लोकप्रिय नेताको सत्ता पुगेपछि परस्त्रीसम्बन्धी लफडा
नाओको केमोतोको जन्म जापानको राजधानी टोकियोस्थित गरिब परिवारमा भयो । आमा सधैं बिरामी नाओको १६ वर्षकी हुँदा सिकर्मी बाबुको निधन भयो । घरमा कमाउने अरु कोही नभएपछि उनी नाइटक्लब ‘कापाकाबाना’मा काम गर्न थालिन् । सन् १९५९ मा १९ वर्षकी भइन् ।
सन् १९४५ मा इण्डोनेसिया जापानबाट स्वतन्त्र भयो । २५ वर्षको कलिलो उमेरमै जापानी उपनिवेशविरोधी नेशनल दल गठन गरी स्वतन्त्रताको संग्राममा होमिएका सुकार्नो प्रथम राष्ट्रपति बने । उनका बाबु हिन्दूधर्मबाट प्रभावित थिए । महाभारतका पात्र कर्णबाट विशेष प्रभावित । त्यसैले उनैको नाउँबाट छोराको नाउँ सुकार्नो (असल कर्ण) राखिदिए । सुकार्नो राष्ट्रिय हिरो थिए ।
जनता उनलाई ‘बंग कर्ण सुकार्नो’ भनेर संबोधन गर्थे । बंगको अर्थ दाजु वा कमरेड हो । उनी कम्युनिष्ट थिए । साम्राज्यवाद र पुँजीवादविरोधी । पटक–पटक जेल परे । निर्वासित भए । राष्ट्रपति भएपछि सोभियत संघ र चीनको सहयोगमा कम्युनिष्ट पार्टीको रक्षा गर्न खोजे । जसको कारण सेना र कट्टरपन्थी मुसलमानहरू चिढिए । स्मरणीय छ, इण्डोनेसियाको त्यो पार्टी त्योबेला संसारकै सबैभन्दा ठूलो गैरसत्तारुढ कम्युनिष्ट पार्टी थियो । सन् १९५५ मा यसको सदस्यता २० लाख पुगेको थियो ।
सुकार्नो दुई देशबीचको सम्बन्ध सुधार्ने हेतु सन् १९५९ को जुनमा जापान गए । इम्पेरियल होटलमा बसे । रंगीन स्वभावका थिए । ५८ वर्षको भइसकेका उनले त्यतिञ्जेलसम्म ४ वटीसँग बिहे गरे । पहिलो बिहे २० वर्षको उमेरमा १६ वर्षकी सिति ओइतारिसँग भएको हो । उनीहरूको बीचमा लोग्नेस्वास्नी नभई दाजु र बहिनीको जस्तो सम्बन्ध रह्यो । सन् १९२३ मा सम्बन्धविच्छेद भयो ।
त्यसपछि इङिट गार्नासिहसित बिहे, उनलाई सन् १९४३ मा त्यागे । इङिट निसन्तान रहिन् । सोही वर्ष फातिमावतीसँग बिहे गरे । मुलुक स्वतन्त्र बनेपछि फातिमावती नै इण्डोनेसियाको प्रथम महिला बनिन् । फातिमाले सुकार्नोलाई ५ सन्तानको बाबु बनाइदिइन् । लोग्ने र केटाकेटीलाई छाडेर गइन् । उनीहरुको औपचारिक तवरमा कहिल्यै सम्बन्धबिच्छेद भएन । सन् १९५३ मा फेरि विधवा हार्तिनीसँग बिहे गरे । हार्तिनी ३० वर्षकी थिइन् तर त्यतिञ्जेल ५ सन्तानकी आमा बनिसकेकी थिइन् ।
सुकार्नो टोकियो पुगेको समय नाओको पढ्दै थिइन् । नाइटक्लबमा नाच्थिन् । गिशा (देहव्यापार) को पेशा पनि गर्थिन् । एक जना दलालमार्फत सुकार्नो बसेको इम्पेरियल होटल पुगिन् । सुकार्नोले सँगै रात बिताउन सो दलाललाई युवती उपलब्ध गराइदिन माग गरेका थिए । सुकार्नो कला, साहित्य, नृत्य, गायन र चित्रकलाको पारखी थिए । यी सबैमा नाओकोको पनि रुचि थियो । रुचि मिलेपछि पहिलो भेटघाटमै दुबै नजिकिए । त्यसो त सुकार्नो र नाओकोबीच ३९ वर्षको फरक थियो तैपनि नाओकोले पनि सुकार्नोलाई मन पराइन् । नाओको रूपशी थिइन् साथै असल स्वभावकी धनी ।
भनिन्छ, पहिलो रात उनीहरूबीच देहमिलन भएन । आ–आफ्ना रुचि र स्वभावबारे गफ गर्दै बित्यो । पर्सिपल्ट १६ जुनमा सुकार्नो आफैँ क्लब पुगे, नाओकोको नृत्य हेरे । दुई हप्ता टोकियो बसे र यसबीच अर्को २ पटक नाओको इम्पेरियल होटल छिरिन् । उनीहरूबीच गहिरो प्रेम बस्यो । एकार्कासित नछुट्टिने कसम खाए ।
