विश्व कपको नाममा टेलिकममा २४ करोड चलखेलको आरोप

विश्व कपको नाममा टेलिकममा २४ करोड चलखेलको आरोप

आगामी मंसिर ४ गतेदेखि हुन लागेको विश्वकपको प्रत्यक्ष प्रशारणको नाममा नेपाल टेलिकममा करोडौंको खेल भएको छ । टेलिकमका चार वटा कर्मचारी युनियनले एनटीसीको मोबाइल तथा एनटीटीभीमा ओटीआई मार्फत् विश्वकपका सबै खेल प्रशारण गर्न दिइएको इजाजतप्रति गम्भीर आशंका व्यक्त गरेका छन् ।

टेलिकम सञ्चालक समितिले भदौ २४ गतेको बैठकबाट यस सम्बन्धमा सैद्धान्तिक सहमति दिएर आशंकालाई बल पुर्याएको उनीहरुको आरोप छ । युनियनहरुले नेपाल टेलिकमको ग्राहक आधार, ग्राहकसम्म उपलब्ध नेटवर्कको प्रकृति, नेटवर्कअनुसार ग्राहकका उक्त प्रतियोगिता प्रतिको अभिरुची, शहर तथा ग्रामीण ग्राहकको स्क्रिन साइजको प्राथमिकताले राजश्व साझेदारीमा प्रभाव पार्ने पक्षलाई आँखा चिम्लिदिएको दाबी गरेका छन् ।

यी सबै पक्षमा कम्पनीको व्यावसायिक योजना एवं लाभ, लागत विश्लेषण नगरी हचुवाको भरमा २४ करोडमा दिइएको इजाजतप्रति शंका उत्पन्न भएको बताइएको छ । यसबाट कम्पनीको संस्थागत सुशासन, आर्थिक विनियमावलीले निर्देश गरेका खर्च तथा कार्यक्रमको परिकल्पना, पारदर्शिता र मितव्ययितालाई प्रत्यक्ष असर पारेको उनीहरुको ठहर छ ।

यसबारे युनियन र सरोकारवाला सबैबीच आवश्यक छलफल पश्चात् मात्रै निर्णय गर्न कर्मचारीहरुले प्रबन्ध निर्देशकलाई हिजो ध्यानाकर्षण गराएका छन् । यो वर्षको विश्व कप कतारको राजधानी दोहामा हुँदैछ ।

टिप्पणीहरू