जावेदी, हनी शबाना र कैयनको रोचक जिन्दगी

जावेदी, हनी शबाना र कैयनको रोचक जिन्दगी

आहट सी कोई आए तो लगता है कि तुम हो,
साया कोई लहराए, तो लगता है कि तुम हो ।
जब शाख कोई हाथ लगाते ही चमन में
शरमायें लचक जाए तो लगता है कि तुम हो,
संदल से महकती हुई पुर–कैफÞ हवा का
झोंका कोई टकराये तो लगता है कि तुम हो,
ओढ़े हुए तारों की चमकती हुई चादर
नदी कोई बल खाए तो लगता है कि तुम हो,
जब रात गए कोई किरन मेरे बराबर
चुप–चाप सी सो जाए तो लगता है कि तुम हो ।
(संदल = सुगन्धित दाउरा चन्दन । पुर–कैफ = मदहोस, नशालु, मादक )

यो लोकप्रिय गजल चर्चित शायर जाँ निसार अख्तरको हो । उनी गजलकार मात्र हैन २० औं शताब्दीका महत्वपूर्ण गीतकार र कवि पनि हुन् । भारत स्वतन्त्र हुनुपूर्व गठित प्रगतिशील लेखक संघका सदस्य र प्रगतिशील साहित्यिक अभियानका अभियन्ता अर्थात् साम्राज्यवादविरोधी र माक्सवादी । प्रसिद्ध कवि र दार्शनिक फैजल इ–हक खैराबादीका नाति र अर्का कवि मुख्तार खैरावादीका पुत्र । गायिका र लेखिका साफिया सिराज उलहक र खादिजा तलतका पति । ग्वालियरमा जन्मेका जाँ निसारले हिन्दी फिल्मका लागि १ सय ५१ वटा गीत लेखे, ती गीत ती गीत ८० वटा चलचित्रमा प्रयोग भयो । अधिकांश हिट भए । उनका लोकप्रिय फिल्मी गीतमध्ये सन् १९५९ मा प्रदर्शित चलचित्र ‘ब्लैक क्याट’ को गीत यस्तो छ ।

‘मैं तुम्ही से पुछति हुँ
मुझे तुमसे प्यार क्युँ है,
कभि तुम दगा न दोगे
मुझे एतबार क्युँ है ।’

पनि एक हो । उनले पहिलो गीत सन् १९५५ मा प्रदर्शित चलचित्र ‘यास्मिन’ का लागि लेखेका थिए भने अन्तिम गीत सन् १९८३ मा प्रदर्शित ‘रजिया सुल्तान’ हो । सन् १९४३ मा स्कुले शिक्षिका साफियासँग बिहे भयो । साफियाका दाजु मजाज लखनवी पनि कवि थिए । साफियाले सन् १९४५ मा पहिलो सन्तानको रूपमा जावेद अख्तरलाई जन्म दिइन् भने दोश्रो सन्तान सलमान अख्तर हुन् । साफियाको सन् १९५३ मै असामयिक निधन भयो । जाँ निसारले त्यसपछि सन् १९५६ मा खादिजा तलतसँग बिहे गरे । जाँ निसारका छोराहरू जावेद र सलमानको सौतेनी आमासित सम्बन्ध कहिल्यै राम्रो भएन ।

जाँ निसारले आफ्नो जेठा छोराको नाउँ राखेका थिए – जादू । यो उनी आफैले रचना गरेको गीत ‘लमहा, लमहा, किसि जादू का फसाना होगा’ बाट प्रभावित भइ राखेको नाम हो । तर, स्कूलमा भर्ना गर्दा समयमा भने जावेद राखिदिए । जावेदले स्कुले शिक्षा लखनऊ र स्नातक भोपालबाट प्राप्त गरे । जावेदको परिवारका अधिकांश सदस्य शब्दसित खेल्नमा सिपालु थिए । पारिवारिक संगतले नै उनी पनि लेखक बने । शायरी र कविता लेख्न थाले । स्कुले जीवनमा सबैको लागि प्रेमपत्र लेखिदिन्थे । प्रेमपत्र लेखाउन उनकोमा लाइन लाग्थ्यो । चिने नचिनेका सबैका लागि प्रेमपत्र लेखे ।

१९ वर्षको उमेरमा सन् १९६४ मा भाग्य आज्माउन मुम्बै पुगे । त्यहाँ उनका कोही थिएनन् न बस्नलाई घर न खाना । निकै दिन सडक पेटी र पार्कको रूखमुनि रात बिताए । भोकभोकै सुते । उनी मुम्बै चलचित्र जगत्मा प्रवेश गर्न चाहन्थे । निकै दिनको संघर्षपछि निर्देशक तथा नामी अभिनेत्री मीनाकुमारीका पति कमाल अमरोहीले काम दिए । त्यहाँ उनले ‘क्लैप ब्वाइ’ काम गरे । चलचित्र ‘सरहदी लुटेरा’ को छायांकनको दौरान उनको भेट लेखक सलिम (नायक सलमान खानका पिता) सँग भयो ।

