वाइसीएल ध्वस्त बनाउन खोजेको आरोप

वाइसीएल ध्वस्त बनाउन खोजेको आरोप

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । भदौ १२ र १३ गतेसम्मको लागि तोकिएको भेला वाइसीएलको नेतृत्व कसले लिने भन्ने विषयमा विवाद भएपछि दुई दिन लम्बिएको थियो ।

कोरोना महामारीलाई मध्यनजर गर्दै भर्चुअल विधिबाट ‘उत्पादन, स्वरोजगार आत्मनिर्भरताका लागि समाजवादको बाटो रोजौं’ भन्ने मूल नाराका साथ उक्त भेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा शुरु भएको थियो । सातै वटा प्रदेशमा छुट्टाछुट्टै भेला राखी भर्चुअलको माध्यमबाट राष्ट्रिय भेला जसरी उत्साहका साथ शुरु भयो त्यसको समापन भने निराशाजनक हुन पुग्यो ।

खासगरी नेतृत्व चयनको विषयमा सहमति जुट्न नसक्दा भेला दुईदिन लम्बिएको हो । तथापि भेलाले नेतृत्व चयन गर्न भने सकेन । २३१ जना केन्द्रीय सदस्य चयन गरेर तिनै केन्द्रीय सदस्य र प्रचण्डसहितको बैठकबाट नेतृत्व चयन गर्ने निर्णयसहित भेला समापान भयो । तर आम जनमानसमा वाइसिएलले एउटा नेतृत्वसमेत चयन गर्न नसकेको सन्देश गएको छ ।

वाइसिएल अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुबोध शेर्पालीको अन्तिमसम्म दावेदारी थियो । शेर्पालीलाई उपाध्यक्ष बनाएर देवकोटालाई अध्यक्ष बनाउन खोजिएको बताइन्छ । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि वाइसिएलको सवाल माओवादी केन्द्रको स्थायी समिति बैठकसम्म पुग्यो । बैठकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र पौडेलबाहेक सबै स्थायी समिति सदस्य शेर्पालीको पक्षमा उभिएको एक स्थायी समिति सदस्यले जानकारी दिए । तथापि स्थायी कमिटीबाट यसबारे कुनै निर्णय भने भएन ।

स्रोतका अनुसार देवकोटालाई अध्यक्ष बनाउन निवर्तमान अध्यक्ष एवम् फ्र्याक्सन ईञ्चार्ज रामप्रसाद सापकोटा दिपशिखा र अर्का उपाध्यक्ष बिरु तामाङ सुदिप लगायतका केही नेता लागिपरेका थिए । तर, भेलामा सहभागी बढी कार्यकर्ता शेर्पालीको पक्षमा देखिएपछि सर्वसम्मत प्रयासका नाममा पार्टी नेतृत्वलाई जिम्मा लगाइएको बताइन्छ ।

दिपशिखा र शेर्पालीबीच कार्यकालभर राम्रो सम्बन्ध रहेपनि रुपा सुनुवार प्रकरणदेखि मनमुटाव शुरु भएको र आँखा चिम्लिएर जातीयताका कुरामा मात्रै जोड दिइएको कारण शेर्पालीलाई नेतृत्वमा जानबाट रोक्न खोजिएको वाइसिएल वृत्तमा चर्चा छ । दिपशिखाले संगठनको तर्फबाट निकालेको वक्तव्य सामाजिक सञ्जालमा शेयर गरेर लगत्तै डिलिट गरेपछि सोही विषयलाई लिएर दुई युवा नेताबीच विवाद शुरु भएको वाइसिएल नेताहरु बताउँछन् ।

एकजना नवनिर्वाचित केन्द्रीय सदस्यले बताए,‘एमाले छिन्नभिन्न हुनुको मूल कारण ओली हो, त्यसैगरी वाइसिएलभित्र पनि दाइ प्रवृत्तिले संगठन ध्वस्त बनाउन खोजेको छ ।’

जीवनसंगिनी र सालीलाई समेत केन्द्रीय सदस्य बनाएर अरु फरक मत राख्ने इमानदार कार्यकर्ताहरुलाई केन्द्रीय सदस्य हुन नदिएको आरोप लगाउनेहरु पनि छन् । प्रचण्डपुत्री तथा भरतपुर महानगरकी मेयर रेणु दाहालको च्वाइसमा देवकोटा परेपछि शेर्पालीलाई रोक्न अनेक प्रयास भएको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

टिप्पणीहरू