जहाँ नेपालबाट भर्खरै अमेरिकी राजदूतको सरुवा भएको छ

जहाँ नेपालबाट भर्खरै अमेरिकी राजदूतको सरुवा भएको छ

– राजेन्द्र स्थापित

नामिबियाका जनताले लामो समय जर्मनी र दक्षिण अफ्रिकाको शासन खेप्नुप¥यो । र, बल्ल सन् १९९० मा बामपन्थी छापामार संगठन ‘स्वापो’ मुलुकलाई उपनिवेशबाट मुक्त पार्न सफल भयो । त्यहाँ अहिले पनि स्वापोकै मुख्य नेता हेग गाइनगोब राष्ट्रपति र सोही संगठनकी नेत्री सारा कुगोंगेल्वा प्रधानमन्त्री छिन् । नामिबिया मानव जाति उत्पत्तिको शुरुवातकालमै बस्ती बसिसकेको स्थान हो ।

शुरुमा यो सान, डामारा र नामा आदिवासीहरूको बसोवासस्थल थियो । पछि बान्टुहरु अफ्रिकाभरि फैलिनेक्रममा यहाँ पनि आइपुगे र यसलाई आफ्नो क्षेत्र बनाए । पछि यिनै जनजाति ओभाम्बोको यहाँ दबदबा कायम भयो । जनसंख्याको आधी त यिनीहरु नै छन् । अरु पनि दर्जन बढी आदिवासी जनजाति नभएका होइनन् । हिम्बा ती अल्पसंख्यक जनजातिमध्येको एक हो । जसको कूल जनसंख्या ५० हजारभन्दा बढी छैन । यही जनजातिको एक–दुईवटा रीतिरिवाजकै कारण नामिबिया विश्वमा चर्चाको विषय बन्ने गरेको छ । कारण हो– यिनीहरू जीवनभरि एकपटक मात्र नुहाउने र पाहुना बन्न आउनेसँग घरपरिवारका स्त्री सुत्न जाने चलन ।

यिनीहरुको बसोवास उत्तरी नामिबियाको कुनेने क्षेत्रदेखि दक्षिण अंगोलाको कुनेने नदी किनारसम्म फैलिएको छ । यी अर्ध फिरन्ते हुन् । प्रायःको पेशा पशुपालन हो । यिनीहरू ओत्जिहिम्बा भाषा बोल्छन्, जुन बान्टु भाषाको एउटा प्रशाखा हो । पुच्छर नभएको भेडा पाल्छन् । जोसँग जति पशु हुन्छ त्यही अनुसार ती व्यक्ति र परिवारको सम्पन्नता गणना हुन्छ । पशुपालनबाहेक मकै र कोदोको खेती पनि गर्छन् । बुढेसकालमा यिनीहरुले राज्यबाट पेन्सन र राहत पाउँछन् । महिला र किशोरीहरुले पुरुषको तुलनामा धेरै काम गर्छन्, काम गर्नेमा त्यसपछि युवक पर्छन् ।

महिलाले पानी ओसार्छन् भने पुरुषहरुले रुख काट्ने र घर रातोमाटोले पोत्ने काम गर्छन् । महिलाहरूले दूध दुहुने, खाना पकाउने, कपडा बुन्ने, गहना बनाउने लगायत अन्य हस्तकलाको सामान तयार पार्छन् । केटाकेटीको स्याहारसुसार गर्छन् भने पुरुषले पशु चराउने, निर्माणको काममा लाग्ने, शिकारसहित गाउँको रेखदेख गर्छन् । पुरुष हुन् वा महिला प्रायः सबै कम्मरभन्दा माथि लुगा लगाउँदैनन् । कम्मरमा जनावरको छालाले बनेको घाँघर बाँध्छन् । पहिलापहिला जुत्ता लगाउँदैनथे तर आजभोलि महिलाले पशुको छालाले बनेको र पुरुषले टायरबाट बनेको चप्पल लगाउन थालेका छन् ।

