व्यक्तिगत लोकप्रियताको शिखरबाट देशकै विघटनसम्म
मिखाइल गोर्वाचेभलाई प्रायः सबै कम्युनिष्ट, समाजवादी, वामपन्थीहरूले सोभियत संघ विघटन गराउने खलपात्रको रूपमा लिने गरेका छन् । उनले चालेको कदमकै कारण पूर्वी युरोपका समाजवादी सरकारहरू एकपछि अर्को ढल्दै गएका पनि हुन् । उता, समाजवादी सत्ता नरुचाउने अमेरिका, पश्चिमी युरोपलगायतका जनता भने उनलाई नायक सम्झन्छन्, किनभने दुई युरोपलाई विभाजन गर्ने गरी ठड्याइएको जर्मनीको बर्लिन पर्खाल ढलेर ४५ वर्षदेखि विभाजित दुई जर्मनीका जनताको पुनर्मिलन सम्भव बनेको थियो । जे होस्, गत साता मात्र दिवंगत गोर्वाचेभ यस्ता राजनीतिक पात्र हुन्, जसको लेखाजोखा विश्व इतिहासमा नायक अनि खलनायक दुवै रूपमा सदा अंकित रहिरहने पक्का छ ।
रुस तत्कालीन सोभियत संघभित्रको सबैभन्दा ठूलो गणराज्य हो । गोर्वाचोभको जन्म त्यसैको एउटा गाउँ पृभोल्नोयेमा सन् १९३१ मा भएको हो । त्यसबेला उक्त गाउँमा रुसी र युक्रेनीको बाहुल्य थियो । बुबा रुसी थिए भने आमा युक्रेनी । जन्मँदाको नाउँ भिक्टोर थियो तर पछि चर्चले मिखाइल राखिदियो । आमाबाबु गरिब किसान थिए । बिहेको ३ वर्षपछि मिखाइलको जन्म भयो । उनी जन्मँदा जोसेफ स्टालिनको शासन थियो । उनले देशैभरि सामूहिक खेती शुरु गरे । मिखाइलको आमातर्फका बाजेले स्टालिनको सो अभियानलाई पूर्णरूपमा सघाए । अत, उनी गाउँको सामूहिक खेतका प्रथम अध्यक्ष पनि बने । मिखाइल ३ वर्षको हुँदा आमा मारिया पान्तेयेलेभ्ना गोर्वाचेभले मामाघरमा छाडेर फर्किइन् ।
सन् १९३० देखि १९३३ सम्म सोभियत संघमा ठूलो अनिकाल पर्यो । यसलगत्तै स्टालिनले पार्टीभित्र विरोधीको सफाया अभियान चलाए । मिखाइलका बुबा र आमापट्टीका दुबै बाजेहरू जेल परे । उनीहरू ४ वर्ष यातनागृह र श्रमशिविरमा रहेर सन् १९३८ मा बल्ल रिहा भए । उनीहरूले श्रमशिविरमा बस्दा प्रहरीले दिएको यातनाबारे जे कुरा बताए, त्यसले ७ वर्षका मिखाइलको दिमागमा धेरै असर पा¥यो । दोस्रो विश्वयुद्ध शुरु भएपछि सन् १९४१ मा जर्मनीले सोभियत संघमाथि आक्रमण थाल्यो । मिखाइल जन्मेको गाउँ पृभोल्नोये पनि जर्मनीको कब्जामा गयो । बुबा सर्गेइ आन्द्रेभिच गोर्वाचेभ लालसेनामा भर्ती भै लडाइँको अग्रिम मोर्चामा लडे । जर्मनीको पराजयपछि स्कुल खुल्यो र मिखाइलले पुनः कक्षा लिन थाले । स्कुल पढ्दै सत्तारुढ कम्युनिष्ट पार्टीको युवासंघ ‘कोम्सोमोल’ को सदस्यता लिए । उनी नाटकमा भाग लिन्थे, अतिरिक्त क्रियाकलापमा सक्रिय हुन्थे, साथै खाली समय खेतीपातीमा लाग्थे । सन् १९५० मा कम्युनिष्ट पार्टीको सदस्यता र मस्को विश्वविद्यालयमा कानुन पढ्नका लागि आवेदन दिए । किसान पृष्ठभूमिको हुनु र बाबु सर्गेइ अर्डर अफ लेनिन तथा उनका दुबै छोराहरू मिखाइल र अलेक्ज्याण्डर अर्डर अफ रेड ब्यानर अफ लेबरबाट सम्मानित भैसकेकोले उनले सजिलै विश्वविद्यालयमा प्रवेश पाए ।
