प्रचण्डको पोल जसले देउवा र ओलीसामु पुर्‍याए

प्रचण्डको पोल जसले देउवा र ओलीसामु पुर्‍याए

नेपालका सबैजसो सरकार बनाउने र ढाल्ने खेलमा भारतको प्रमुख हात रहन्छ भन्ने स्थापित मान्यता यसपटक प्रचण्ड सरकारको पतन र ओली सरकारको गठनमा लागू नभएको देखिएको छ । प्रचण्डको सरकार ढाल्ने र केपी ओलीको नेतृत्वमा सरकार बनाउने खेलमा सक्रिय एक सहभागीका अनुसार यसपटक सरकार परिवर्तन गर्नमा भारतको हात रहेन ।

बरु अनपेक्षित घटनाक्रम विकास हुँदा के गर्ने, के नगर्ने भन्ने अन्योलमा चाहिँ भारत परेको अवस्था थियो । त्यसै हुनाले आफ्नो जानकारीबेगर भएको घटनाक्रमलाई रेस्पोन्स गर्नसमेत भारतले सकेन र नयाँ प्रधानमन्त्रीलाई उताबाट टेलिफोन नै गरेर बधाई दिने परम्परा अहिले लागु हुन सकेन । सामान्यतया नेपालमा नयाँ प्रधानमन्त्री बन्दा उताबाट टेलिफोन गर्ने र आफ्नो कार्यालयको तर्फबाट लेखिएको बधाई पत्रमा भ्रमणको निम्तासमेत दिने चलन थियो । ओलीलाई भने औपचारिक बधाई पत्र मात्रै आयो जसमा निम्ता थिएन । न त उनलाई समकक्षीले फोन गरेर बधाई नै दिए । 

अब उठ्ने प्रश्न यो हो कि त्यसो भए खासमा प्रचण्ड सरकार कसको योजनामा ढल्यो र केपी ओलीको नेतृत्वमा कसरी सरकार बन्यो ? नयाँ सरकार गठनको पृष्ठभूमि हेर्ने हो भने प्रचण्डको चरित्र उदांगो हुनु नै यो सरकार ढल्नुको प्रमुख कारण हो । समाचार स्रोत भन्छ, प्रचण्ड धमिलो पानीमा माछा मारिरहेका थिए । उनी ओलीविरुद्ध देउवालाई कुरा लाउँथे र देउवाविरुद्ध ओलीको कान भर्थे । प्रचण्डले आरोप लगाएका‘बिचौलिया’ले ओली र देउवाबीच अविश्वास बढ्ने र दुश्मनी कायम गर्ने खेल प्रचण्डबाट भइरहेको तथ्य दुवै शीर्ष नेतालाई अवगत गराएका मात्र हुन् ।

प्रचण्डको रणनीतिबारे जानकार उनीहरूले केही प्रमाणसहित दुवै नेतालाई तपाईंहरूबीच दूरी बढाएर प्रचण्डले कसरी आफ्नो सत्ता पाँच वर्षसम्म टिकाउने योजना बनाइरहेका छन् भन्ने प्रमाण पेश गरेका थिए । जब दुवै नेताले असली खेल बुझे र प्रचण्डलाई चिने तब उनीहरू बीचको खाडल हट्यो, नयाँ गठबन्धन बन्यो । समाचार स्रोत भन्छ, ‘प्रचण्डको दुर्भाग्य या अरूको सौभाग्य भनेर बुझौँ हामीले कसरी देउवाविरुद्ध ओली र ओलीविरुद्ध देउवालाई भड्काउने काम प्रचण्डले गरिरहेका छन् भन्ने कुरा प्रमाणसहित दुवै नेतासमक्ष राखिदियौं । उनीहरूले कुरा बुझे, प्रचण्डको खेल खत्तम भयो ।’

सत्ता परिवर्तनको पछिल्लो खेलबारे जानकारहरू भन्छन्– प्रचण्डले भारत गएर सरकार परिवर्तनको कुनै म्याण्डेट लिई आएका थिएनन् । न त भारतले उनलाई अब यसो गर भनेर निर्देशन नै गरेको अवस्था थियो । नेपालमा सरकार परिवर्तन गर्ने खेलमा सक्रिय घरेलु सदस्यहरूका अनुसार अहिलेको ओली सरकार, त्यसअघिको प्रचण्ड सरकार र झलनाथको सहित अरू धेरै सरकार भारतको जानकारीबिना गठन भएका उदाहरण छन् । बरु आफ्नो जानकारीबेगर नेपालमा कसरी सरकार गठन सम्भव भयो भन्ने कुरामा भारतको संस्थापन पक्ष रुष्ट हुँदा अलिक पछि मात्रै फिर्ता गर्ने तयारीमा राखिएका जासुसी संस्था ‘रअ’ का नेपालस्थित स्टेशन चिफ राघव भट्नागरलाई सरकार परिवर्तन भएको दुई दिनमै फिर्ता बोलाइयो । 