हिम्बा महिलाहरू कहिल्यै नुहाउँदैनन् यहाँसम्म कि हातमुख धुन र लुगा धुनसमेत पानी प्रयोग गर्दैनन् । जीवनमा नुहाउने भनेकै बिहेको दिन मात्र हो । रोचक तथ्य के भने कहिल्यै ननुहाउने यिनै हिम्बा युवतीलाई संसारकै सुन्दर युवती मानिन्छ । नुहाउन नपाउने भएकाले महिलाहरूले शरीरमा जनावरको बोसो, जडीबुटी र ढुंगालाई पिसेर बनाइएको लेप ‘ओतिजे’ लगाउने गर्छन्, जसलाई उनीहरू ‘ओकरा’ भन्छन् । यो ‘ओतिजे’ लेपले उनीहरूको शरीर सधैं रातो वर्णको बनाइराख्छ । त्यसैले यिनीहरूलाई ‘लाल मानव’ पनि भन्ने गरिन्छ । उनीहरू छाला रातो हुनुलाई ‘पृथ्वी र रक्त’ मान्दछन् ।

यो विशेष किसिमको लेपले त्यहाँको उष्ण तापमान र किराफट्यांग्राबाट पनि रक्षा गरिराख्छ । ‘ओतिजे’ महिलामात्र होइन, पुरुषले पनि लेपन गर्छन् । ओटिजेले पानीको अभावलाई पूर्ति त गर्छ नै, शरीरलाई सदा सुगन्धित पनि बनाइराख्छ । यो लेप सौन्दर्य प्रशाधनमध्यकै उच्चस्तरको क्रिम हो । दिनहुँ मकलमा कोइला र जडीबुटी हालेर बाल्छन् र धुवाँमा बस्छन् अनि सोही खरानी जिउभरी दल्छन् । पुरुषहरू प्रायःले कपाललाई एउटै मुठो बनाएका हुन्छन् भने महिलाले बाख्राको छाला, नौनी र एक किसिमको हिलो लगाउँछन् । । विवाहित पुरुषले टोपी लगाउँछन् तर भित्र पशुको सिंग हालेको हुन्छ । कुमारी युवतीले बिहे नहुञ्जेल लट्टा परेको कपाललाई पछाडि पारेका हुन्छन् भने विदुरहरूले टोपी लगाउँदैनन् । ननुहाउने भएकाले कपाल सफा राखिराख्न खरानी प्रयोग गर्छन् ।

हिम्बा समाजमा बहुपत्नी प्रथा सामान्य छ । प्रायःको एकभन्दा बढी पत्नी हुन्छन् । यिनीहरूमा प्रेमविवाह एकाध मात्र हुन्छ, नत्र सबैको मागी बिहे हुने हो । युवतीहरूले आमाबुबाले रोजेको केटोसित नै बिहे गर्छन् । प्रायः मासिकधर्म शुरु नहुँदासम्म बिहे गर्न योग्य ठानिन्न । छोरा मान्छेको हकमा वयस्कमा पाइला टेक्नुअघि नै लिंगको टुप्पोको छाला काटिन्छ । हिम्बा केटा बिहेपछि सही अर्थमा पुरुष बनेको मानिन्छ भने केटीलाई आमा नबनुन्जेल सही अर्थमा स्त्री मानिन्न । यहाँ बच्चा गर्भधारण गरेकै समयदेखि उमेर गणना शुरु हुन्छ । यहाँ दाइजो प्रथा छैन बरू बर र बधु पक्षले पशु साटासाट गर्छन् । प्रायः दुलही पक्षले दिनेमा उच्चस्तरको एउटा मात्र भए पनि गोरु हुनैपर्छ ।

गाउँमा कोही नयाँ मान्छे प्रवेश गर्नलाई सबैभन्दा पहिला हिम्बा पुरुषको अनुमति चाहिन्छ । यसरी अनुमति प्राप्त भएर जानेलाई नातेदारसरहको सत्कार र इज्जत दिन्छन् । र, ती ‘नातेदार’ ले चाहेको अवस्थामा पुरुषले सहर्ष आफ्नी पत्नीलाई सुत्न पठाएर आफू अर्को कोठामा जान्छन् । यदि अर्को कोठा छैन भने पाहुना र पत्नी सुतेको कोठाबाहिर सुत्छन् । यो प्रचलनलाई हिम्बा समाजले सामान्य रूपमा लिन्छ । पाहुनालाई स्वागत, सत्कार र इज्जत दिने यो प्रथाकै कारण यो जाति विश्वमा चर्चित छ । पाहुना अर्को गाउँको, अर्को जनजातिको र हिम्बा जातिको रमाइलो संस्कृति अवलोकन गर्न रुचाउने युरोपेली जो कोही होउन्, यदि पाहुना पनि एक्लो छैन भने र हिम्बा पुरुषले ती पाहुनालाई मित्र माने भने त्यस्तो अवस्थामा पत्नी साँटासाट गरेर रात बिताउन पनि छुट छ ।

