‘अटेरी’ जगन्नाथ र भरतपुर ‘भाइरल’
यस पटकको स्थानीय तह निर्वाचनमा सर्वाधिक चर्चा बटुल्ने महानगर र भाइरल बन्ने उम्मेदवार पनि चितवन भरतपुरकै भएका छन् । गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनिन् माओवादी केन्द्रकी रेणु दाहाल ।
तर गठबन्धनकै अर्को दल नेपाली काँग्रेसबाट जगन्नाथ पौडेलले आफूलाई बागी उम्मेदवारको रुपमा उभ्याए । काँग्र्रेसका पुरानाका साथै भूतपूर्व सांसद समेत भएकाले उक्त विषयले राष्ट्रिय राजनीतिमा एक प्रकारको तरङ्ग उत्पन्न गराएको हो ।
सोही कारण गठबन्धन दलहरु एक अर्काप्रति रुष्ट हुने परिस्थति समेत निर्माण हुन पुग्यो । यसो त चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला पनि हो । प्रचण्ड सोही क्षेत्रका सांसद पनि हुनुहुन्छ । त्यस कारण पनि चितवन जिल्ला विगत पाँच वर्षदेखि चर्चाको शिखरमा छ ।
अघिल्लो निर्वाचनमा दाहालले महानगरको नयाँ नेतृत्व लिएपछि पाँच वर्षमा विकासको गतिले चितवनको मुहार नै बदलिएको यथार्थ पनि हो । गत पुसमा एमालेले आफ्नो महाधिवेशन बुटवलबाट एकाएक नारायणीको किनार र सौराहामा गरेपछि भरतपुर झन् चर्चामा आयो ।
विगतमा झिनो मतान्तरले जितेकी रेणुले यस पटक निकै फराकिलो अन्तरमा एमालेका प्रदेश सांसद विजय सुवेदीलाई हराइन् । विगतमा पनि एमालेकी देवी ज्ञवाली उक्त घानमा परेका थिए ।
उता आफूलाई बागी उम्मेदवार बनाएर दाहाल हराउने अभियानसहित चुनावमा गएका जगन्नाथले काँग्रेसभित्रका एक जना अटेरी नेताको रुपमा आफूलाई भाइरल बनाए । उनले न पार्टी, न पार्टीभित्रका मित्र वा केन्द्रको निर्णय नै स्वीकारे । आफ्नो अडानबाट टसमस भएनन् ।
पार्टीको निर्णय नमान्ने एउटा कार्यकर्तालाई फकाउन नेपाली काँग्रेसले गत वैशाख १२ गतेदेखि १४ गतेसम्म इतिहासमै नगरेको शक्ति खर्च गर्न पुगेको थियो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीलाई दूतको रुपमा खटाउनुभयो ।
तर पनि जगन्नाथ आफ्नै सुरमा अड्डी कसेर बसे । बागी फकाउन प्रधानमन्त्री स्वयम् पनि चितवन पुग्नुभयो । तर बागी जगन्नाथले प्रधानमन्त्रीलाई नभेट्ने समाचार पठाइदिए । त्यसपछि उनलाई ‘अटेरी जगन्नाथ’ भन्न थालियो । सामाजिक सञ्जाल र सञ्चार माध्यमलाई पनि के चाहियो र १ एकाएक उनै पौडेल भाइरल बने ।
आफूलाई प्रजातान्त्रिक अभ्यास गर्दै आएको बताउने काँग्रेसमाथि जगन्नाथ जस्ता अटेरी नेता र कार्यकर्ता उत्पादन गरेर उसको प्रजातान्त्रिक एवम् राजनीतिक अभ्यास कसरी अगाडि जाला भन्ने प्रश्न राख्नेहरु पनि धेरै देखिए । अराजक र उच्छृङ्खल गतिविधिले पार्टीलाई नै धक्का पुग्ने भन्दै पार्टीभित्र चिन्ता समेत देखाइयो ।
अन्ततः जगन्नाथले चुनाव हारेका छन् । अन्यत्र पनि जगन्नाथ जस्ता धेरैले चुुनाव हारेका खबर आएका छन् । तर काकताली परेर चुनाव जितेका एकाध जगन्नाथले भने पार्टी नेतृत्वलाई सच्चिन सुझाएका छन् । जनकपुरका बागी उम्मेदवार तथा विजयी मेयरले उक्त सुझाव दिएका हुन् ।
टिप्पणीहरू