सन् १९५० मा पहिलोपटक रेल चढेर मस्को पुगे । पढ्न थालेलगत्तै कोम्सोमोल इकाइको अध्यक्ष बने । त्यसरी नै सन् १९५२ मा कम्युनिष्ट पार्टीको सदस्यता मिल्यो । विश्वविद्यालयमै दर्शनशास्त्रको विद्यार्थी रइसा तितारेन्कोसँग भेट भयो । ती दुईबीच उमेरमा १ वर्षको मात्र फरक थियो । मिखाइल २२ र रइसा २१ का थिए । रइसाको त्यसबेला ब्वाइफ्रेण्डसित ब्रेकअप भएको मात्र थियो । बिहेको टुंगोसमेत लागिसकेको थियो । शुरुमा इसाले गोर्भाचेभलाई वास्तै गरिनन् किनभने बिहे रद्द भएबाट उनी विक्षिप्त थिइन् तर गोबाचेभले पिछा छाडेनन् । उनी भन्थे, ‘म तिम्रो मनमा लागेको ठेसको पूर्ति गर्न त सक्दिनँ तर घाउको मल्हम बन्ने कोसिस जरुर गर्छु । म तिमीलाई औधी माया गर्नेछु, यो मेरो वचन भयो ।’
विस्तारै रइसा उनीसित घुलमिल हुन ऐतिहासिक संग्रहालय, पुस्तकालय, पुस्तक पसल र कला संग्रहालयमा सँगसँगै देखा पर्न थालिन् । एकपटक पार्कमा घुम्दै थिए । हावाहुरी चलेर मौसम निकै चिसो हुन थाल्यो । बिजुली चम्कँदा गोर्वाचेभले रइसाको अनुहारमा डरको भाव देखे । हत्तपत्त रइसालाई अँगालोमा कसे र म्वाइँ खाए । विस्तारै रइसाले पनि साथ दिइन् । यो नै उनीहरूको पहिलो म्वाइँ थियो, माया साटासाट गरेको क्षण थियो । दुई÷चार दिनमै बिहे गर्ने निधोमा पुगे । तर, बिहे खर्च गोर्वाचेभसित थिएन त्यसैले पृभोल्नोये फर्केर पितासित मिली खेतीपातीमा लागे । अनि केही रकम बाबुसँग मागेर मस्को फर्के । सन् १९५३ को सेप्टेम्बर २५ मा रइसा र उनको बिहे भयो ।
लगत्तै हनिमुन मनाउन मस्को शहरको सबैभन्दा अग्लो पहाडी क्षेत्र ‘लेनिन हिल्स’ पुगे । त्यहाँ पुगेपछि थाहा भयो, रइसा त गर्भवती भइसकेकी रहिछन् । यसबीच रइसा नराम्रोसँग बिरामी भइन् । जसले गर्दा नचाहँदा नचाहँदै सुरक्षित तवरले गर्भ गिराइयो । यसैबीच, गोर्वाचेभले स्नातक उत्तीर्ण गरे । र, महान्यायाधिवक्ताको कार्यालयमा काम पाए । त्यो बेला उक्त कार्यालय स्टालिनद्वारा पीडित नेता, कर्यकर्ता र सरकारी कर्मचारीको पुनःस्थापना कार्यमा जुटेको थियो । स्टालिनको निधन सन् १९५३ मा भइसकेको थियो तर त्यहाँ गोर्वाचेभको लागि केही काम थिएन । त्यसैले उनलाई स्टाभ्रोपोलमा सरुवा गरियो । त्यो बेला रइसा मस्को विश्वविद्यालयबाट विद्यावारिधि गर्दै थिइन् तर पढाइलाई बीचैमा रोकेर लोग्नेसँगै स्टाभ्रोपोल गइन् । गोर्वाचेभलाई महान्यायाधिवक्ता कार्यालयको काम मन परिराखेको थिएन । त्यसैले पार्टी संगठन ‘कोम्सोमोल’ मा सरुवा भए । उपाध्यक्ष भएपछि त्यो क्षेत्रको प्रचार विभाग हेर्ने जिम्मा पाए । यस्तै कामको सिलसिलामा जनतासित भिज्न पाए । उनीहरूको अवस्था जान्न पाए । गोर्भाचेभ र रइसा स्टाभ्रोपोलमा सानो कोठा भाडामा लिएर बसेका थिए । साँझपख नगर घुम्न जान्थे र साताको एकपटक नगरबाहिर पुग्थे । सन् १९५७ मा रइसाले छोरी इरिनालाई जन्म दिइन् । त्यसपछि त्यहाँकै २ कोठे सामुदायिक अपार्टमेन्टमा डेरा सरे । साथै, गोर्वाचेभले कृषिमा दोस्रो स्नातकोत्तर र रइसाले सामाजिक शास्त्रमा विद्यावारिधि गरे । रइसाले कम्युनिष्ट पार्टीको सदस्यता पनि लिइन् ।