पर्दापछाडि बसेर सरकार परिवर्तनका लागि गोटी चाल्न माहिर केही घरेलु खेलाडीका अनुसार यसअघि एउटा नयाँ सहमतिको प्रयास गरिएको थियो । राष्ट्रिय सहमतिको सरकार निर्माण गरौँ भन्ने योजनासाथ प्रचण्डको प्रधानमन्त्रीत्व थप एक वर्षसम्म कायम राख्ने, त्यसपछि डेढ वर्ष एमालेले नेतृत्व गर्ने र अन्तिम एक वर्ष चुनाव गराउने म्याण्डेटसहित कांग्रेसको नेतृत्वमा सरकार चलाउने । तर गाह्रो कहाँ परिरहेको थियो भने विभिन्न चलखेलमार्फत पाँच वर्ष नै प्रधानमन्त्री बन्छु भन्ने योजनामा बसेका प्रचण्डसमक्ष यस्तो प्रस्ताव कसले राख्ने ? अन्ततः एक पात्र अगाडि सरेर त्यो जिम्मेवारी मेरो हो भन्दै प्रचण्डसमक्ष कुरा राख्ने प्रयासमा लागे । तर व्यापारी र छोरीहरूको कारण प्रचण्डसमक्ष पुग्न दिइएन । उनले सो काम गर्न नसक्ने भन्दै एमाले र कांग्रेसका शीर्ष नेतासमक्ष हात उठाएपछि शुरु भयो नयाँ योजना । प्रचण्डले संसद्मा रोष प्रकट गरेको बिचौलिया वास्तवमा दलाल वा अन्य कुनै स्वार्थ समूह भने होइन । जसको क्षमता र कुशलतालाई चिन्न नसक्नु नै प्रचण्डका लागि दुर्भाग्य बन्यो । र, प्रचण्डसँग रिसाएको सो समूहले उनको खेल देउवा र ओलीसमक्ष उदांगो पारिदिँदा जादुको खेल तुहियो । 

भारतले शुरुमा सरकार परिवर्तनबारे जानकारी नपाए पनि अहिलेचाहिँ यो सरकारलाई ठीकै छ भनेर निरन्तरताको सहमति जनाएको देखिएको छ । परराष्ट्र मन्त्री आरजु देउवाको भारत भ्रमणका क्रममा देखाइएको उच्च सम्मानलाई जानकारहरूले त्यही रूपमा विश्लेषण गरेका छन् । त्यसो त आरजु भारत जाने पूर्व निर्धारित कार्यक्रम नै थियो । उनी उपचारको लागि जाँदै थिइन् । घुँडा, तिघ्रा र हिपको स्वास्थ्य समस्याका कारण जापानमा गएर उपचार गरिन् । र, जापानले यतै फलोअप गर्ने गरी रिफर गरेका कारण लगातार स्वास्थ्य उपचारका लागि भारत जाने गर्छिन् । उनले यसअघि नेपाल आएका बेला राखी बाँधेका भारतीय जनता पार्टीका नेता विजय चौथाईवालालाई चाहिँ योपालि दिल्लीमै पुगेका बेला पनि राखी बाँध्ने अवसर पाइनन् । त्यसैबीच भारतका परराष्ट्रसचिव नेपाल आए र उनले भेटघाटको क्रममा भ्रमणको औपचारिक निम्तो दिने वातावरण बनाइयो ।

उनी लगातार भारत जाने र त्यहाँका नेताहरूसँग छलफल गरेर फर्किने क्रम थियो नै तर परराष्ट्रमन्त्री नबोलाईकन जानु व्यक्तिगत रूपमा समेत त्यति राम्रो हुँदैनथ्यो । त्यसैले सो भ्रमणलाई औपचारिक बनाइयो र त्यसबीच उनले गरेका भेटघाट र छलफलहरूले नयाँ सरकारप्रति भारतको समर्थन रहेको सन्देशसमेत प्रवाह गर्‍यो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू