माइतीघरमा मीटरब्याज पीडितहरुको धर्ना शुरु
नवलपरासीका मीटरब्याज पीडितहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । मीटरब्याजमा लिएको ऋणको साँवा ब्याज चुक्ता गरिसक्दा पनि साहुले जग्गा हडपेपछि उनीहरुले आन्दोलन गरेका हुन् । सुस्ता र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको मीटरब्याजविरुध्द संघर्ष समितिको आयोजनामा धर्ना शुरु भएको हो ।
स्थानीय मीटरब्याजी साहु सुनिल बानियाँ,जगदीश बानियाँ,सुजित बानियाँ र सुरेश बानियाँलाई कारबाही नभएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन् । यसअघि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर आवश्यक कारबाहीका लागि सहयोग गरिदिन निर्देशन दिएको थियो ।
गत असार २ गतेदेखि १३ गतेसम्म समितिको अध्यक्ष रामसुरत गुप्ता, उपाध्यक्ष अशोकसिंह कुर्मी, कोषाध्यक्ष अजमुल्ला मोहम्मद मुसलमान,सचिव किशोरी चमाईन, सहसचिव रामसुभाग मुसहरलगायत चार दर्जनले धर्ना दिएपछि गृहले कारबाहीका लागि पत्र काटेको थियो । तर, पनि उनीहरुलाई कारबाही नभएपछि पीडितहरु फेरि पनि आन्दोलित भएका हुन् ।
गृह मन्त्रालयसंग वार्तापछि घर फर्केका नवलपरासीका मीटरब्याज पीडितहरु समस्या समाधान नभएपछि फेरि काठमाडौं आएका हुन् ।
टिप्पणीहरू