सुकार्नो जकार्ता फर्के । तर, मन टोकियोमै छुट्यो । चिम्सो आँखा र हँसिलो अनुहारलाई चाहेर पनि बिर्सनै सकेनन् । अब मनको बह पत्रमार्फत पोख्न थाले । जुन दिन नाओकोको प्रत्युत्तर पाउँथे, आफूलाई सबैभन्दा भाग्यमानी ठान्थे । सुकार्नोको मन त्यतिले पनि सन्तुष्ट हुन्नथ्यो । उनी नाओकोको सामीप्य नै चाहन्थे त्यसैले जकार्ता फर्केको केही समयपश्चात् नाओकोलाई निम्तो पठाए । उता, नाओकोको अवस्था उस्तै थियो । सुकार्नोसित फेरि भेट होला कि नहोला भन्ने चिन्तामा सधैँ डुबिरहन्थिन् । त्यस्तो बेला हातमा सुकार्नोले पठाएको निम्तो पुग्यो । उनी दंगदास परिन् र जकार्ता भ्रमणको चाँजोपाँजो मिलाउन थालिन् ।
एउटा मुलुकको राष्ट्रपतिले नै पठाएको निम्तो भएकाले तुरुन्तै सबै कुरा मिल्यो । उनी जब जकार्ता विमानस्थलमा ओर्लिन् उनलाई लिन गाडीको ताँती लागेको थियो । सिधै राष्ट्रपति निवासमा पु¥याइयो । र, भोलिपल्ट सुकार्नोले नजिकै टापुमा बनाइएको आलिसान रिसोर्टमा लगे । नाओकोले समुन्द्रको आनन्द उठाइन् । उनीहरूले निकै रमाइलोसँग दिन बिताए । केही दिनको इण्डोनेसिया बसाइपछि नाओको जापान फर्किइन् ।
फेरि उनीहरूबीच प्रेमपत्रको बाढी नै चल्यो । नाओकोको अनुसार उनीसित सुकार्नोको करिब ५ सय पत्र सुरक्षित थियो । सुकार्नोको अधिकांश पत्रमा काव्यात्मिक ढंगले नाओकोको रूपको, आनिबानीको प्रशंसा गरिएको हुन्थ्यो । अन्यमा प्रायः उनले इण्डोनेसियाको राजनीतिकलगायत अन्य अवस्थाबारे वर्णन गरेका हुन्थे । एउटा त उनले मन्त्रिमण्डलको बैठक बस्दाबस्दै पनि लेख्न भ्याएका रहेछन् । उक्त पत्रमा भनिएको छ, ‘भौतिक तवरमा यतिखेर म क्याबिनेट बैठकमा छु तर मेरो मन, तिम्रो साथमा छ ।’
नाओकोले पछि मिडियालाई भनिन् कि पत्रमा सुकार्नोले व्यक्त गरेका भावना अनुपम श्रेणीका छन्, जसलाई अनेक प्रकारले व्याख्या गर्न सकिन्छ । नाओकोकै अनुसार एउटा पत्रमा सुकार्नोले यसरी पनि लेखे, ‘जब मैले मेरो कम्मरमुनिको कपालमा काइँयो लगाएँ, तब उनले भनिन्– उनको माया मेरो भन्दा लामो छ ।’
सन् १९६२ मा सुकार्नोले फेरि नाओकोलाई इन्डोनेसिया बोलाए । जब नाओको दोस्रो पटक जकार्ता पुगिन् सुकार्नोले उनीसमक्ष बिहेको प्रस्ताव राखे । नाओकोले विश्वासै गर्न सकिनन् कि अब उनी इन्डोनेसियाकी प्रथम महिला बन्दै छिन् । सहर्ष प्रस्तावलाई स्विकारिन् । तर, नाओकोकी आमा उक्त बिहेको विपक्षमा उभिइन् । प्रमुख कुरो, आफ्नी छोरीले धर्म परिवर्तन गरी मुस्लिम बन्न गइरहेको उनले पचाउनै सकिनन् । आमाको सहमतिबेगर नाओकोले सुकार्नोसित सन् १९६२ को मार्च ३ मा बिहे गरिन् ।
र, मुस्लिम नाउँ रत्नासारी देवी अपनाइन् । नाओको उर्फ रत्नासारी देवीको वैवाहिक जीवन भने सुखद बनेन । बिहे गरेको केही घण्टामै आमाको निधन हृदयाघातबाट भयो भने २६ घण्टाभित्र एक्लो भाइ यासोले आत्महत्या गरे । उनले पछि पत्रकारलाई भनिन्, ‘मैले एकातिर अति माया गर्ने लोग्ने पाएकी थिएँ, अर्कोतर्फ परिवारको नाउँमा बाँकी रहेका आमा र भाइ दुवैलाई गुमाएँ । म एकछिनमै भरिएको थिएँ, अर्कोछिनमै रित्तो हुन पुगें ।’
उता, सुकार्नो नवपत्नीलाई सान्त्वना दिनतर्फ लागे । दुःखी मनलाई सान्त्वना दिन छुट्टै आलिशान घर बनाइदिए । जालान सोइब्रोतोमा निर्मित उक्त घर यतिखेर संग्रहालय बनेको छ । सुकार्नो र रत्नाको बिहे गुपचुप गरिएको थियो, किनभने सुकार्नोकी पत्नीको रूपमा हार्तिनी थिइन् । हार्तिनीले सुकार्नोले रत्नासित गोप्य सम्बन्ध राख्न थालेको मात्र होइन, आफ्नै लोग्नेको निम्तोमा पछि रत्ना बनेकी नाओको दुईपटक इण्डोनेसिया आएको समेत थाहा पाएकी थिइनन् । उनले एकैपटक सन् १९६४ मा मात्र पत्तो पाइन् ।
त्यो पनि सुकार्नोले एउटी जापानी केटीसँग बिहे गरिसके भन्ने हल्ला चलिसकेपछि । विद्यार्थी सुकार्नोको पछिल्लो बिहेलाई लिएर प्रदर्शनमा उत्रिए । पत्रपत्रिकाले विरोध गर्न थाले । विरोधको मुख्य कारण थियो– रत्ना जापानी हुनु । किनभने इण्डोनेसियालीहरु जापानीलाई आक्रमणकारी र लामो समय आफ्नो देश खाएर बसेकाहरू भन्ठान्थे ।
रत्ना सुकार्नोपत्नी भएपछि विलासी बनिन् । आफ्नोनिम्ति ठूलो महल बनाउन र भवनमा महँगो तेलचित्र झुण्ड्याउन लगाइन् । राज्यको ढुकुटीको दुरूपयोग गरी विदेशी बैंकमा पैसा जम्मा पारिन् । यसबीच, सन् १९६५ मा जर्नेल सुहार्तोको नेतृत्वमा सेनाले आमसंहार मच्चाए । यो घटनामा १२ लाख कम्युनिष्ट मुलासरह काटिए । अझ कतिपय अन्तर्राष्ट्रिय संगठनले यसरी मारिनेको संख्या २० देखि ३० लाख पुगेको अनुमान गरेका छन् । यसपछिको दिनमा सुकार्नो नाउँ मात्रको राष्ट्रपति रहे । सन् १९६६ को जुन २२ मा त नजरबन्दमै परे । र सन् १९६७ को मार्च २७ मा बर्खास्त भए । उनको निधन मिर्गाैलाको रोगबाट सन् १९७० को जुन २१ मा जकार्तास्थित सैनिक अस्पतालमा हुँदा ६९ वर्षका थिए ।
रत्नाले सैन्य विद्रोह हुने भनक पाइसकेकी थिइन् । अपदस्थ आफ्नो पतिसित बाँकी जीवन बिताउन चाहँदैनथिन् । त्यो बेला गर्भवती थिइन् । यही बहाना बनाएर माइती गइन् । सुकार्नोले जापान र पेरिसमा समेत घर किनिदिएका थिए । जापान गएको केही दिनपश्चात् नै पेरिस पुगेर छोरी कार्तिकालाई जन्म दिइन् । कार्तिका सुकार्नोकी आठौं सन्तान हुन् । त्यहाँ उनी आनन्दले रहिन् ।
सुकार्नो अपदस्थ भइसकेपछि कत्ति न लोग्नेको चिन्ता लागेजस्तो गरी इण्डोनेसिया फर्कन चाहेको बताइन् र छोरी तथा सहायकहरूसहित हङकङ पुगेर सैन्य सरकारसित अनुमति मागिन् । तर, सैन्य सरकारले इण्डोनेसिया आएमा पक्राउ पर्नसक्ने र सम्पत्तिसम्बन्धी छानबिन हुने बताएपछि त्यसोभए ‘आउँदिन’ भनिन् । मिडियामार्फत सुकार्नोको स्वास्थ्यप्रति चिन्ता जनाइन् ।
र, फेरि जापान हुँदै पेरिस फर्किइन् । हङकङ र जापानको उद्योगमा उनको ठूलो लगानी थियो । कहिले जापान त कहिले पेरिस बस्ने गरिन् । जापानको घरमा १६ वटा कुकुर पालेकी थिइन् भने व्यापार व्यवसाय चलाएकी थिइन् । विस्तारै सुकार्नोलाई बिर्संदै गइन् किनभने सुकार्नो अब साधारण व्यक्तिमा सीमित भइसकेका थिए । रत्नाले ६८ वर्षको बूढो सुकार्नोलाई त्यागेर जापानी चलचित्र अभिनेता मासाहिको त्सुगावासित बिहे गर्न खोजिन् ।
यो समाचार सुनेर सुकार्नो निकै दुःखी बने । अन्तिम समयमा सुकार्नोलाई उनै पत्नी हार्तिनीले साथ दिइन्, हेरचाह गरिन् । सुकार्नोको मृत्युपछि रत्ना उनै मासाहिकोसँग बसिन् । उनले मुस्लिम धर्म नत्यागेकाले मासाहिकोसँग बिहे गर्न भने पाइनन् ।
टिप्पणीहरू