स्टालिनको शासन खत्तम भएर उनको खोइरो खन्दै निकिता ख्रुश्चेभको उदय भइसकेको थियो । तर, त्यो बेलासम्म गोर्भाचेभ सच्चा माक्र्सवादी–लेनिनवादी थिए । स्टालिनको मृत्यु हुँदा शव हेर्न लाइन लागेका थिए । यहाँसम्म कि उनी स्टालिनको सही मूल्यांकन हुनुपर्छ भन्ने पक्षमा थिए । तर, ख्रुस्चेभ नेतृत्वको पार्टीले उनमा संगठन गर्ने खुबी देखिसकेको थियो । त्यसैले स्टाभ्रोपोलको स्थानीय पार्टी नेतृत्वको कृपाले उनको पदोन्नति हुँदै गयो । कोम्सोमोलको उपाध्यक्ष, अध्यक्ष हुँदै सन् १९६१ मा क्षेत्रीय प्रथम सचिव बने । ख्रुस्चेभको पालामा नेतृत्वको राम्रो कृपा पाएका उनी ब्रेझ्नेभकालमा भने पुनः ओझेलमा परे । ब्रेझ्नेभपछि जब युरी अन्द्रोपोभको उदय भयो, पुनः नेतृत्वले अघि बढायो । उनलाई सम्भावित नयाँ नेताको रूपमा हेर्न थालियो तर बयोवृद्ध तथा कट्टरपन्थी नेताहरूको विश्वास भने जित्न सकेनन् । अन्त्यमा, कोन्स्टान्टिन चेर्नेन्कोको अवसानपश्चात सन् १९८५ मा भाग्य खुल्यो, उनी पार्टी महासचिव र सन् १९८८ मा विशाल सोभियत संघको राष्ट्रपति बन्न सफल भए । राष्ट्रपति हुँदा जम्मा ५६ वर्षका थिए । पछि राजनीति र अर्थतन्त्रमा सुधार गर्ने भनेर उनैले ल्याएको पेरेस्त्रोइका र ग्लास्नोस्तको कारण उनी आफू त सत्ताच्यूत भए नै, ७० वर्ष पुरानो समाजवादी व्यवस्था ढल्न पुग्नुको कारक पनि बने ।
गोर्वाचेभ र रइसाको सम्बन्ध अत्यन्त गहिरो थियो । जीवनभरि न गोर्वाचेभले अरु कुनै महिलासित सम्बन्ध राखे न रइसाले नै ! राष्ट्रपति बनेपछि गोर्वाचेभको दिनचर्या निकै ब्यस्त बन्यो तैपनि जस्तोसुकै व्यस्तताको बावजुद पत्नीसँग दिनमा ३–४ पटक फोनमा भए पनि कुराकानी गर्न छुटाउँदैनथे । रइसा शक्तिशाली प्रथम महिला थिइन् तर उनले लोग्नेको राजनीतिमा कहिल्यै हस्तक्षेप गरिनन्, जबकि गोर्वाचेभ जहाँ जाँदा पनि श्रीमतीलाई सँगै लान छुटाउँदैनथे । सन् १९९९ मा रइसाको निधन भएपछि जीवन निरस बन्यो । उनी भन्थे, ‘जीवनमा यतिबिघ्न एक्लोपन कहिल्यै महसुस गरेको थिइनँ, मलाई लाग्छ हाम्रो मिलन फेरि हुन्छ !’
समाजवादी व्यवस्था ढलेपछि र सोभियतसंघको विघटनपश्चात् रुसी गणतन्त्रमा सन् १९९६ मा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा गोर्भाचेभ पुनः उम्मेदवार बने, स्वतन्त्र । तर, न कट्टरपन्थीको प्रिय न त सुधारवादीको आदर्श व्यक्ति बन्न सकेका उनी नतिजा प्रकाशन हुँदा सातौँ स्थानमा पुगे । खसेको मतको मात्र शून्य दशमलव ५.१ प्रतिशतभन्दा पनि कम) प्रतिशतभन्दा पनि कम प्राप्त गर्न सके ।
टिप्पणीहरू