जर्नेलमाथि जङ्गी अड्डा जङ्गिदै

जर्नेलमाथि जङ्गी अड्डा जङ्गिदै

आन्तरिक कारवाहीले मात्रै नपुग्ने भन्दै अनियमिततामा संलग्न जर्नेल, कर्णेललाई जेल पठाउने गरी जंगी अड्डा तात्तिएको छ ।

पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र हुँदै छाउनीस्थित सैनिक अस्पतालसम्मको कमाण्डेन्ट सम्हालेका प्रयोगजंग राणाको हकमा सैन्य नेतृत्व यसरी तात्तिएको हो । जहाँ–जहाँ गयो, त्यहीँ–त्यहीँ आर्थिक घोटालाको श्रृंखला चलाएको आरोपअन्तर्गत उनीमाथि कोर्ट अफ इन्क्वायरी चलिरहेको थियो । अब त्यो क्रम सकियो । सैनिक नियमअनुसार अब कोर्ट अफ मार्सलको चरण शुरु भएको छ । त्यो भनेको सेनाको आन्तरिक कारवाही प्रक्रिया हो । तर, त्यतिले मात्र उनका अनियमितताको सजाय नपुग्ने भन्दै उनीसहितका अरु तीन उच्चअधिकृतमाथि कठोर कारवाहीको डण्डा बर्सिने सम्भावना छ ।

प्रयोगसँगै कर्णेल नवीन सिलवाल पनि घोटाला प्रकरणमा मुछिएका छन् । उनी पनि काभ्रेको पाँचखालस्थित तालिम केन्द्रमा थिए । अहिले उनलाई त्यहाँबाट तानेर अर्का कर्णेल मनोज बैदवार पुगेका छन् । वार कलेजका लागि छनौट हुनुपर्ने समय भएका नवीनलाई घोटाला काण्ड लाग्नाले त्यो अवसर छुटिसकेको छ ।

यो काण्डमा मुख्य अभियोगी प्रयोगजंग राणा अहिले सामान्य कारवाहीबाट छुटकारा पाउने दौडधुपमा छन् र राजीनामा दिएर पन्छिने मनस्थितिमा पनि छन् । तर, जंगी अड्डा चाहन्छ, कोर्ट मार्सलको प्रक्रियासँगै एक करोडसम्म तिराउन सकियोस् ।

त्यस्तै, हायर कमाण्डको नीतिसम्बन्धमा आफूखुशी गरेको कारण इञ्जिनियरिङतिरका महासेनानी अनिल खड्का र एकतारे जर्नेल सुशील रावल पनि कोर्ट अफ इन्क्वायरीमा परेका छन्  । उनीहरु पहिला डिएमओ (सैनिक अपरेसन) मा हावी हुँदा आफैँले आफ्नालागि अनुकूल हुने गरी नियमावली संशोधन गराई नेशनल डिफेन्स कोर्षका लागि विदेश छिरेको बताइन्छ । तर, यता जंगी अड्डाले उनीहरुका कर्तुतलाई क्षमा दिएन । दुईमध्ये सुशीलसँग भिडियो कन्फरेन्सबाट बयान लिइएको छ । अनिलको भने बयान बाँकी नै छ ।

अनिल पूर्वीपृतनामा छन् । नवीन इञ्जिनियरिङ वाहिनीको सहायक वाहिनीपति थिए । अहिले कारवाहीस्वरुप पोखरा पठाइएका छन् ।

 

टिप्पणीहरू