सलिममार्फत उनको भेट कवि कैफी आजमी (अभिनेत्री शबाना आजमीका पिता) संग भयो । उनलाई कैफीले आफ्नो सहायकमा नियुक्त गरे भने सलिम लेखक, निर्देशक अवरार अलवीको सहायक बने । प्रायः उनीहरूको भेटघाट भैराख्थ्यो । कैफी र अवरारकै उक्साहटमा सलिम र जावेदले संयुक्त लेखन शुरु गरे । सलिम जावेदको नाउँबाट पहिलो पटकथा जन्मियो – फिल्म हाथी मेरे साथीको । निर्देशक थिए – एमए थिरुमुगम । नायक थिए, राजेश खन्ना अनि नायिका तनुजा । सन् १९७१ मा प्रदर्शित यो चलचित्र सुपरहिट सावित भयो । अर्को वर्ष रमेश सिप्पीको फिल्म ‘सीता और गीता’ को लागि फेरि दुबै मिलेर कथा लेखे ।

प्रमुख कलाकार थिए – हेमामालिनी, धर्मेन्द्र र सञ्जीवकुमार । चलचित्रमा हनी इरानी पनि थिइन् । हनी ब्लैक एण्ड ह्वाइट चलचित्रहरूको बाल कलाकार हुन् । उनको जन्म मुम्बैमा भएको हो । ५ दिदीबहिनीमा कान्छी । उनकी एक दिदी डेजी इरानीले हनीलेभन्दा धेरै चलचित्रमा बालकलाकारको रूपमा अभिनय गरेकी थिइन् । उक्त चलचित्र निर्माणकै क्रममा जावेद र हनीबीच परिचय भयो । दुबै मिल्ने साथी बने । छायाँकनबाट फुर्सद मिलेको बेला एकदिन कलाकार र प्राविधिक कर्मचारी तास खेल्न शुरु गरे । जावेद हारेको हा¥यै, राम्रो तास नआएर दिक्क मान्न थाले । हनीले जावेदको मनस्थिति बुझेर भनिन्, ‘पख म, तिम्रा लागि राम्रो तास तानिदिन्छु ।’

जावेदले ठट्टा गर्दै भने ‘ठीक छ, यदि तिमीले मेरो लागि राम्रो तास तान्न सक्यौ भने म तिमीसँग बिहे गर्ने भएँ ल !’ संयोग, हनीले तानिदिएको तासका कारण जावेदले गेम जिते । सबैले अब जावेदलाई बिहे गर्छु भनेको होइन ? ल बिहे गर भनी दबाब दिन थाले । जावेदलाई हनी पहिल्यै मन पर्थिन् नै अनि हनीलाई पनि जावेद । ठट्टामा बोलेको कुरो यथार्थमा बदलियो । सीता और गीता चलचित्र प्रदर्शित हुनुअगावै सन् १९७२ को मार्च २१ मा उनीहरूले बिहे गरे ।

त्यसबेला जावेद २७ र हनी १७ की थिइन् । हनी नाबालिग थिइन्, बिहे गर्ने वर्ष नपुगेकी तैपनि, कानुनलाई चुनौती दिएर उनीहरू एक भए । बिहे गरेको समयमा जावेदको आफ्नो घर थिएन । त्यसैले हनीले जावेदलाई आफ्नी जेठी दिदी मानेकाको घरमा लगिन् । हनी बिहे गरेको ७ महिनामै आमा बनिन् । उनकी पुत्री जोया अख्तर यतिखेर चलचित्र निर्देशक र पटकथाकार छिन् । २ वर्षपछि हनीले अर्को सन्तानको रूपमा छोरालाई जन्म दिइन् । फरहान अख्तर यतिखेर हिन्दी चलचित्रका अभिनेता, निर्माता, निर्देशक, पटकथाकार, पाश्र्वगायक अनि टेलिभिजनकर्मीको रूपमा काम गर्दैछन् । जावेद फिल्ममा संघर्षरत नै थिए । त्यसैले हनीले पूर्णरूपमा घर र बच्चा सम्हालिन् ।

