एक घण्टा भनेका माननीयको छ घण्टा चैट

एक घण्टा भनेका माननीयको छ घण्टा चैट

समय : बुधबार दिउँसो १ बजे ।

स्थान : प्रधानमन्त्री निवास, बालुवाटार ।

बाहिर लकडाउनको कारण सन्नाटा । भित्रै भए पनि कोरोना प्रकोपबाट जोगिन सामाजिक दूरीसँगै मुखमा मास्क लगाएकाले स्वतन्त्र ढंगले आपसमा गफगाफ गर्न नसकिने वातावरण । पछिल्लो राजनीतिक घटनाक्रम र अध्यादेशबारे सरकारको धारणा सुनाउन बागमती प्रदेशबाट बोलाइएका नेकपाका सांसदहरु कम्पाउण्डभरि यत्रतत्र । एक घण्टाको लागि भनेर पुगेका सांसदहरु छ घण्टा अलपत्र  ।

सांसदहरुसङ्ग दोस्रो टोलीको भेटमा प्रधानमन्त्रीले झण्डै साँढे दुईघण्टा एकोहोरो आफ्ना कुरा राखे । हुन त विषयवस्तु पटक पटक नदोहोर्याएको भए सम्भवतः पैँतालिस मिनेटमा कुरो सकिन्थ्यो । तर,अध्यादेशको पृष्ठभूमि र आगामी परिदृश्य भन्दापनि प्रधानमन्त्रीले विगतकै रेल, पानी जहाज, सुरुङ्गमार्गको कुरा गरे । यति धेरै काम गर्दा पनि कसैले राम्रो गरिस् भनी प्रशंसा नगरिदिएको गुनासो पोखे ! दोस्रो टोलीलाई दिउँसो एक बजेको लागि बोलाइए पनि त्यसअघि बोलाइएको प्रदेश नम्बर ७ का सांसदहरुसँगको भेट दुई बजेमात्र सकियो । त्यसपछि प्रधानमन्त्री ‘लन्च’ को लागि निवासतर्फ लागे । लन्चपछि सम्बोधन शुरु हुने आशमा रहेकाहरुलाई साइप्रसका राष्ट्रपतिसँग टेलिफोन वार्ताको पूर्वनिर्धारित समय रहेको जनाउ दिइयो ।

यसरी बैठक तोकिएको समय नै एकघण्टा धकेलियो । त्यसपछिको एकघण्टा लन्चमा बित्यो । अर्को एकघण्टा टेलिफोनमा । भेटघाट शुरु भएपछि साँढे दुईघण्टा अविरल, अथक प्रवचन । अनि सामाजिक दूरी कायम राख्दै औपचारिक बिदाई । हलबाट निस्कँदा ठ्याक्कै छ घण्टा खत्तम । न अध्यादेश ल्याउनु पर्नाको औचित्यवारे खुलासा, न दोहोरो सवाल जवाफ, न सुझाव, न दङ्गदास हुनेखालको प्रभाव !

मधेसवादी दलहरु फुट्ने हैन जुट्ने वातावरणको सिर्जना, उल्टो साँसद अपहरणको आरोप, बिपक्षी दललाई मसला थप,आफ्नै पार्टीभित्र मनै भरङ्ग हुने तरङ्ग-कोरोनाको सन्त्रासवीच सल्लाह र सहमति बिना जङ्गलमा डढेलो लगाउने आगोको सानो झिल्कोरुपी एउटा अप्रत्यासित निर्णय !

टिप्पणीहरू