प्रधानमन्त्रीको ज्यान यता, ध्यान त्यता

प्रधानमन्त्रीको ज्यान यता, ध्यान त्यता
सुन्नुहोस्

ओलाङचुङगोला–रिउ सडक चीन र नेपाललाई जोड्ने सबैभन्दा छोटो दूरीको सडक मार्ग हो । दुई छिमेकी भारत र चीनलाई समेत जोड्ने यो मार्ग नेपालकै छोटो सडक मानिन्छ । चीन जोड्ने अन्य नाकाभन्दा ५९ किलोमिटर छोटो पर्छ यो सडक । तर, रणनीतिक महत्वको यो क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन । 

भारतसँगको व्यापारिक नाका विराटनगरको रानी भन्सारसम्म जोडिने यो मार्ग पूर्वी नेपालको सम्मृद्धिको आधार पनि हो । यो मार्गलाई थप छोटो बनाउन चीनले केही वर्षअघि धरानदेखि मूलघाटसम्म सुरुङमार्गको प्रस्तावसमेत गरेको थियो । धरान–मूलघाट १७ किलोमिटरको दूरी सुरुङमार्गमा लैजान सके जम्मा दुई किलोमिटर हुनेछ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेस्थित रिउ बजारदेखि ओलाङचुङगोला हुँदै विराटनगरको रानी भन्सार जोड्ने परियोजनाअन्तर्गत यसको सम्भाव्यता अध्ययन भैसकेको छ । 

ओलाङचुङगोलादेखि माथि मौवाटारसम्म ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । मौवाटारबाट रिउ बजारको दूरी ४९ किलोमिटर छ । यो दूरीलाई घटाउन तिब्बत सरकारले ५२ सय उचाइमा रहेको पहाडको फेदबाट सुरुङ खनेर ३ किलोमिटरमा झार्ने योजना अघि सारेको छ । तर, नेपालतर्फ भने बाटोको ट्रयाक खोल्नेबाहेक पूर्वाधार निर्माण शून्य अवस्थामा छ । 

मौवाटारमा ठूलो समथर टार छ, जहाँ चोभारको जत्रै बन्दरगाह बनाउन सकिन्छ । सप्तकोशीमा मिसिने तमोर नदीको उद्गमस्थल पनि हो यो ठाउँ । त्यहाँ सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको छ । तर, प्रहरी भने अहिलेसम्म खटाइएको छैन । यो क्षेत्र व्यापारिक दृष्टिले मात्र होइन, सांस्कृतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । सन् १९५९ मा दलाई लामा तिब्बतबाट भागेर सिक्किम छिरेको रुट हो यो । पद्मसम्भवकै पालामा निर्मित दिकीछोइलिङ गुम्बा मौवाटारको अलिकति माथि पर्दछ । नेपालमा भएका प्राचिन गुम्बामध्ये यो सबैभन्दा पुरानो मानिन्छ । 

ओलाङचुङगोलादेखि २५ किलोमिटर माथि तितला भन्ज्याङ छ । समुन्द्र सतहदेखि ५३०० मीटरको उचाइमा रहेको तितला भन्ज्याङबाट सिगात्सेसम्म चीनको स्वशासित क्षेत्र देन्जी काउन्ट्रीले स्थानीय साझेदारीमा सडक खन्न शुरु गरेको थियो । तर, कोभिडपछि आवातजावत बन्द हुँदा अलपत्र रहेको सडक निर्माण अलपत्र अवस्थामा छ । ९ वटा स्काभेटर अहिले पनि त्यसै बाटोमै अड्किएका छन् । 

नेपाल सरकारले यो नाका सन्चालनका लागि ठोस पहल नगरेको स्थानीय र सरोकारवालाहरूको गुनासो सुनिन्छ । चीनले आफ्नोतर्फ भन्सार, अध्यागमन, सुरक्षाका लागि भव्य संरचना बनाउँदा नेपालपट्टी सामान्य बिओपी पोष्ट बाहेक केही छैन । केपी ओली पहिलोचोटी प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेर नाका खोल्ने पहल भएको थियो । त्यसैअन्तर्गत विभिन्न नाका सन्चालनमा आए । तर, सडकको ट्रयाक खोल्नेबाहेक अन्य संरचना निर्माणमा भने प्रगति भएको छैन । प्रचण्ड प्रधानमन्त्री भएका बेला वर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलगायतको टोली नाका अवलोकनका लागि पुगेको थियो । तर, उनीहरू टिप्ताला नाकाभन्दा २५ किलोमिटर तल ओलाङचुङगोलाबाटै फर्किए ।

यो बाटो बन्यो भने प्रधानमन्त्रीको गृहप्रदेश सबैभन्दा बढी लाभान्वित हुने पक्का छ । तर, उहाँको प्राथमिकता भने पहिले किमाथाङ्का नाकालाई व्यवस्थित गर्नेतर्फ केन्द्रित रहेको बताइन्छ । जवकि किमाथांकाबाट रिउ बजार ५० किलोमिटर दूरीमा छ भने ओलाङचुङगोलाबाट जम्माजम्मी ३२ किलोमिटर । संखुवासभाका नेता, व्यापारीलगायतको प्रभावमा परेर ओलाङचुङगोलालाई उपेक्षा गरिएको स्थानीयको गुनासो छ । हाइड्रो व्यवसायी हरि बैरागी, एमाले नेता राजेन्द्र गौतमलगायतको चासो किमाथांकामा छ भनिन्छ । 

ओली स्वयंको पनि पहिले तेह्रथुम जोड्ने चाहना रहेकाले किमाथाङ्का प्राथमिकतामा परेको हुनुपर्छ । यसअघि योगश भटराई ताप्लेजुङबाट सांसद निर्वाचित भएपछि र स्वर्गीय रविन्द्र अधिकारी विकास समितिको सभापति हुँदा तमोर करिडोर अघि सारिएको थियो । ओलाङचुङगोलादेखि तमोर मूलघाटसम्मको करिडोर चीनको सीमाबाटै शुरु हुन्छ । 

यता, कोरोना भाइरस महामारी फैलिएपछि बन्द भएको नाका खुल्न नसक्दा सीमावर्ती क्षेत्रका बासिन्दालाई सास्ती खेप्नु परेको छ । पूर्णतः चिनियाँ बजारमा निर्भर यहाँका स्थानीय आवश्यक खाद्य तथा अन्य सामग्री बन्द हुँदा मर्कामा परेका छन् । कोरोनापछि नेपाल बिबाह गरेर आएका ३९ जना तिब्बतियन महिला माइत जानसमेत पाएनन् । 

दुबैतर्फ सीमावर्ती क्षेत्रका वासिन्दाबीच आर्थिक, सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । दुबैतिर बिहाबारी पनि हुने गरेको छ । यता बिबाह गर्न पाए काठमाडौँ, सिक्किम, अमेरिका सहजै जान पाइने हुनाले रिउका युवतीहरू विवाहका लागि आकर्षित हुने गरेको पाइन्छ । तर, कोरोनापछि भने बिहाबारी पूरै रोकिएको छ । उताबाट आएर फर्किन नपाएका तिब्बतियनहरूलाई नेपाल सरकारले अस्थायी शरणार्थी परिचयपत्र उपलब्ध गराएको छ । पालिकाले प्रमाणित गरेर दिने त्यही परिचयपत्रका आधारमा उनीहरू बस्दै आएका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू