हिजो कसले,कसलाई, कहाँ भेटे ?

हिजो कसले,कसलाई, कहाँ भेटे ?

हिजो पनि राजधानीमा भीआइपीहरुको भेटघाट बाक्लो थियो । सो क्रममा खुमलटारस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग उहाँकै निवासमा एबीसी टेलिभिजनका प्रधान सम्पादक शुभशंकर कडेलले बिहान साढे बजदेखि झण्डै ९ बजेसम्म भेट गरेका थिए ।

उता सिंहदरबारस्थित ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष सिचिन छिनले दिउँसो १ बजेदेखि एक घण्टा भेटवार्ता गर्नुभयो । त्यसैगरी शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग पनि उहाँले दिउँसो २ बजेदेखि ३ बजेसम्म भेट गर्नुभएको थियो ।

परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाल भ्रमणमा रहेकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङबीच हिजो दिउँसो भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङबीच साँझ साढे ५ बजेदेखि एक घण्टा भेटवार्ता भएको हो । दुवै भेटमा नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीको पनि उपस्थिति थियो ।

यसैगरी गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा (विप्लव) का प्रवक्ता प्रकान्डबीच हिजो पनि साँझ भेटवार्ता भएको छ । उहाँहरुबीच साँझ सवा ६ बजेदेखि सवा ७ बजेसम्म कुराकानी भएको हो । उहाँहरुबीच दिनहुँजसो भेटवार्ता हुँदै आएको छ ।

उता होटल द्वारिकाजमा नेपाल भ्रमणमा रहेकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेश मन्त्री केल्ली किडरलिङसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसहित फ्रान्स, जापान,स्विटजरल्याण्ड, नर्वे,युरोपेली युनियन, जर्मनी,बेलायत, एसियाली बैंकका नेपाल प्रमुखसहित झण्डै डेढ दर्जनले साँझ ७ बजेदेखि ९ बजेसम्म डिनर छलफल गरेका छन् ।

अर्थ मन्त्रालयमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय कार्यवाहक राजदूत नाम्ग्या सी. खाम्पाबीच हिजो दिउँसो ४ बजेदेखि पौने ५ बजेसम्म भेटवार्ता भएको बताइएको छ ।

टिप्पणीहरू