सिंहदरबारमा विदेशबाटै बम हान्ने धम्की

सिंहदरबारमा विदेशबाटै बम हान्ने धम्की

नेपालमै त ताल तालका धुन्धुकारी पात्र देखिएकै थिए हुँदा–हुँदा जर्मनको राजधानी बर्लिनमा समेत सिंहदरबारमा बम हान्छु भन्दै दिनहुँ हाम्रा राजदूतलाई धम्क्याउने मान्छे फेला परेका छन् । ‘भूटानी मूल’को शरणार्थी सुविधा उपभोग गर्दै युरोप छिरेका एक नेपालीले आफूलाई गैरआवासीय (एनआरए)को रूपमा परिचयपत्र बनाइदिन माग राख्दै आएका थिए । २ महिनाअगाडि आउँदा नेपालका कानुन मन्त्री र कन्सुलर सेवाबाट समेत समाधान हुन नसकेको उनको मागलाई बर्लिनस्थित नेपाली दूतावासले पूरा गर्न सक्ने कुरै थिएन । त्यसो नगरिदिएबापत केही महिनाअगाडि मात्र कार्यभार सम्हाल्न पुगेका राजदूत रामकाजी खड्कालाई दिनहुँ फोन गरेर र इमेल लेखेर ‘सिंहदरबारमा बम हान्दिछु’ भन्न थालिएको छ ।

यसरी राजदूतलाई धम्क्याइरहने शंकास्पद व्यक्ति हुन्, हरि हाडा । जसको हातमा छ जर्मनको पासपोर्ट । मान्छे भूटानीका रूपमा त्यहाँ छिरेको । अहिले काभ्रेको पराजुली थरमा एनआरएन कार्ड माग गर्न थालेका हुन् । सिंहदरबार, त्रिपुरेश्वर सबै सरकारी निकाय धाएर उक्त विषय सल्टिन नसकेपछि उनले त्यसरी दूतावासलाई धम्क्याउने गरेको बुझिन्छ । हाडाले पराजुलीको नाममा कागज बनाउन ९–१० वर्षदेखि दूतावासमा ताकेता लगाउँदै आएको बताइन्छ । सिंहदरबारमा पुटिन, मोदी, सि चिनफिङलाई भनेर एटम बम खसाल्छु भन्दै उनले राजदूत खड्कालाई इमेल लेखेको विषयले यतिबेला स्थानीय प्रहरीको टाउको दुखाएको छ ।

दिनहुँ जसो थर्काइन थालेको केस ‘ह्यारेस्मेन’ का रूपमा पुलिस केसमा परिणत भएको छ । हाडाको ठेगाना ह्यामबर्गमा बस्ने भनिएको छ भने उनले साथीहरूलाई आफू केही समयअघि नेपाल पुगेर हेलिकोप्टर चार्टर गरी जार खोजी हिँडेको बताउने गरेका छन् । जार भेट्दा छाडी हिँडेकी श्रीमतीलाई स्याहारिदिन आग्रहसहित उनको उद्दार गरेकोमा आभार प्रकट गरिएको समेत उनको दाबी छ ।

कन्सुलर विभाग र कानुन मन्त्रीबाट पनि पार नलागेको मुद्धा सहसचिव तहको राजदूतबाट कसरी सल्टिन सक्छ ? त्यसमाथि नेवारलाई थरै फेरेर कसरी बाहुन बनाइदिन मिल्ला ? प्रश्न जटिल छ । उता २० लाख घुस मागेको अडियो काण्डमा मध्ययुरोपस्थित भूपरिवेष्ठित देश अष्ट्रियाको राजधानी भियनाबाट दशैँअघि तानिएका शाखा अधिकृत धनञ्जय मेहतालाई कारबाहीस्वरूप बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।

टिप्पणीहरू