आयोजनाबाट जनताको उठिबास हुनुुभएन : सहरी विकासमन्त्री

आयोजनाबाट जनताको उठिबास हुनुुभएन : सहरी विकासमन्त्री

सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुनेगरि योजना अगाडि बढाउनुपर्ने बताउनुभएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आयोजना गरेको धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुवान नियन्त्रण आयोजनासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । त्यसका साथै पीडित जनता पनि सामेल हुनुपर्छ । छलफलमा ठूलाबडा मात्र सहभागी भएको जस्तो हुनुभएन । स्थानीय जनताको साथ सहयोग भएमा मात्र आयोजना सफल हुन्छ ।’ त्यस्तै, डुवानको समस्या समेत हल हुनेगरि छिट्टै धोबीखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने मन्त्री चौधरीको भनाइ छ ।

कार्यक्रममा प्रदेश सांसद कुसुमकुमार कार्की, न्हुछेनारायण श्रेष्ठ, विषय विज्ञ प्रा. डा. नरेन्द्रमान शाक्य, डा. सञ्जय उप्रेती, डा. भगवान रत्न कंसाकार, डा. जीवराज पोखरेल, पद्मसुन्दर जोशी, प्रकाशचन्द्र घिमिरे, डा. चिरञ्जिवी भट्टराई, गोविन्द शर्मा पोखरेल, कपन–बूढानीलकण्ठ क्षेत्रका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, समाजसेवीलगायत सरोकारवालाहरुसँग डुवान समस्या समाधानबारे छलफल गरिएको थियो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालका अनुसार सहरी विकासलाई व्यवस्थित बनाउन सरोकारवाला पक्षसँग सुझाव संकलन गरिएको हो ।

टिप्पणीहरू