लकडाउनका दुई प्रहरी : बोली नमिलाउँदाको बर्बादी
पुलिसको सेट बिहानै कराउँछ, ‘ताँती कसेर मान्छेहरु यता–उता जालान् ! तिनीहरुलाई जहाँ भेटिन्छ, त्यहीँ रोक्नु !’
अनि, उही कन्ट्रोल रुमबाट दिन छिप्पिँदै गएपछि फेरि सेट कराउँछ, ‘गाडीले मान्छे हालेमा, जनप्रतिनिधि पनि साथमै छन् भने नदेखेजस्तो गर्नु…!’
उपत्यकास्थित प्रहरीका यी दुई परस्पर विरोधी आदेशको प्रत्यक्ष मारमा परेर लडकडाउनको पछिल्लो साता दुईजना पुलिस अफिसरले सम्हाली रहेको कमाण्डबाट तानिनु परेको छ ।
एकातिर, विहानको आदेशअनुसार गरिएको काम, बेलुकीको आदेशमा ठीक उल्टो हुँदा त्यस्तो भएको हो । उपत्यका प्रहरीको मेट्रो कन्ट्रोल भन्छ, ‘स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्नु ।’ एक कमाण्डरले भने जनप्रतिनिधिसँग समन्वय हैन, ‘थुन्दिउँला है, याद गर’ भनेपछि तानिनु परेको छ ।
बुधबार साँझ उपत्यका छाडेर दोलखा, ओखलढुंगातिर जाने मानिसको ताँती लाग्यो, कोटेश्वर, जडिबुटी क्षेत्रमा । यस्तो भिड कि, मानौं काठमाडौंमा लकडाउन नै छैन । मनहराको पुलपारि गाडी चढ्ने विषयमा केही मान्छेबीच भनाभन चल्यो । कसैले मेट्रो कन्ट्रोलको सय नम्बरमा फोन गरिदियो । अनि, कन्ट्रोल करायो, ‘अस्कर वन, कोटेश्वर, जडिबुटीमा थप मद्दत चाहियो भन्ने कुरा आ’छ सर ।’
‘अस्कर वन’, अर्थात्, नगर प्रहरीका डिएसपी पवन भट्टराई लकडाउन ड्युटीकै क्रममा १० किलोमीटरको दुरीमा थिए । उनी सेटमा कराउन थाले, ‘होटल टु थ्री, अस्कर वन…।’
‘होटल टु थ्री’, अर्थात् कोटेश्वरकी इन्स्पेक्टर सुभद्रा वाइवाले उपस्थिति जनाइन्, ‘रोजर सर’ भन्दै । डिएसपी पवनको आदेश थियो, ‘जडिबुटी, मनहरा पुल पारि थप मद्दत चाहिने भयो । म आउँदैछु, तपाईं पुगिहाल्नुस् त…।’
तर, सुभद्राले आनाकानी गरिन् । ‘त्यो त भक्तपुरको एरिया हो सर, भक्तपुरलाई भन्नुस्, आएन भने म जाउँला…!’
