यौनकर्मीलाई पनि कोरोना राहत

यौनकर्मीलाई पनि कोरोना राहत

हामीकहाँ सरकारले लकडाउनको एक महिना बित्दा पनि हातमुख जोर्न धौ धौ परेकालाई समेत राहत दिन सकेको छैन । अधिकांश तेस्रो विश्वका सीमित स्रोत र साधन भएका मुलुकको समस्या यतिखेर हाम्रै जस्तो छ । तर, जापानले भने सहयोग आवश्यकता देखिएका आफ्ना सबै तह र तप्काका नागरिकलाई राहत उपलब्ध गराएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएपछि राजधानी टोकियोलगायतका सहरका रेड लाइट एरिया यतिखेर सुनसान छन् । कोरोनाको संक्रमणबाट जोगिन मानिस घरमै बस्न थालेका छन् । काम विशेषले बाहिर निस्केपनि कायम गरिएको कडा सामाजिक दूरीले यौनकर्मी र ग्राहकको दूरीलाई समेत बढाइदिएको छ । अहिले जापानको रेडलाइट एरियाका यौनघरहरूमा अन्य व्यापार व्यवसायमाझैं सन्नाटा छाएको छ । कोरोनाको कारण देहव्यापार सुकेको गुनासो बढेपछि इजाजतपत्रप्राप्त यौनकर्मीहरूलाई सरकारले राहत रकम उपलब्ध गराएको छ ।

विशेषगरी टोकियोको रेड लाईट एरियामा तीन महिनाअघिदेखि ग्राहकको उपस्थिति पातलिन थालेको हो । ग्राहक आउन छाडेपछि इजाजतपत्रप्राप्त यौनकमीहरूको आम्दानी अन्य व्यवसायी र रोजगारको झैं चौपट बन्दै गएको छ । तर, सरकारले दिएको राहत रकमले आफ्नो घरखर्च चलाउनै मुश्किल भएको मिका नामकी यौनकर्मी बताउँछिन् । उनी भन्छिन्– ‘हिजोका दिनमा दैनिक तीनदेखि चारजना ग्राहकबाट प्राप्त हुने आम्दानीको तुलनामा सरकारी राहत रकम न्यून छ । यसले मेरो र परिवारको दैनिकी नै चल्दैन । यतिखेर अरु व्यवसाय अनलाइनबाट पनि गज्जबले चलेका छन् । तर, हाम्रो व्यवसायमा अनलाइनको कुनै गुञ्जायस छैन । हाम्रो व्यवसाय फस्टाउन ग्राहक र बिक्रेता दुबै ‘अनलाइभ’ हुनुपर्दछ ।’ तर कोरोनाबाट बच्न अहिले विश्वले नै सामाजिक दूरीलाई अचुक अस्त्रको रूपमा अंगालेको छ ।

जापानमा झण्डै तीन लाख इजाजतपत्रप्राप्त यौनकर्मी छन् । एक अध्ययनअनुसार जापानको यौनबजारमा वार्षिक २४ अर्ब अमेरिकी डलर बराबरको ब्यापार हुने गर्दछ । सरकारले उपलब्ध गराएको राहत प्याकेजमा कोरोनाको कारण आम्दानी गुमाएका इजाजतपत्रप्राप्त यौनकर्मीहरूमध्ये व्यक्तिगततर्फ ९ सय २८ अमेरिकी डलर र पारिवारिकतर्फ २ हजार ७ सय ८५ अमेरिकी डलर रहेको छ ।

टिप्पणीहरू