अपरेशनको समाप्तिसँगै पर्यटनमन्त्री योगेश भट्टराई धावनमार्ग स्तरोन्नतिको अवलोकन गर्न पुगेका थिए । उनले त्यहाँ भइरहेको कामको करिव एक घण्टा स्थलगत अवलोकन गरेका हुन् ।

टिप्पणीहरू