यो किसिमको सत्कारलाई स्थानीय भाषामा ‘ओकुजेपिसा ओमुकाजेन्दु’ भनिन्छ । यो प्रथा उक्त जनजातिमा सदियौंदेखि चल्दै आएको छ । उनीहरूको भनाइमा यसले एक आपसमा हुने इष्र्यालाई घटाएको छ भने सम्बन्धलाई मजबुत पार्दछ । तर, दुःखका साथ भन्नैपर्छ, यस्तो ‘सत्कार’ गर्ने–नगर्ने निर्णयमा पाहुनासँग सुत्न जाने स्त्रीको कुनै भूमिका हुँदैन । परिवारको अर्थसम्बन्धित निर्णय भने महिलाको हातमा हुन्छ । परिवारमा स्त्रीको साथी पाहुना बन्न आएको बेलामा ती स्त्रीले बरु आफ्ना साथीलाई आफ्ना लोग्नेसँग सुत्न दिन सक्छिन् । तर, यस्तो यदाकदा मात्र हुने गरेको देखिन्छ ।

हिम्बा जातिमा महिलाले गर्भधारण गरेलगत्तै उनले आफ्ना महिला साथीहरूलाई एउटा गीत गाउन सिकाउँछिन् । सबै युवतीले विस्तारै उक्त गीत कण्ठ पार्दै जान्छन् । समयसमयमा गर्भवतीलाई सबै मिलेर घेरा हाल्छन् र सोही गीत गाउँछन् । बच्चा जन्मेको खुशियालीमा ठूलो उत्सव मनाउँछन्, उत्सवमा पनि सोही गीत गाउँछन् । जन्मेको बच्चाले नमरुञ्जेलसम्म उक्त गीत हरेक उत्सवमा, हरेक घटना घटेको बेलामा सुन्दै जान्छ ।

गीतमा गर्भधारण गर्दाको समयमा खेप्नुपरेको पीडादेखि बच्चा जन्माउँदाको पीडासम्मका सम्पूर्ण कुरो वर्णन गरिएको हुन्छ, जसले गर्दा सन्तानले आमाले खेप्नुपरेको दुःख, पीडालाई कहिल्यै भुल्न सक्दैनन् र आमालाई सधैं माया र इज्जत दिन्छन् । हिम्बाहरू संसारमा एउटै मात्र इश्वर हुन्छ भन्नेमा विश्वास गर्छन् । उनीहरूको देउता ‘मुकुरू’ हो । मुकुरूलाई आफ्ना आदिपुर्खा मान्छन् । आगो बालेर मुकुरूको आराधना गर्छन् । यिनीहरू ‘ओमिटी’ हुन्छन् अर्थात बोक्सी, कालाजादूलाई मान्छन् । मृत्युको कारक ‘ओमिटी’ हो भन्ने विश्वास गर्छन् । यही अन्धविश्वासकै कारण धेरैले अनाहकमा ज्यान गुमाउँछन् ।

यिनीहरू बदलिँदो समयसँगै बदलिन र पठनपाठन गर्न पनि थालेका छन् । पहिलो पटक हिम्बा युवक भिपुवाकुजे मुहारुजुवा संसदमा समेत पुगेका छन् । उनी पपुलर डेमोक्रेटिक मुभमेन्टको तर्फबाट सन् २०१४ मा सम्पन्न निर्वाचनमा विजयी भएका थिए । हिम्बा जातिबारे चलचित्र पनि बनेको छ ‘दी हिम्बा आर सुटिङ’ । यो फ्रेञ्च र अंग्रेजी भाषामा बनेको हो ।

टिप्पणीहरू