फरक प्रसंगमाचाहिँ जति चुम्न पनि पाइन्छ ?

फरक प्रसंगमाचाहिँ जति चुम्न पनि पाइन्छ ?

अघिल्लो साताको बाढीले एमालेको पार्टी कार्यालय चुर्लुम्मै डुबायो । च्यासलस्थित सो कार्यालय डुबेको यो पहिलोपटक होइन । तर, एमालेले बाढी आउँदा आफ्नो कार्यालय डुब्छ  भन्ने कुरालाई कहिल्यै महत्व दिएको देखिएन । बरु पटकपटक डुब्ने कार्यालयको भुइँतला र पहिलो तलामै महँगा फर्निचर र महत्वपूर्ण दस्तावेज राख्ने गरेको एमालेकै केन्द्रीय स्तरका नेताहरू बताउँछन् । 

एमालेले यसरी आफ्नो पार्टीको सम्पत्तिलाई किन हेलचेक्र्याइँपूर्वक राख्ने गर्छ ? एक नेताले भने, ‘यो अञ्जानमा भएको क्षति हुँदै होइन । यसअघि पनि त्यसैगरी महत्वपूर्ण दस्तावेज र महँगा वस्तुहरू डुबेका थिए । तर, पुरानो सामान बिग्रँदा नयाँ किन्न पाइने हुँदा कतिपय जिम्मेवारहरू पार्टीका सरसामान र वस्तुको संरक्षणमा उदासिन देखिने गरेका छन् ।’ उनीहरूको प्रश्न छ यदि सामान डुब्ने वा भवितव्य हुने हो भने एकपटक पो हुन्छ त पटक–पटक उही घटना दोहोरिन्छ भने त्यसलाई कसरी भवितव्य मान्न मिल्छ ?

चार पटकसम्म पार्टी कार्यालय डुबेको घटनाबारे प्रतिक्रिया दिँदै पोलिटब्युरो तहका एक नेताले भने, ‘खै के भन्ने, महँगा कुर्सी र सामान सधैँ तल राख्ने गरिन्छ । हाम्रै पार्टीका विष्णु रिमाललगायत कामरेडहरू अत्याधुनिक पार्टी कार्यालय हो भन्दै प्रचार गर्नुहुन्छ । अब आधुनिक पार्टी कार्यालयमा बाढी पसेका सामान राख्न मिलेन क्यारे ! फेरि खरिद गर्न पाइहाल्यो । पटकपटक खरिदमा किन जोड दिइन्छ, मैले दोहो¥याइराख्नुपर्दैन ।’ अस्ति बाढीले भरेको लेदो पन्छाउन दुई तीन दिन नेता कार्यकर्ताको भीड लागे पनि अहिले भने च्यासल लगभग सुनसानकै अवस्थामा छ ।

उता, सांस्कृतिक काण्डमा मुछिएका महेश बस्नेत, ऐन महर र सुनिता बरालहरू चोखिएका हुन् वा उनीहरूलाई के कसरी अनुशासनको कारबाही गर्ने भन्ने विषयमा भने लगभग नेतृत्व मौन बसेको स्थिति छ । बरु एमालेले मिसन ८४ लाई केन्द्रीय सदस्यहरूका कतिपय गतिविधिका कारण असर पर्ने भन्दै ५ बुँदे अनुशासनको नियम र आचारसंहिता भने यसबीच सार्वजनिक गरेको स्थिति छ । तर के प्रश्न  उठिसकेको छ भने, केपी ओलीले च्यापेका, योग्यताबिनै अघि बढाएका, र पटकपटक संरक्षण गर्दै आएका व्यक्तिमै किन यस्तो अनुशासनहीनता र सांस्कृतिक कमजोरी देखिएका हुन् ? के खोट ओलीमा छ ? यहाँ विरोधाभाष कहाँ देखिएको छ भने त्यस्ता चरित्र भएकाहरू नै संसदीय सुनुवाइमा अरुका व्यक्तिगत आचरण, व्यवहार, नैतिकता र चरित्रको नापजाँच गर्न र उनीहरूलाई स्वीकृत वा अस्वीकृत गर्ने जिम्मेवारीमा छन् ।

त्यसो त सुनिता बराल स्वयं नै हालै प्रधानन्यायाधीशका लागि सिफारिस भएका प्रकाशमान सिंह राउतको संसदीय सुनवाइका क्रममा जम्माजम्मी पाँच मिनेट जति बसेर एउटा सानो प्रश्न सोधी हिँडिहाल्नुपर्ने अवस्थामा पुगिन् । त्यहाँ अरूको नैतिकतामाथि प्रश्न गर्न सक्ने नैतिक धरातल नै थिएन, रहेन । तर यस्तो महत्वपूर्ण समितिमा किन त्यस्तै खालका पात्रलाई एमालेले राख्ने गरेको होला ? आफूमाथिको टिप्पणी खण्डन गर्न नसकेर उनले ‘फरक प्रसंग’ भन्दै हिँडिरहेको अवस्था छ । उनको त्यही शब्दलाई समातेर अहिले धेरै नेताले भन्न थालेका छन्, ‘हाम्रो पार्टीमा ‘फरक प्रसंगमा’चाहिँ जे पनि गर्दा हुँदो रहेछ क्यारे !’ 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू