बिरामीको मृत्युपछि चितवन मेडिकल कलेज तोडफोड

बिरामीको गलत उपचार भएको आरोप लगाउँदै मृतकका परिवारले चितवन मेडिकल कलेज (सीएमसी) तोडफोड गरेका छन् । एक किसिमको रोगको उपचारको सट्टा अन्यत्र उपचार र अपरेसन गरेका कारण बिरामीको मृत्यु भएको उनीहरुको आरोप छ ।

भरतपुर–१३ का ३६ वर्षीय रमेश कुँवरलाई प्याङ्क्रियाटाइटिस र उच्च रक्तचापको समस्या देखिएपछि अस्पताल लगिएको उनीहरुको भनाइ छ । तर डाक्टरले घाँटीको शल्यक्रिया गरेका कारण कुँवरको मृत्यु भएको परिवारको दाबी छ ।

बिरामीको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तहरूले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) तोडफोड गरेका हुन् । तोडफोडमा संलग्न रहेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू