आमाको घर
लकडाउनको करिब २ साताअगाडि धरानबाट हेटौंडा हुँदै काठमाडौं आउने यात्रा र काम तय भएको थियो । जहाँ कोही आफ्नो प्रिय मान्छे हुन्छ, जससँग मनका भावना, अध्यात्मका अनुभव र संसारको मित्रता गाँसिएको हुन्छ ती व्यक्तिलाई ऐनमौकामा भेटौं भन्ने चाहना सबैमा हुन्छ । त्यही कारण हो समय मिलेसम्म पूर्वतिरको यात्रा हुँदा हेटौंडामा रोकिएर केही समय बिताऊँ भन्ने इच्छा हुन्छ । हाम्रा अनन्य मित्र, सहपाठी, अध्यात्मको यात्रामार्फत परमार्थलाई केन्द्रमा राखेर पूर्णतः समाजसेवामा समर्पित विजयभाइ हुनुहुन्छ जोसँग थोरै समय मात्र भेट्दा पनि आनन्दको भाव वृद्धि हुन्छ । आफ्नो जीवन नै समाजसेवामा सुम्पिनुभएका विजय भाइले यसपटक आफ्ना सहयोगीहरूको साथ लिएर, मनहरी गाउँपालिका, स्थानीय एवं ब्रह्मकुमारी परिवारका मित्रहरूको सहयोगमा ‘आमा घर सेवा आश्रम’ को आयोजना अगाडि सारेर करिब १५ महिनाको बीचमा ४ तलाको आश्रम घर निर्माण गरिसक्नुभएको छ ।
आमा घर नै किन बनाउनुप¥यो ? किन यसको सोचाइ आयो भन्ने मेरो प्रश्नमा मातृशक्तिप्रतिको उहाँको गहन भावना, सम्मान र अहिलेको समयमा धेरै आमाहरू घरवारविहीन भएको यथार्थता सुन्दा थाहै नपाई दुबै आँखाबाट तपतप आँशुका ढिका झरेका थिए । ‘आमाको गर्भ’ जहाँ १० महिनासम्म आफ्नो घर बनाएर यो धर्तीमा पाइला टेकेका थियौं हामीले । आज धेरै तिनै आमाहरू घरबारविहीन देख्छौं समाजमा । यो दृश्यले हामी सबैको हृदय करुणाले भरिएर आउँछ । भनिन्छ, ‘ईश्वर जहाँ तहीँ पुग्न सक्दैनन्, त्यसैले आमा दिएर पठाए ।’ वास्तवमा संसार देख्ने र खुशी अनि सफलता प्राप्त गर्ने पहिलो खुट्किलो नै आमा हो । आमाको आशीर्वादबिना जीवन सफल र असल हुन सकोस्, कल्पनासम्म पनि गर्न सकिँदैन । निःस्वार्थ प्रेमकी खानी, सन्तानकै खुशीमा आफ्नो सर्वस्व देख्ने देवी यो जगत्मा कोही छ भने केवल आमा हुन् । आफ्ना सन्तानका नाममा सम्झीसम्झी जन्मोत्सव मनाउँछिन् । सन्तानलाई के मीठो लाग्छ र लाग्दैन, पलपल ख्याल पु¥याउँछिन् तर त्यही स्थानमा आमाका लागि सन्तानलाई सधँै हतार हुन्छ, ख्याल गर्ने समय नै मिलाउन सक्दैनन् । ६ जना सन्तान आमाले एक्लै हुर्काउँछिन् तर आमाको बुढेसकालमा तिनै छोराको बीचमा भागबण्डा चल्छ आमा कसले पाल्ने ? सानोमा सबैले मेरी आमा मेरी आमा भनेर खोसाखोस गर्ने सन्तान ठूला भएर कमाउन सक्ने भएपछि भन्छन्, आमा मेरी मात्र हुन् र ?
दुई छोराको बीचमा एउटा आमालाई १५ दिनको दरले सेवा दिने निर्णय हुन पुगेछ । ३० दिनको महिना हुँदा त ठिकै हुने गथ्र्याे तर कुनै महिना ३१ दिनको प¥यो भने आमालाई अति अप्ठ्यारो स्थिति सिर्जना हुने गर्दोरहेछ । त्यो १ दिन कसले जिम्मा लिने भन्ने प्रश्न उठ्दोरहेछ दुई भाइमा ! आजको हाम्रो समाज र संस्कारको अवस्था यस्तो छ । यसप्रकारको बोझमय जीवनयापन गर्नु नपरोस् भन्ने सद्भावले मकवानपुरको सिमपानी–८ मनहरीस्थित एउटा सुविधासम्पन्न आमा घर निःशुल्क सञ्चालन गर्ने पवित्र भावसाथ ४ तलाको ढलान सकेर विस्तारै आमाहरूलाई आमाको घरमा स्वागत गर्ने कार्य प्रगतिमा छ । लगभग ३ करोड रुपैयाँ लागतमा सम्पन्न हुने अनुमान गरिएको उक्त आमा घर निर्माणमा सहजता होस् भन्ने भावले मनकारी, परोपकारी एवं समाजसेवी यहाँहरू सबैको सानो भावनात्मक सहयोग र सक्रियतामा मुठी दान संकलन गरी आफूलाई जन्म दिने असंख्य आमाहरूको आशीर्वाद र सेवास्वरूप सेवार्थ हात अगाडि बढाई अभियानलाई सहयोग पु¥याइदिनुहुन हार्दिकतापूर्ण गरिएको अनुरोधको परिणामस्वरूप आश्रमले पूर्णता पाउने क्रम पनि जारी छ भने आमाको घरमा आइपुग्नुभएका आमाहरूलाई सेवा दिने कार्य पनि सुचारु भइसकेको छ ।
एकातिर एकल, घरवारविहीन, वृद्धाश्रम नै जानुपर्ने र घरमा परिवारसँग बस्न असहज आमाहरूको आश्रयको थलो हो आमाको घर भने अर्कोतिर, जीवनको उत्तराद्र्धमा भए पनि परमार्थको ख्याल गर्दै, आफ्ना जीवनभरका भोगाइ, संघर्ष र चुनौतीलाई विश्राम दिँदै ध्यान साधनमा समय बिताउने हेतुले साधना स्थलका रूपमा यसको प्रयोग गर्ने लक्ष्य राखिएको छ । करिब १ हेक्टरको क्षेत्र ओगटेको आमा घर सेवा आश्रम र सिमपानी देवकोटा एकीकृत वन विकास समितिद्वारा प्राप्त करिब ६.५ हेक्टरको वन क्षेत्रलाई पार्क निर्माण गरी प्रयोगमा ल्याउन आमा घर सेवा आश्रमले अवसर पाएको छ । अहिलेसम्म आमाको घरबाट सेवा लिइरहनुभएका आमाहरू त्यो पार्कको सेवामा पनि खटिनुभएको छ । आफ्नो नित्यकर्म, ध्यान साधना, खानपान सकेर सबै आमाहरू बगैंचामा जम्मा भई फूलहरू रोप्ने, फलफूलका बिरुवा हुर्काउने, बगैंचाको कुनै कुनामा रहेको मन्दिर सफाइ गर्ने त कुनै कुनामा करेसाबारीको रूपमा प्रयोग गर्ने कार्यमा समय लगाइरहनुभएका आमाहरूले समय आनन्दले बितेको अनुभूति गर्नुहुन्छ ।
यो जीवन केवल आफ्ना आवश्यकता पूरा गर्न, आफ्ना स्वार्थलाई पूरा गर्न मात्र होइन हाम्रो हृदयमा छिपेको कल्याणकारी भाव र परोपकार भावलाई प्रस्फुटन हुन दिनु पनि हो । हामीमा रहेका अनेक प्रकारका सेवा भाव जीवन छँदैमा प्रयोग हुन पाएनन् भने मृत्युको क्षणमा पश्चातापमा पर्नुको विकल्प छैन । परोपकारका अनेक आयाम छन् । आमाको घरमा सेवा दिन खटिने बहिनीहरूले आमाहरूका लागि खाना, बस्नको व्यवस्था र घर सफा सुग्घर राखेको देखेर मनै आनन्द हुन्छ । भाइहरू समग्र व्यवस्थापनमा खट्नुहुन्छ । भवन निर्माण पूरा हुन अझै बाँकी छ र पनि हरतरहले आर्थिक सहयोग जोगाड गरी हाँसीखुसी पुण्य कर्ममा होमिनुभएको छ । मातृशक्तिले दुःख, कष्ट र पीडा भोग्नु नपरोस् । आफूले जन्माएर मात्र सन्तान हुँदैनन्, सृष्टिका सबै मानव एकअर्कामा प्रेम, सद्भाव र सहयोगी भावनाले बाँचेको हुन्छ ।
