उपभाेक्ता ठगेको जिम्बु थकालीलाई तीन लाख जरिवाना

उपभाेक्ता ठगेको जिम्बु थकालीलाई तीन लाख जरिवाना
सुन्नुहोस्

काठमाडौंको शान्तिनगरमा रहेको जिम्बु थकालीमाथि कारबाही गरिएको छ । तोकिएकोभन्दा बढी मूल्यमा मिनरल वाटर बेचेको पाइएपछि वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले कारबाहीस्वरुप तीन लाख रुपैयाँ जरिवाना तिराइएको जनाएको छ ।

केही दिनअघि विभागमा जिम्बु थकाली रेस्टुरेष्टले मिनरल वाटरको धेरै मूल्य लिएको भन्दै उजुरी परेको थियो । त्यसपछि विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गर्दा ३५ रुपैयाँको मिनरल वाटरलाई एक सय रुपैयाँसम्म असुलेको पाइएको हो । 

महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूहरुलाई समेत ठगेको बताए । ‘उजुरीपछि के रहेछ भनेर हामी रेस्टुरेष्ट गयौं । पानी मागेका पनि थिएनौं । तर, उहाँहरु आफैँले दिनुभयो । हामीले पानी र मःमः खायौं,’ उनले भने, ‘तर, एक बोतल पानी जसको अंकित मूल्य ३५ रुपैयाँ तोकिएको छ, उहाँहरुले सय रुपैयाँ लिइरहनुभएको रहेछ । यो झण्डै तेब्बर हो ।’

कुनै पनि उपभोक्तासँग वस्तुमा लेबल गरिएको मूल्यभन्दा बढी मूल्य लिन नपाइने भन्दै महानिर्देशक पौडेलले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जिम्बु थकालीलाई कारबाहीस्वरुप तीन लाख रुपैयाँ जरिवाना तिराई सचेत गराइएको बताए । 

रेस्टुरेष्टलाई अंकित मूल्यभन्दा बढीमा पानीलगायत कुनै पनि वस्तु बेचेको पाइएमा शिलबन्दी गर्ने चेतावनी दिइएको छ । चाडपर्व नजिकिएसँगै विभागले बजार अनुगमनमा तीव्रता दिएको छ । महानिर्देशक पौडेलका अनुसार चाडपर्वलक्षित हाल काठमाडौंमा मात्र विभागबाट सात वटा टोली खटाइएको छ । 

भोलिदेखि अझ बढी टोली परिचालन गरिने उनले जानकारी दिए । अगाडि भने, ‘कुनै पनि उपभोक्ता ठगिनु भयो भने सर्वप्रथम त उहाँहरुले बिल लिनुपर्यो । बिल भएपछि विभागमा आइरहनु नै पर्दैन । हाम्रो सम्पर्क नम्बर ११३७ मा बिलसहित उजुरी गर्नुभयो भने हामी तुरुन्तै कारबाही गर्छौं ।’

टिप्पणीहरू