रोल्पामा चुनावी रन्को, माओवादीभित्रै खोजियो वर्षमानको विकल्प

रोल्पामा चुनावी रन्को, माओवादीभित्रै खोजियो वर्षमानको विकल्प

आगामी आमनिर्वाचनको मिति नजिकिएसँगै जनयुद्धको प्रभाव क्षेत्र रोल्पामा नयाँ चर्चा चुलिएको छ । ‘ज्यूँदो शहीद’ मानिएका दीपेन्द्रकुमार पुनले संघीय वा प्रदेशसभा सदस्य पदमा चुनावी टिकट पाउलान् कि नपाउलान् ?

रोल्पामा माओवादीभित्र प्रभावशाली मानिएका उनी अन्ततः ‘अनन्त’ अर्थात् माओवादी उपमहासचिव वर्षमान पुनसँग चिढिएका छन् । विगतमा जिल्लामा वर्षमानलाई संकट आइपर्दा दह्रो साथ दिने नेताहरूको सूचीको अग्रपंक्तिमा पर्थे, उनी।

‘सिजल सरको जनयुद्ध र शान्ति प्रक्रियापछि पार्टीभित्र ठूलो योगदान छ । उहाँ माओवादी आन्दोलनको एउटा ज्यूँदो शहीद पनि हुनुहुन्छ । जिल्लामा राम्रो छाप छ, ठूलो हिस्सा उहाँसँगै छ,’ माओवादी केन्द्र रोल्पाका एक नेताले भने ।

उपमहासचिव वर्षमानविरूद्ध सिजलको विद्रोहलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जिल्लामा वर्षमानको समूहलाई मलजल गरेका उनी पछिल्लो समय उनै वर्षमानबाट पेलिँदै आएको गुनासो सुनिन थालेको धेरै भएको छ । सिजल पूर्वमन्त्री जयपुरी घर्ती, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री वर्षमान र झक्कुप्रसाद सुवेदीलाई राष्ट्रिय राजनीतिमा सफल बनाउने ‘भरिया’ भनेर चिनिन्छन् ।

सिजललाई उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा समूहलाई रोल्पाबाट कमजोर पार्ने पात्रको रुपमा परिचित गराउँदै आइएको छ । तर उनको जिल्लामा बेग्लै छाप रहेको अर्काथरिका बुझाइ छ । जिल्लाका चारैतर्फ खासखास स्थानीय नेता–कार्यकर्ता रहेको बताइन्छ । उनीहरू कुनै न कुनै रुपमा आर्थिक रुपमासमेत जोडिएका छन् ।

‘सबैको बराबर योगदान छ । सबै नेता युद्धबाट उदाएका हुन् । रोल्पाको सन्दर्भमा वर्षमान पुन हाबी भइरहेका छन् । महरा दाङ झर्नुभयो । जयपुरी र ओनसरी पनि सांसद बन्नुभयो । यसपटक कमरेड वर्षमानले सिजल दाइलाई प्रतिनिधिसभाको टिकट सुम्पिनुपर्छ,’ माओवादी केन्द्रका एक केन्द्रीय सदस्य बताउँछन् ।

जिल्लामा वर्षमानभन्दा ‘बहादुर’ मानिएका सिजलको यस पटक प्रदेश निर्वाचन क्षेत्र (ख) खोसिने पक्कापक्की बनेको छ । गठबन्धनको तर्फबाट सीट बाँडफाँड समितिका महत्वपूर्ण सदस्य वर्षमानले आफूलाई व्यवस्थापन गर्ने सन्दर्भमा कुनै वास्ता नगरेको उनको ठूलो गुनासो छ ।

गठबन्धन हुँदा जिल्लाको एउटा प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसको दाबी छ । कांग्रेसले दाबी गरिरहेको प्रदेश सभामा अघिल्लो निर्वाचन उनै सिजल विजयी भएका हुन् । तर अहिले त्यो क्षेत्र उनको काबुमा देखिँदैन ।

रोल्पा (ख) बाट कांग्रेसका लुम्बिनी सभापति अमरसिंह पुन निर्वाचन लड्न कस्सिएका छन् । अर्को क्षेत्र (क) बाट सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पूर्वस्वकीय सचिव जोखबहादुर महराले टिकट पाउने छन् ।

आफ्नो निर्वाचन क्षेत्र खोसिने पक्का भएसँगै नेता सिजलले संघको निर्वाचन ताकेको चर्चा माओवादी वृत्तभित्र चलिरहेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट तीनजना तीव्र आकांक्षी देखिएका छन् । वर्षमान पुन, जयपुरी घर्ती र दीपेन्द्रकुमार पुन मुख्य आकांक्षी हुन् । ती सबै रोल्पाली मतदाताले एक पटक चुनिसकेका पात्र हुन् ।

‘गठबन्धनको नाममा कमरेड सिजललाई अन्याय गर्न मिल्दैन । रोल्पा (ख) उहाँको क्षेत्र हो । यो निर्वाचन क्षेत्र छाड्ने हो भने वर्षमानले ठाउँ खाली गर्नुपर्छ,’ उनी निकट एक विद्यार्थी नेता भन्छन्, ‘यसअघि कमरेड जयपुरी घर्ती, सन्तोष बुढा, ओनसरी घर्ती र वर्षमान पुनका लागि मैदान खाली गर्नुभयो । अब रोल्पा (ख) वा प्रतिनिधि सभा निर्वाचनमा उहाँको पालो छ ।’

आमसञ्चार र सामाजिक सञ्जालमा वर्षमानको चुनावी चर्चासँगै सिजल परिवार आक्रोशित बनेको छ । ‘कमरेड वर्षमानलाई मिडियाले टिकट दिइसकेको छ । आधिकारिक मानौँ त ? घोषणा त नभएको जस्तै लाग्थ्यो,’ पुत्र मिलन पुनले भने।

शान्ति प्रक्रिया यता वर्षमान पुनको चेपुवामा परेर आफ्नो राजनीतिक यात्रा कमजोर पारिरहेका उनी यस पटक शीर्ष नेतृत्वसँग सन्तुष्ट छैनन् । राष्ट्रियसभा सदस्यको ‘ललिपप’ दिए पनि उनी रोल्पाबाटै भिड्ने ‘लाइन’ मा प्रष्ट देखिएका छन् ।

‘योगदानको हिसाबमा उहाँ वर्षमान, जयपुरी, ओनसरी वा सोनामभन्दा मुनिको मान्छे होइन । आफूभन्दा जुनियर कमरेडलाई आफ्नो क्षेत्रबाट जिताएर सभामुख, मन्त्री बन्ने तहसम्म पुर्याउनुभयो । अब पनि पछिल्लो लाइनमा बस्ने भन्ने हुँदैन,’ माओवादी केन्द्रका एक पोलिटब्यूरो सदस्यले भने ।

टिप्पणीहरू