जावेदले सलिमसित मिलेर अन्दाज, अधिकार, यादोंके बारात आदि चलचित्रको पटकथा लेख्दै गए । र जब सन् १९७३ मा अमिताभ बच्चन र जया भादुडी अभिनित फिल्म ‘जन्जिर’ प्रदर्शित भयो । सलिम–जावेदको जोडी सबैभन्दा सफल पटकथाकारको रूपमा मुम्बै चलचित्र जगतमा स्थापित भयो । यसपछि सलिम र जावेद दुबैले पछाडि फर्केर हेर्नै परेन । एकपछि अर्को चलचित्रहरू दिवार, शोले, चाचाभतिजा, डोन, त्रिशूल, दोस्ताना, क्रान्तिजस्ता सफल चलचित्रहरू दिए । दुबैले मिलेर २४ वटा चलचित्रको लेखन गरे जसमध्ये २० वटा सफल सावित भए । नाम, दाम दुबै कमाए ।

जावेद र हनीको दाम्पत्य जीवन सुखद बन्दै थियो । हनी घर सम्हाल्दै र जावेद पेशालाई अघि बढाउँदै थिए । यसबीच, चलचित्र जगतमै ब्यस्त अभिनेत्री शबाना आजमीसँग जावेदको सम्बन्ध नजिकियो । शबाना प्रसिद्ध उर्दू कवि र गीतकार कैफी आजमी र रंगमंचकी कलाकार शौकत आजमीको छोरी हुन् । जावेद कैफीको सहायक बनी काम गरिसकेका । पछि पनि जावेद आफ्नो कविता, गीत कैफीलाई देखाउन जान्थे । शबानासित आफ्नो लोग्नेको नजिकपनबारे हनीले थाहा पाइसकेकी थिइन् । उनले जावेदले आफूलाई प्रेम गर्न छाडेको र विस्तारै टाढिन थालेको महसुस गर्न थालिन्, किनभने पारिवारिक कलह शुरु भैसकेको थियो । त्यसैले दुई जनाबीचबाट आफू हटिदिने निर्णय गरिन् । जावेदलाई आफैले शबानाको नजिक जान भनिन् । र, बिहेको ६ वर्षपछि सन् १९७८ देखि अलग्ग बस्न थालिन् ।

उता, जावेद र शबाना बिहे गर्ने स्थितिसम्म पुगे । तर, शबानाकी आमा शौकत यो बिहेको पक्षमा लागिनन् । कैफी र शबानालाई शौकतलाई मनाउन निकै समय लाग्यो । अन्त्यमा, सन् १९८४ मा उनीहरूको बिहे भयो । र, बिहेको अर्को वर्ष हनी र जावेदको कानुनी तवरमै सम्बन्धविच्छेद भयो । राम्रो कुरा, शबानासितको बिहेपश्चात् पनि जावेद र हनीबीच र हनी र शबानाको बीचमा तीतो सम्बन्ध भएन । जावेदले हनीको लागि खर्च दिइरहे भने शबानाले हनीका सन्तानलाई आफ्नै सन्तान सम्झेर पाल्दै गइन् । हनीले जावेदसित छुट्टिएपछि सारीमा इम्ब्रोइडरको काम थालिन् र चलचित्रको पटकथा लेखिन् ।

लम्हे र क्या कहनाबाट सर्वश्रेष्ठ कथाकार र कहो ना प्यार हैबाट सर्वश्रेष्ठ पटकथाकारको फिल्मफेयर अवार्ड नै जितिन् । ७२ वटा चलचित्रमा अभिनय गरिसकेकी उनले अहिलेसम्म १७ वटा चलचित्रको पटकथा लेखिसकेकी छन् भने ’अर्मान’ को निर्देशन । जावेद पनि कथा, पटकथा, गीत, कविता लेखनमा ब्यस्त छन् । ५ पटक राष्ट्रिय पुरस्कार र एकपटक पद्मश्री पदकबाट सम्मनितसमेत भैसकेका छन् । राजनीतिमा उनी भारतीय कम्युनिष्ट पार्टीको निकट छन् । राज्यसभाको सदस्यसमेत भैसकेका हुन् ।

सन् १९७४ मा प्रदर्शित चलचित्र ‘अंकुर’ बाट चलचित्रमा पाइला टेकेकी र चलचित्र जगतलाई दर्जनौं उत्कृष्ट कलात्मक चलचित्र दिएकी शबानाले झन् जावेदले भन्दा धेरै पुरस्कारहरू जितेकी छन् । उनी टेलिभिजनमा पनि क्रियाशील छिन् । प्रगतिशील विचारधाराकी उनी पनि राज्यसभाको सदस्य बनिसकेकी छन् । यतिखेर हनी ६६, शबाना ७१ र जावेद ७७ वर्षका भए ।

टिप्पणीहरू