गुरुहरु पोशाक भिरेर कार्यकर्ता फकाउन हुरुरु…

गुरुहरु पोशाक भिरेर कार्यकर्ता फकाउन हुरुरु…

मुलुकको आर्थिक, शैक्षिक,प्रशासनिक, न्यायिकलगायत हरेक क्षेत्रमा राजनीति आवश्यकताभन्दा बढी घुसेको छ । विभिन्न पेशाका जिम्मेवारहरु नै कुनै न कुनै राजनीतिक दलमा आवद्ध भएको पाइन्छ । ती क्षेत्र अहिले जनताप्रति जवाफदेही नभई राजनीतिक पार्टीको पेवा बन्न अलि बढी नै सक्रिय देखिएका छन् ।

हरेक विश्वविद्यालय, क्याम्पस र सामुदायिक विद्यालयहरु राजनीति गर्नेहरुको गतिलो अड्डा बनेका छन् । अहिले पार्टी कार्यालयभन्दा पनि नेता कार्यकर्ताहरु धेरै समय राजनीतिक गतिविधिहरु स्कुल र कलेजहरुमै गर्छन् भन्ने आरोप छ ।

शिक्षक शाहीको राजीनामा माग

यसैबीच अछाम पञ्चदेवल विनायक नगरपालिका ४, कालिकास्थानस्थित श्री ऋषिकुल माध्यमिक विद्यालयका शिक्षक नेत्रबहादुर शाहीको भूमिका पनि त्यस्तै देखिएको बताइन्छ । उनी आफूलाई नेपाली काँग्रेस पार्टी निकट बताउँछन् । स्थानीय तह निर्वाचन नजिकिएसँगै गाउँटोलमा पार्टी प्रवेश गराउने काम शुरु हुन थालेको छ । उनी पनि एउटा पार्टीको ट्याग भिरेर दुई तीन हजार नगद दिँदै पार्टी प्रवेश गराउने कार्यमा सक्रिय रहेको स्थानीयहरुले आरोप लगाएका छन् ।

वडाध्यक्ष सज्जन शाहीको भतिजसमेत रहेका उनी विद्यालयभन्दा बढि पार्टीले गर्ने कार्यक्रममा सहभागी हुने गरेको एक स्थानीयले बताए ।

शिक्षक शाही सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा भन्दा पार्टीका हरेक गतिविधिमा केन्द्रित भएको उनकै विद्यालयका विद्यार्थीहरु बताउँछन् । एक जना विद्यार्थीले जनआस्थासँगको कुराकानीमा भने, ‘उहाँ विद्यालयको शैक्षिक गुणस्तर सुधारमा भन्दा बढी काँग्रेसको गतिविधिमा केन्द्रित हुनुहुन्छ । उहाँ शिक्षकको पोशाकमा नै खुल्लम खुल्ला पार्टीका हरेक कार्यक्रममा पुग्नुहुन्छ । अनि सर्वसाधारणलाई अनेक प्रलोभनमा पारेर पार्टी प्रवेश गराउने काममा तल्लिन हुनुहुन्छ । हामी केही युवाले विरोध गर्दा पनि सुनुवाइ भएन ।’

आफ्ना छोराछोरीलाई शहरका महंगा कलेजमा पढाएर गाउँका सोझा साझा नागरिकका छोराछोरीमाथि खेलबाड गरेको भन्दै स्थानीयले उनको राजीनामा मागेका छन् । शिक्षक शाहीबाट विद्यार्थीहरुले राम्रो शिक्षा पाउन नसकेको नगरवासीको गुनासो छ । आक्रोशित उनीहरुले विद्यालयबाट शिक्षक शाहीले राजीनामा नदिए आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन् ।

वि.सं. २०७४ सालको निर्वाचनमा स्थानीयको घरघरमा गएर पैसाको भरमा काका सज्जन शाहीलाई वडाध्यक्षमा जिताएको उनीमाथि अहिलेसम्म आरोप लागेको छ । आगामी स्थानीय तह निर्वाचनको लागि पनि सोही गतिविधि दोहोर्याउने थालिएको उनीहरु बताउँछन् । नगरमा काँग्रेसबाट निर्वाचित मेयर र उपमेयर पनि सोही कार्यमा संलग्न हुन थालेको स्रोतको दाबी छ ।

