‘उ बेलाको जस्तो अहिलेका मान्छे दिन पुगेर मर्दैनन्’

‘उ बेलाको जस्तो अहिलेका मान्छे दिन पुगेर मर्दैनन्’

बिहानको सूर्य उदाएर घामका कलिला किरणले तिनै प्राकृतिक सुन्दरतालाई उज्यालो बनाइरहेको थियो । जाडोको समयमा म पनि तिनै कलिलो घामका किरणलाई पछ्याउँदै डाँडासम्म पुगेँ । छर्लङ्ग हिमाल अनि हरियाली प्रकृतिमा मेरा नयनहरु जुधिरहेका थिए ।

त्यहि बेला माथिबाट मेरो कानमा आवाज आयो ‘ए कान्छा, कान्छा !’ मैले बिस्तारै माथितिर फर्केर हेरेँ । एकजना बुढी आमाले बोलाउनुभएको रहेछ । म ‘हजुर आमा’ भन्दै उहाँको नजिकै गएँ ।

उहाँ हुनुहुन्थ्यो काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर २ कि चन्द्रकुमारी खड्का । उमेरले अहिले ९१ वर्ष हुनुभएको छ ।

उनै आमासँग भलाकुसारी गर्न म नजिकै गएर बस्न थालेँ । तर बस्न नपाउँदै आमाले भन्नुभयो ‘बाबु अहिलेका मान्छेले त मान्छे मार्छ्न रे, जहाँ पायो त्यहिँ नहिँड है सबैलाई विश्वास गर्नु हुँदैन मोरा ।’

आमाका ती शब्दले कता कता मलाई मनमा चिसो पस्यो । मैले सोचिरहेँ, आमाले फेरि थप्नु भयो ‘कान्छा साना कलिला बच्चालाई त पोहोर परार मारेछ्न रे है कठै ! हाम्रो पालामा त त्यस्तो हुँदैन थियो,’ भन्दै गहभरी आँसु पार्दै भन्नुभयो । आमा आत्तिएझैँ भन्न थाल्नुभयो, ‘बाबू हाम्रो माइला कता गएछ ?’ त्यति भनेपछि छोरा गएको बाटोतिर एकोहोरो हेरिरहनुभयो ।

आमाका कुरा सुनेर मेरो मनमा तिनै कलिला बालबालिकाहरु सडकमा मारिएका व्यथाले उकुसमुकुस बनाइरहेको थियो । आमाले फेरि थप्दै भन्नुभयो, ‘बाबू उबेलाको जस्तो अहिलेका मान्छे दिन पुगेर मर्दैनन् । मान्छेले नै दिन पुर्याइदिन्छ्न, मार्दिन्छन् । बाबू जसको शक्ति उसैको भक्ति भन्दै कहिले धर्म छोड्नु हुन्न है कान्छा । हामी मर्ने बेलामा अरु केही लाँदैनौ । धर्म र पाप छुट्टाएर जान्छौं ।’

उहाँको भनाइ थियो, ‘थाहा छ धर्म गर्ने पापमा पर्दैन रे ! हलो जोत्नेले खानाबिना मर्दैन रे ! आमाबाउ किन्न गए पाईंदैन । आमाबाउको वास्ता गर है कान्छा !’ यति भन्दै आमा उठेर घरतिर लाग्नुभयो ।

ती आमाका भनाइभित्र लुकेको चित्कारले बिहानको कलिलो घाम बिस्तारै चर्किएसँगै मन पनि चर्काइरहेको थियो मेरो । एकछिन सोचिरहेँ, ती आमाले भनेका कुराहरु साँच्चै आज मेरो देशमा उमेर पुगेर मर्न समेत नपाउने भइसकेको हो त ? मेरो मनले सम्झियो निर्मला हत्याकाण्डलगायत कैयौं बलात्कृत भएर ज्यान गुमाएका बालिकाहरु । तिनै आमाले न्यायको निम्ति बगाएका बलिन्द्रधारा आँशुहरु, सडकमा स्वर सुकाइ सुकाइ चिच्याउँदै र छट्पटाउँदै न्याय खोजिरहेकाहरुको भीड ।

म झसङ्ग भएँ, कतै म सपनीमा त छैन । होइन म विपनामै मेरो देशमा भइरहेको जुन विकृति छ, आज ९१ वर्षकी आमाले अर्ति उपदेश दिँदै जोगिन आग्रह गर्नुभएको हो ।

मेरो मनले भन्यो, ‘सरकार बिन्ति छ, आमाको आँशुको भाषा बुझिदेउ । ती कलिला बलात्कृत बालिका कहिलेबाट उमेर रहुञ्जेल बाँच्न पाउँछन् ? हरेक आमाको चित्कार सुनिदेउ सरकार !

टिप्पणीहरू