रविलाई पक्रनुपर्ने मागसँगै छविलाई पाँच दिन हिरासतमा राख्न आदेश

रविलाई पक्रनुपर्ने मागसँगै छविलाई पाँच दिन हिरासतमा राख्न आदेश
सुन्नुहोस्

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंमा हिजो पक्राउ परेका जोशीलाई राति नै पोखरा पुर्याइएको थियो । 

उनलाई हिजै पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमवार उपस्थित गराइएको हो । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानूनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो । 

पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ । पोखराका २२ जना सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते रवि लामिछाने, दिपेश पुनसहित चार जना र गोर्खा मिडियासहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए । पीडितको जाहेरीलाई प्रहरीले पुरक जाहेरीका रूपमा लिएको थियो । 

जोशीलाई म्याद थपको निम्ति अदालतमा उपस्थित गराउँदा खबरदारीका लागि सहकारी पीडित पनि अदालत बाहिर पुगेका थिए । त्यसअघि पीडितले रवि लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धानमा ल्याउन जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
 

टिप्पणीहरू