बेमौसमी बाजा बजाउनेहरुको बिजोग

बेमौसमी बाजा बजाउनेहरुको बिजोग

राजनीतिमा चलेको क्षणिक दुषित हावालाई पछ्याउँदै जाँदा त्यत्तिको त्यागी र राम्रा नेताको छवि पछिल्लो एक दशकमा कहाँ पुग्यो ?

अध्यादेश प्रकरणले राजनीतिलाई सम्भावना र कमाउने खेल भन्दै विगतमा बेमौसमी बाजा बजाउनेहरुको हालत बुझ्न बाध्य बनाएको छ ।

सरकारले जतिसुकै सकारात्मक उद्देश्यले ल्याएको भनिए पनि सोमबार जारी अध्यादेश गुठी बिधेयककै हालतमा अन्ततः फिर्ता भएको छ । तर,यसले नेकपा,उसको उग्र बहुमतको सरकार र स्वयँ प्रधानमन्त्रीमाथि बैमौसमी बाजा बजाउने ‘संगीतज्ञ’ को नराम्रो दाग लागेको छ । सरकारको लहडबाजीमा ल्याइएर लाचार हुँदै फिर्ता लिइएको अध्यादेशले भावी राजनीतिमा नेकपालाई कति असर पार्छ त्यो हेर्न बाँकी नै छ । तर, विगतका यस्तै सन्की र अविवेकीपूर्ण निर्णय गर्ने विभिन्न दलका नेता तथा गुटले अहिले व्यहोरिरहेको परिणाम हेरौं ।

४० प्रतिशतको बलमा तत्कालीन एमालेलाई फुटाएर (०५४ साल) माले बनाउने निर्णय गर्दा वामदेव गौतमको हैसियत संसदभित्र शून्यमा सीमित भएको थियो । त्यसको मार अहिले पनि गौतमले पार्टीभित्रको निर्णयमा बेलाबखत भोग्दै आएका छन् । पछिल्लो समय एमालेलाई धारे हात लाएर जानेहरुको हालत पनि हेर्नलायक देखिन्छ । अशोक राई,जो लगभग दोस्रो राष्ट्रपति बनिसकेका थिए । तर,आफ्नै निर्णयका कारण  अहिले राजनीतिक परिदृष्यमा कहाँ पुगे ? त्यसैगरी ऋषि कट्टेल, सिपी मैनाली र राजेन्द्र श्रेष्ठ पनि त्यहि हालत व्यहोरिहेका छन् ।

काँग्रेसमा शेरबहादुर देउवाले एकैचोटी ठूलो भाग खान दल फुटाए । अहिले पार्टी सभापति भएपनि विगतमा उनको हालत के भयो सबैले देखेकै हो । त्यसैका कारण अहिलेसम्म पनि काँग्रेसले विभाजनको मार खेपिरहेको छ । उता,तत्कालीन काँग्रेसभित्र विपक्षीले समेत सम्मान गर्ने थोरै नेतामध्येका थिए,महन्थ ठाकुर । तर, राजनीतिमा चलेको क्षणिक दुषित हावालाई पछ्याउँदै जाँदा त्यत्तिको त्यागी र राम्रा नेताको छवि पछिल्लो एक दशकमा कहाँ पुग्यो ? त्यहि पार्टीभित्र जगजगी गरेर बसेका विजय गच्छदारले पनि ठूलो भाग खान काँग्रेसलाई गाली गरेर निस्केका थिए । केही वर्ष फरक किसिमको मस्ती त गरे होलान्, तर अहिले काँग्रेसभित्र रुझेको बिरोलोको हैसियतमा भित्रिएका छन् ।

उता, प्रचण्डको नेतृत्वमा रहेको माओवादी पार्टीलाई धारे हात लगाउँदै निस्किएका धारिला कमरेडहरु कालान्तरमा कसरी बोदो बने,त्यो पनि देखिएकै छ । विप्लव यतिखेर कहाँ छन्,वैद्य समूह पनि बागमती पारी कुपण्डोल छेउको एउटा घरमा सीमित बनेको छ । लामो समयसम्म प्रचण्डपछिको गर्विलो स्थान जमाएर बसेका बाबुराम भट्टराई यतिखेर मधेशवादी दलका नेताको घरमा हुने भेला र बैठकमा सीमित छन् । विगतमा अत्यधिक मतले जितेको आफ्नै जिल्लामा पछिल्लो पटकको चुनावमा उनले काँगे्रसको बैशाखी भिर्न पर्यो । त्यसैगरी,गोपाल किराँती जो उपराष्ट्रपतिको दाबेदार थिए,अहिले हावा खाएर बसेका छन्,। बादल,मातृका पछि मूलघरमा फर्किएकै हुन् !

पटक पटक फुटेको राप्रपाका नेताले एकाध पटक प्रधानमन्त्री त पाए तर,पार्टी र अन्य नेता तथा कार्यकर्ता भने क्रमशः रसातलतिर पुगे । हुन पनि विभिन्न समूहगरी अघिल्लो संसदमा ३६ सिट जितेर रजगज गरेको राप्रपा यतिखेर एक सिटमा सीमित छ ।

टिप्पणीहरू