हिजो “जा” भनियो,आज हात्तीवन पुगेर “आ”भनियो

हिजो “जा” भनियो,आज हात्तीवन पुगेर “आ”भनियो

आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा दुई लाइन संघर्ष चर्किएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच मतभेद बढेसँगै माओवादीमा आन्तरिक विवाद बढेको हो ।

व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएका अध्यक्ष प्रचण्ड र एमसीसी पारित गर्न नहुने पक्षमा रहनुभएका श्रेष्ठबीचको विवादले माओवादी विभाजनमा जाने अड्कलसमेत गर्न थालिएको छ । यसैबीच पूर्व एकताकेन्द्र समूहका नेताहरुले पार्टीमा विद्रोह गर्न सक्ने संकेत पाएपछि अध्यक्ष प्रचण्ड आज हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर छलफल गर्नुभएको छ ।

भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेका कुरालाई लिएर अन्यथा नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गर्नुभएको बताइएको छ । जवाफमा श्रेष्ठले हिजोको प्रचण्डको अभिव्यक्तिले झस्काएको बताउनुभएको उहाँ निकट स्रोतले बताएको छ ।

हिजो एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै पार्टी छोडेर जानसक्ने बताउनुभएको थियो । ‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नु भएको होला । जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नु भएको होला । एमसीसीको विरोध गर्नेबित्तिकै सबै जनता आउने भए प्रेम सुवालले लगातार मूर्दावादका मूर्दावाद गरिरहनुभएको छ। नेपालभरका सबै उहाँतिर जानु पर्ने हो, तर त्यस्तो हुँदैन’, प्रचण्डको भनाइ थियो ।

महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगे पनि चुनावी नतिजा शून्य भएको पनि प्रचण्डले स्मरण गराउनुभएको थियो । ‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गर्यो भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो । भोट आउने बेला जीरो भयो । त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउन जरुरी छैन । त्यसमा सबै स्पष्ट हुनु पर्छ। अब कसैलाई छोड्नै मन छ भने त के गर्न सकिन्छ र !” उहाँले भन्नुभएको थियो ।

प्रचण्डको यस्तो अभिव्यक्तिलाई पूर्व”एकता केन्द्रका नेताहरुले पार्टी छाडेर गए हुन्छ भन्ने अर्थमा लिएका छन् । लगत्तै नेता नारायणकाजी श्रेष्ठले पूर्वएकता केन्द्रका नेताहरुसँग परामर्श गरेको स्रोतको दाबी छ । ‘प्रचण्डले नारायणकाजी कमरेडलाई घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने खालको भाषण गरेपछि उहाँ (श्रेष्ठ) आफू निकटका नेता,कार्यकर्तासँग छलफलमा हुनुहुन्छ’ श्रेष्ठ निकट एक नेताले भने ।

तर,असन्तुष्ट पक्षका एक नेताले भने आफूहरुले आगामी केन्द्रीय कमिटीमा यसबारे गम्भीररुपमा कुरा राख्ने बताउँदै दुई लाइन संघर्षलाई सामान्य रुपमा लिनुपर्ने बताए । माओवादी केन्द्रको आगामी शुक्रबार केन्द्रीय कमिटी बैठक बस्दैछ ।

टिप्पणीहरू