‘महाभारतको सूर्यग्रहण’ पो हो कि अध्यादेश !
सरकारले सोमबार अपरान्ह चक्रबातको गतिमा निर्णय गर्यो । साँझ राष्ट्रपतिबाट पनि फटाफट जारी भयो राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश । त्यसपछि सबैजसो दलमा ठूलै राजनीतिक भुईंचालो गयो । संसदमा रहेका सबै विपक्षी दलले अध्यादेशको बिरोध गर्नु त्यत्ति अचम्म थिएन । तर, त्यो भन्दाबढी सत्तारुढ दलभित्रै गरमागरमको अवस्था देखियो ।
दुई घण्टाको छोटो सूचनामा सचिवालयको आकस्मिक बैठक बोलाइयो । अर्का अध्यक्ष प्रचण्डले पूर्व माओवादी नेताहरूलाई तम्तयारी अवस्थामा राजधानीमै बस्न निर्देशन दिए । नेताहरू मुखमा मास्क लाए पनि निकै फूर्तिलो र रन्केको भावमा बालुवाटार प्रवेश गरे । सचिवालय बैठकपछि साँझ आठ बजेतिर अस्वस्थ प्रधानमन्त्री समेत उच्चस्वास्थ्य सतर्कता अपनाउँदै पछिल्लो राजनीतिक घटनाक्रमको बेलिबिस्तार लाउन शीतल निवास छिरे । त्यसपछि के रह्यो र, सबै घर घरबाटै राजनीतिक जोड घटाउमा व्यस्त हुन थाले । लकडाउनमा रहेका सबैजसो नेता तथा कार्यकर्ताले अब के हुन्छ ? भन्दै सोधखोज गर्न थाले । सबैभन्दा धेरै सोधखोज गर्दै नेकपाका नेता तथा कार्यकर्ताले फोन थिचे ।
नेकपाका दुईजना अध्यक्षबीच केहि महिनादेखि नै अविश्वास र मनमुटाव बढ्दै गएको समाचार आइरहेको थियो । विभिन्न घटनाक्रमले पनि त्यसलाई पुष्टि गरेकै हो । सभामुख महरा र मन्त्री बाँस्कोटा काण्डदेखि सभामुखमा अग्नी सापकोटाको चयनले पार्टीको आन्तरिक माहौललाई गिजोलिसकेको थियो । चीनबाट राजदूतलाई एकाएक फिर्ता गर्नेदेखि वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने सचिवालयको औपचारिक निर्णयलाई बेवारिसे बनाउँदै लगिएको तर अर्थमन्त्रीको २४ घण्टामा भएको ठाडो नियुक्तीले पार्टीभित्र कायम रहेको कित्ताकाटलाई मलजल पुर्याएको थियो । महामारीको अवस्थामा पनि एकाएक पार्टी फुटाउन सहज हुनेगरी ल्याइएको अध्यादेशले नेकपाका समर्थक र शुभेच्छुकहरूलाई धेरै पिरोल्यो । तर, त्यस्तो भएमा आफूहरूले बाक्लो दाल खान पाउने आशमा बसेकाहरूले भने, घटनालाई बढाई चढाई गरेर भुईंमा मट्टितेल खन्याए झैं फैलाइदिए ।
जयद्रथलाई मार्नुअघि नक्कली साँझ पार्नको लागि भगवान कृष्णले दिउँसोको समयमा चक्रलाई सूर्य नजिक लगेर पृथ्वीमा अँध्यारो बनाइदिन्छन् । त्यसपछि जयद्रथलाई मारिन्छ ।
राजनीति भनेको सम्भावनाको खेल हो । तर, यतिखेर ल्याइएको अध्यादेश २ नं प्रदेशमा वषौंदेखि पाकेको खिचडी पस्कनको लागि हो भन्ने रहस्य छिट्टै खुल्ने बताउन थालिएको छ । गणितीय हिसाबले नेकपालगायतका विपक्षीहरूको बहुमत हुँदाहुँदै त्यहाँ प्राविधिक हिसाबले अर्कैले राजनीतिक मस्ति मारिहेको छ । संघीय संसदमा रहेका धेरैजसो विपक्षी दलभित्रको आन्तरिक खिचलो पनि उत्कर्षमा पुगेको छ । ती सबैलाई आवश्यकता परेको बेलामा खेलो फड्को मार्न राजनीतिक दलसम्बन्धी ऐनमा रहेको ४० प्रतिशतको दोहोरो मापदण्डले असर पारेको थियो । त्यसैलाई सहजीकरण हुनेगरी तत्कालको गर्जो टार्न सरकारले अध्यादेश ल्याएको बताउन थालिएको छ । आवश्यकता महशुस हुनेहरूको गर्जो टरेपछि सम्भवतः सरकारले अध्यादेशलाई संसदको आगामी अधिवेशनमा नै प्रस्तुत नगर्न पनि सक्छ । त्यसपछि ‘न रहे बाँस, न बजाए बाँसुरी’ हुने प्रवल सम्भावना देखिन्छ ।
पछिल्लो अध्यादेशको आवश्यकता र औचित्यलाई धेरैले महाभारत युद्धको एउटा प्रसंगसँग पनि जोडेका छन् । जसमा जयद्रथलाई मार्नुअघि नक्कली साँझ पार्नको लागि भगवान कृष्णले दिउँसोको समयमा चक्रलाई सूर्य नजिक लगेर पृथ्वीमा अँध्यारो बनाइदिन्छन् । त्यसपछि जयद्रथलाई मारिन्छ । फेरि कृष्णले चक्र हटाएपछि पृथ्वीमा उज्यालो हुन्छ । अहिले सरकारले ल्याएको अध्यादेशले इच्छुकहरूलाई एकाध हप्ताभित्र आफ्नो दललाई टुक्रयाएर निर्वाचन आयोगमा दर्ता गर्ने मौका दिएको छ । त्यो केही समयभित्र हुनेछ । अर्को अध्यादेशबमोजिम सरकारले पनि संवैधानिक अंगहरूमा फटाफट नियुक्ती गरिहाल्नेछ । त्यसपछि दुबै अध्यादेशको औचित्य सकिन्छ। र, सरकारले सम्भवतः अध्यादेशलाई संसदमा पेश नै गर्दैन । त्यसपछि हिजोको ऐन र कानुनी व्यवस्था जस्ताको तस्तै हुनेछ । अनि भएन त महाभारतको सूर्यग्रहण ?
टिप्पणीहरू