खाँडादेवीका किसानलाई मकै छोडाउने मेशिन सित्तैमा
रामेछापको खाँडादेवी गाँउपालिकामा हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ राकाथुमका किसानलाई हिजो ट्याक्टर वितरण गरिएको हो ।
पालिकाको ५० प्रतिशत अनुदानमा किसानलाई कृषि उपकरण प्रदान गरिएको उपाध्यक्ष रमा घिसिङले जानकारी दिइन् । उनका अनुसार राकाथुमलाई पालिकाले पहिला नै मकै पकेट क्षेत्रको रुपमा घोषणा गरिसकेकाले त्यहाँका किसानलाई हाते ट्याक्टरलगायत अन्य कृषि उपकरण वितरण गरिएको हो ।
कृषि सामग्री वितरणले थोरै अन्न पिस्न दिनभर घट्टा धाउनुपर्ने र उत्पादित कृषि सामग्री बिक्री गर्न परेमा तौलको निम्ति पसलमा जानुपर्ने बाध्यता अन्त्य भएको उपाध्यक्ष घिसिङको भनाइ छ ।
राकाथुमलाई मकै पकेट क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले किसानको मागका आधारमा गाउँपालिकाले ८० हजार रुपैयाँ पर्ने मिनी ट्रिलर चार थान, २७ हजार मूल्य पर्ने २२ वटा मकै पिन्ने मिल, १२ हजार पाँच सय रुपैयाँ मूल्य पर्ने डिजिटल तराजु २० वटा र १० हजार पाँच सय रुपैयाँ मूल्य पर्ने मकै छोडाउने मेसिन २२ वटा कृषि सामग्री वितरण गरिएको पालिकाले जनाएको छ ।
खाँडादेवी गाउँपालिकाको आर्थिक सहयोग र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र सृजनशील युवा समाजको सहजीकरणमा प्रभावकारी कृषि सहकारी संस्थाले खरिद गरेर ल्याएको ती सामाग्री किसानलाई प्रदान गरिएको हो ।
किसानको मागको आधारमा पालिकाले अझै आवश्यक सहयोग गर्दै अघि बढ्दै जाने योजना बनाइरहेको पालिकाकी उपाध्यक्ष घिसिङको भनाइ छ ।
टिप्पणीहरू