मानहानीको मुद्दा हाल्ने शिक्षक शाहीको चेतावनी

श्री ऋषिकुल माध्यमिक विद्यालयका शिक्षक नेत्रबहादुर शाहीले भने आफूमाथि लागेका लाञ्छना र आरोप निराधार भएको बताए । आफू अहिलेसम्म कुनै राजनीतिक पार्टीमा नलागेको उनको भनाइ छ । तर,उनले विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका नेताहरु शिक्षक पदमा रहेको बताए । उनीहरुभन्दा आफूले विद्यालयमा नियमित पठनपाठन गरिहेको उनको दाबी छ ।

स्थानीयको आरोपलाई खण्डन गर्दै उनले राजनीतिकै लागि शिक्षक पदबाट राजीनामा नदिने बताएका छन् । यदि स्थानीयले केही गल्ती नै नभएर शिक्षकबाट राजीनामा लिन दबाब दिएमा आफू चुप लागेर नबस्ने उनको भनाइ छ । यस्तै,काँग्रेस पार्टीको कुनै पनि कार्यक्रममा आफू सहभागी नभएको दाबी गर्दै उनले मानहानीको मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘ममाथि लागेका आरोप निराधार छन् । त्यसमा कुनै सत्यता छैन । मलाई कसैले राजीनामा दे भन्दैमा शिक्षक पद सहजै त्याग्न सक्दिन । गल्ती र कमजोरी नै नभई राजीनामा मागेमा म चुप लागेर बस्दिन । त्यसको प्रतिकार गर्छु । तर, कसैले मलाई काँग्रेस पार्टीको ट्याग भिराउँछ भने मानहानीको मुद्दा हाल्छु ।’

उक्त विद्यालयमा अन्य शिक्षकभन्दा इमान्दार र नियमित रुपमा हाजिर हुने गरेको उनको भनाइ छ । शैक्षिक क्षेत्रमा राजनीति गर्न हुँदैन भन्दै आफूले मात्र आवाज उठाउँदै आएको उनको दाबी छ ।

‘म स्कुलमा अन्य शिक्षकभन्दा इमान्दार र नियमित हाजिर हुन्छु । शैशिक क्षेत्रमा राजनीति गर्न हुँदैन भन्ने शिक्षक पनि म नै हुँ । मलाई स्थानीयले यस्तो अरोप लगाएकोमा दोधारमा छु,’ उनले जनआस्थासँग भनेका छन् ।

उनले कुनै राजनीतिक पार्टीको झण्डा बोकेर भाषण गरेको प्रमाणित गर्न स्थानीयवासीहरुलाई चेतावनी दिएका छन् । तर,अस्तिमात्रै काँग्रेसको जिल्ला कमिटीले कालिकास्थानमा आयोजना गरेको कार्यक्रमा उनी शैक्षिक पोशाकमा केही कार्यकर्तासँग कुराकानी गरिरहेको भिडियो सार्वजनिक भएको छ । उनले आफूमाथि लागेका आरोप अस्वीकार गरे पनि विगतदेखि नै देखिएको अशोभनीय गतिविधिवारे आगामी स्थानीय तहको निर्वाचनमा नागरिकहरुले सिंगो पार्टीकै मूल्यांकन गर्ने बताएका हुन् ।

यस्तो छ शिक्षा ऐन

शिक्षक ऐन २०२८ (संशोधन संहित) को दफा १६ को (ङ) र उपदफा ५ को छ ले शिक्षकहरुलाई राजनीतिमा भाग लिन रोक लगाएको छ । कुनै पनि सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक पार्टीको गतिविधिमा संलग्न भएको पाइएमा पदबाट हटाउने व्यवस्था छ । सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र काम गरेमा पनि पदबाट बर्खास्त गरिने कुरा उल्लेख छ ।

टिप्पणीहरू