सन्तान जसका भए पनि मानवीयता भएका हुनुपर्छ त्यसोभए सारा संसार आफ्नो लाग्छ भन्ने सन्देश आमा घर सेवा आश्रममा खटिने संयोजकज्यूहरू, चन्दादाता, हृदयमा प्रेम भरिएका स्थानीयको सहकार्य देख्दा असम्भव केही छैन भन्ने भावले आल्हादित बनाउँछ । कसैले भान्छाको सामान, कसैले फर्निचर, कसैले ओढ्ने ओछ्याउने, कसैले खाद्यान्न, कसैले नगद, जसको जे सामथ्र्य छ, जति सम्भव छ सहयोग गरी केवल दिनमा मस्त छन् । दिँदा आनन्द भाव महसुस गर्छन् र जीवन नै धन्य भएको अनुभूति गछन् । बिनास्वार्थ, मानवीयताको भाव सहितको कर्म, केन्द्रविन्दुमा ध्यान साधना र अस्तित्वको कृपालाई आत्मसात् गर्दै जीवन बाँच्ने कला हामी सबैले सिक्नलायक लाग्छ ।
घरपरिवारमा एक्लिएका, असहजता महसुस भएका, नेपालभरि जहाँका, जो–कोही आमाहरू आमाको घरमा आएर निःशुल्क सेवा लिन सक्ने प्रावधान छ । आमाहरूले मान्नुपर्ने सर्त भनेको केवल मांसाहार वर्जित छ अरू कुनै नियममा बाँधिनुपर्ने छैन । आमाहरूको सेवा गर्न पाऊँ भनी आमा घर सेवा आश्रमको उपभोग गर्न सबैलाई सुसूचित गराउन चाहन्छन् । सेवा, केवल सेवा के हो त्यसको उदाहरण र जीवन बाँच्ने कला, आफ्नो पन, प्रेम र साधना एकै ठाउँमा समेटिएको आमा घर सेवा आश्रम वास्तवमै एउटा नमुनाको स्थल बनेको छ ।
‘नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः।
नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया ।’
महर्षि वेदव्यासले नारीहरूको सम्मान गर्दै नारीलाई मातृत्वको कदर दिन सके सबै नारी त्यो सम्मानमा अटाउन सक्छन् भन्ने भाव व्यक्त गर्नुभएको छ । मातृत्व समान कुनै छाया छैन, मातृत्व समान कुनै सहारा छैन । मातृत्व समान कुनै रक्षक छैनन् र मातृत्व समान कुनै प्रिय चिज छैन । आज नेपालमा र खासगरी विश्वभरि नारीलाई दोस्रो कोटिमा राखेर हेर्ने संस्कार भएको हुनाले नारीले आफ्नो सम्मान र हक अधिकार, पुरुषसरह हुनुप¥यो भन्दै कानुनतः माग गर्नुपर्ने र विभिन्न अभियान चलाउनुपर्ने दुःखद स्थिति हो । जहाँ सृष्टिको सम्मान हुँदैन, सृष्टिमाथि नै दुव्र्यवहार, उपेक्षा, अपराध, हीनताबोध हुने कर्म र व्यवहार देखाइन्छ त्यहाँ शान्ति र समृद्धिको अनुभूति कसरी होला ?
यही यथार्थतालाई उजागर गर्न तन, मन, धनले साथ दिएर खटिएका आमा घर सेवा आश्रमका स्वयंसेवीलाई जति धेरै शब्द खर्च गरेर आभार व्यक्त गरे पनि कमी हुनेछ । जहाँ प्रेम र सौहार्दता अभाव हुन्छ त्यहाँ असमानता, अशान्ति सिर्जना हुन्छ । त्यसैले आजको परिस्थितिमा पनि जहाँ–जहाँ जे अभाव छ त्यहाँ नारीत्व र मातृत्वको कदर अभाव छ किनकि अत्याचार, हिंसा, अराजकता भनेको प्रेमको अभाव हो, माधुर्यता, सौन्दर्यको अभाव हो र त्यो अभाव निर्मूल गर्ने शक्ति आमाहरूसँग छ, आमाको आशीर्वादमा छ । मानवअधिकार संरक्षणका कुरा हुन् या मुलुकको सुध्रिँदो राजनीतिक अवस्था, स्थिर सरकार या जुनकुनै क्षेत्रबाट नेपालको विकास देख्न चाहने हो भने त्यहाँ नारीत्व र मातृत्वको कदर हुनु जरुरी छ । मकवानपुर–८ मनहरीमा रहेको ‘आमाको घर’ यहाँहरूको स्वागतमा बाटो हेरिरहेको छ । सबैको सेवामा हाजिर हुन हरपल तत्पर छ ।
टिप्पणीहरू