अनि, शुरु भयो काण्ड । भक्तपुरको पनि ठिमी बृत्तले हेर्ने हो, मनहरापारिको एरिया । तर, त्यसबेला नयाँ ठिमी चोकबाट गाडी चढेर उपत्यका छाड्ने मान्छेहरुको अर्को बबाल चलिरहेको थियो । ठिमी त्यहाँ व्यस्त थियो ।
‘यस्तो बेला यसको एरिया, त्यसको एरिया भनेर कराउने हैन, खुरुक्क जाने’ भन्दै ठूलै हाकिम कराउन थाले ।
‘हस्, हस्– भक्तपुर आएन भने मैँ जाउँला…’, इन्स्पेक्टर सुभद्राले अलिक रुखो शैलीमा बोलिन् ।
यसरी सेटमा हाकिमसँग राम्रो नबोलेकै कारण भोलिपल्टै उनी त्यहाँबाट तानिइन् । त्यहाँचाहिँ टेकुस्थित प्रहरी परिसरबाट इन्स्पेक्टर राजन लामा हाजिर भएका छन् ।
बिदाईबिनै बाई–बाई
जनप्रतिनिधिसँग समन्वय गर्नुको सट्टा मुखमुखै लागेका कारण कपनस्थित प्रहरी प्रभागकी इन्स्पेक्टर सुरक्षा केसी त्यहाँबाट हटाइएकी छन् । उनले आफू त्यहाँबाट हट्नुको कारण बालुवा तस्करको चलखेल भन्ने गरेकी छन् । तर, वास्तविकता हो कि, प्रदेशसभा सदस्यसहितका जनप्रतिनिधिहरुलाई ‘थुनिदिन्छु’ भन्दै पब्लिककै अगाडि कराउनु ।
स्थानीय जनप्रतिनिधिहरु लकडाउनको अवधीमा घरमै बस्न आह्वान गर्दै माइकिङ गर्दै थिए । काठमाडौं क्षेत्र नं. ४ को प्रदेशसभा २ का सांसद कुसुमकुमार कार्की, बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई र १२ का शम्भु भट्टराईहरु विहानको समयमा माइकिङ सिध्याएर राहत वितरणको तयारी गर्न कपन, ह्याण्डबल ग्राउण्डमा भेला भएका थिए ।
त्यही बेला साइरन बजाउँदै इन्स्पेक्टर केसी त्यहाँ पुगिन् । गाडीबाटै कराइन्, ‘क्या हो यो तरिका ? यो के गरेको ?’ एकजनाले परैबाट जवाफ दिए, माइकिङ सिध्यायौँ, अब प्रदेशको मान्यज्यूसहित राहत वितरण गर्ने भनेर हिँड्न लाग्या…।’
सुरक्षाले कुरा पत्याइनन् र भनिन्, ‘हावा कुरा गर्ने ? लगेर थुन्दिऊँ…।’
कुरा यत्ति हो । तर, यही कुरा गम्भीर भयो । वरिपरि सर्वसाधारण पनि थिए । राम्रै मुखले जनप्रतिनिधिसँग कुरा गरेको भए पनि हुन्थ्यो । तर, आममानिसलाई भनेजस्तो कुरा जनप्रतिनिधिसँग गरेपछि तत्कालै कुरा पुग्यो, आइजिपी ठाकुर ज्ञवालीकहाँ । यो कुराको छानवीन गर्न हेडक्वार्टरबाट आदेश गयो, महानगरीय प्रहरी, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीलाई । उनले तीन–चार दिन लगाएर छानवीन गरे । यसपछि पत्ता लाग्यो, अरु काममा कैफियत भेटिएन, जनप्रतिनिधिको हकमा संघीय सांसद, प्रदेश सांसद, मेयरदेखि भएभरका वडाध्यक्षसँग उनले शत्रुतापूर्ण व्यवहार गर्र्ने गरेको कुरा ।
र, विशेष कार्यदलमा कार्यरत इन्स्पेक्टर शेखरजंग मल्ललाई कपनमा खटाइयो, सुरक्षा महाराजगञ्जस्थित तालिम केन्द्र पठाइन् ।
त्यहाँबाट हिँड्ने बेलामा सुरक्षालाई अरु त अरु, अफिसकै स्टाफले समेत एउटा फूल दिएर बिदाई गर्न चाहेनन् । कारण हो, आफूभन्दा तल्लो दर्जाका अधिकांश प्रहरीलाई नसिहत दिनु । जनप्रतिनिधिसँग त कुस्ताकुस्ती नै खेलौँलाझैँ उनको व्यवहार छँदै थियो । त्यहाँ खटाइएका इन्स्पेक्टर मल्ल हाजिर हुन केही दिन लाग्ने भन्दै थिए । तर, सुरक्षा सुटुक्क बौद्धस्थित प्रहरी बृत्त गइन्, रवाना बुझिन् र बाटो लागिन् ।
टिप्पणीहरू