सचिवसँग कार्यसम्पादन सम्झौता गरेपछि सहरी विकासमन्त्रीको भनाइ : कुनै पनि बहानामा पन्छिने छुट छैन
सहरी विकासमन्त्री मेटमणि चौधरीले कुनै पनि समस्या देखाएर पन्छिने छुट कसैलाई नभएको बताउनुभएको छ । उहाँले आज मन्त्रालयमा आयोेजित कार्य सम्पादन सम्झौताको क्रममा उक्त कुरा बताउँदै कार्य सम्पादन सम्झौता आफूले आफैंसँग गरेको प्रतिबद्धता भएको उल्लेख गर्नुभएको छ ।
आज मन्त्री चौधरी र सचिव डा. रमेशप्रसाद सिंहबीच कार्य सम्पादन सम्झौता भएको छ । त्यस्तै मन्त्रालयका सचिव र मन्त्रालय तथा मन्त्रालयसम्बद्ध निकायका पदाधिकारीहरूबीच पनि कार्य सम्पादन सम्झौता भएको छ ।
निजामति सेवा नियमावली २०५०, सुशासन ऐन २०६४ र सोको नियमावली २०६५ को प्रावधानअनुसार आ.व. २०७९÷८० को कार्य सम्पादन सम्झौता भएको हो ।
‘सम्झौता आफैँमा सेल्फ कमिटमेन्टको कुरा हो । सम्पन्न हुन बाँकी काममा ध्यान दिनुहोला । मुआब्जाका कारण रोकिएका आयोजनाका सन्दर्भमा मुआब्जाबारे अध्ययन गर्ने, हटाउनुपर्ने संरचना भए हटाउने, व्यवस्थापन गर्नुपर्ने भए छिटो व्यवस्थापन गरौं । तर समस्या देखाएर पन्छिने छुट कसलाई छैन,’ उहाँको निर्देशन थियो । निर्देशनात्मक मन्तव्य राख्दै मन्त्री चौधरीले भन्नुभयो ।
देशभर निर्माण भएका सिटी हल तथा भ्यू टावरहरुलाई कार्यविधि बनाई व्यवसायिक प्रयोजनमा लैजान ढिलाई गर्न नहुने उहाँको भनाइ छ । आफूले निरन्तर निगरानी गर्ने र व्यवधान आए समयमै जानकारी गराउन सचिवलगायतलाई निर्देशन दिइएको छ ।
टिप्पणीहरू