काठमाडौं र देश छाड्नेको संख्या कति ?

काठमाडौं र देश छाड्नेको संख्या कति ?

५० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा यस्तो संकटमा १८ देखि २० लाख जनता आ-आफ्नो थातथलो फर्कन्छन् भने उपत्यकाको वास्तविक जनशक्ति कति हो ?

समय संकटको छ, यसकारण सबै कुराको दुरुस्त लेखाजोखा नहोला । तर,लेखाजोखा राख्नुपर्ने बेला भने यही हो । देशका विभिन्न भागबाट आएर संघीय राजधानीमा बसोबास गर्दै रहेका कति नागरिक कोरोना संक्रमणका कारण  अहिले आ-आफ्नो थातथलो गए ? भारतीय नाका वारी र पारीको हिसाब के हो ? अहिले अभिलेख राखिएन भने यस्तो मौका मुलुकले फेरि-फेरि पाउला/नपाउला ।

देशव्यापी लकडाउनको घोषणापछि काठमाडौंबाट दशै, तिहार बिर्साउने गरी मानिसहरु बाहिरिए । सरकारले कठोरतासाथ लकडाउनको नीति अख्तियार गर्दा पनि आम नागरिक पैदलमार्गबाटै राजधानी छोड्न आतुर रहे । यो स्थितिबीच सरकारले दुई दिनका लागि उपत्यका छोड्ने व्यवस्था मिलाउँदै थियो,तर कुरा वीचैमा फेरियो ।

कम्युनिष्ट सरकार भएको बेला आधारभूत वर्गका श्रमिक जनतालाई भोकै र प्यासै काठमाडौंमै अड्काउने वा पैदल घर फर्काउने कुरा व्यवहारिक थिएन । यसर्थ, अघोषित रुपमा निम्न आयस्तरका जनता आ-आफ्नो थातथलो फर्किने क्रम शुरु भयो । पछिल्लो समयमा सरकारले अख्तियार गरेको नीति छ, पैदल हिंडेर घर जान लागेका नागरिकलाई जहाँ भेटिन्छ, त्यहीँ रोक्ने र निश्चित संख्यामा भेला गरेर बस,ट्रकमा पठाउने ।

अहिले मूलधारका राजनीतिक शक्ति त सरकारी प्रबन्धविरुद्ध छैनन् । तर, विप्लव नेकपा र ज्ञानेन्द्र शाहीजस्ता पक्षहरू यही मेसोमा अतिरन्जित तवरले पेश हुने खतरा बढेको भन्दै सरकारले ती पक्षमाथि नियन्त्रण र निगरानीको नीति लिएको छ ।

सरकार वा अधिकारप्राप्त निकायको निर्देशनबिना नै देशका विभिन्न भाग जान चाहने जनतालाई गन्तव्यसम्म पुर्याउने क्रम शुरु भएको छ । सुरक्षा निकायलाई भनिएको छ, अवरोध नगर्ने, सहयोग गरेजस्तो पनि नगर्ने । यस्तो कारणले उपत्यकाबाट बाहिरिने मानिसको अभिलेख राख्न सुरक्षा निकायलाई समस्या छ । अस्ति मङ्गलबार राती मात्रै ३ सय वटा बस र ट्रकमा १५ हजार जनता घरतिर लागेको रेकर्ड छ,यो क्रम हिजो पनि जारी थियो !  वैशाख लागेयता करिव तीन लाख जनताले काठमाडौं छाडेका छन् । त्यसअघि १५ लाखले छाडे । यो मोटामोटी हिसाब हो ।

५० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा यस्तो संकटमा १८ देखि २० लाख जनता आ-आफ्नो थातथलो फर्कन्छन् भने उपत्यकाको वास्तविक जनशक्ति कति हो ? कतिपयले पुर्ख्यौली थलो पूर्णतः छाडेका कारण वा संकटमा पनि काठमाडौंमै रहेको स्थिति हो भने त्यो जनशक्तिलाई १० लाख मान्न सकिन्छ । यसरी पनि ५० मा २८ लाखलाई अलग राख्दा जम्मा २२ लाख हुन्छ, काठमाडौंको जनसंख्या ।

के अहिले काठमाडौं उपत्यकाभित्र ५० लाखमा ३२ लाख जनतामात्र छन् त ? बोर्डर नियमन गर्दा कति नेपाली भारत जान्छन् वा नेपालमा कति बिदेशी बस्ने गरेका छन् थाहा लाग्छ ! यस्ता अभिलेख अहिले नराखिए मौका फेरि-फेरि आउँदैन ।

टिप्पणीहरू